मुस्ताङमा खुदा गवाहको सम्झना

शुक्रबार बैशाख १४, २०७५/ Friday 04-27-18
Paschim Today

दीर्घराज उपाध्याय, ५ अक्टोवर १९९१ । स्थान : मुस्ताङको जोमसोम बिमानस्थल । सर्वसाधारणको थेगी नसक्नु भीड । सदरमुकाम जोमसोममा यतिबिधि मान्छेको घुईचो यसअघि कहिल्यै थिएन । हिमाल पारीको जिल्ला मुस्ताङका बिकट बस्तीहरुबाट मान्छेहरु जोमसोम बिमानस्थल पुगेका थिए ।मध्य दिनमा मान्छे नै उडाउने जोमसोमको हावाको बेग । हावाको बेगभन्दा जोरले फैलिएको अमिताभ बच्चन आउने खवर । हो  यो त्यही दिन थियो, ५ अक्टोवर १९९१  । 


हिन्दी फिल्मका सुपरस्टार अमिताभ नेपाल वायु सेवा निगमको जहाजबाट बिमानस्थलमा के ओर्लिएका थिए । फ्यानहरुबाट घेरिए । स्थानीयले उनको  फुलमालाले भव्य स्वागत गरे । अमिताभ अफगानिस्तानमा सुटिङ हुन नसकेको खुदा गवाह फिल्मको सुटिङका लागि फिल्मका अन्य कलाकारसंगै जोमसोम पुगेका थिए । 
त्यस दिन विष्णुराज हिराचनको खुट्टा खुशीले भुईमा थिएनन । अमिताभ बच्चन जोमसोम आउदा सबैभन्दा खुशी थिए उनी । किनकी फिल्म सुटिङका लागि भारतबाट आएको ९६ जनाको जम्बो टोली मध्ये फिल्मका मुख्य कलाकारहरुको वासस्थान हिराचनले चलाएको ओम्स होम थियो । सुटिङ युनिटका सदस्यहरु एउटा होटलमा नअटेर ८ वटा होटलमा बसेका थिए ।


२०३३ सालमा मार्फा गाँउमा खोलेको निलगिरी भ्यू होटललाई उनले २०३७ सालमा जोमसोममा सार्दा उनले त्यसको नाम समेत फेरेका थिए । निलगिरी भ्यू अव ओम्स होममा परिणत भएको थियो । अमिताभ आउनु भन्दा एक महिना अघि खुदा गवाह फिल्मका निर्देशक मुकुल आनन्द र निर्माता नसिर अहमद जोमसोम पुगेका थिए, सुटिङ स्थल र होटल हेर्न । हिराचनको होटलमा मुख्य कलाकारहरु राख्ने तय गरेपछि निर्देशक मुकुल आनन्दले होटलमा सुबिधा थप गर्न हिराचनलाई सल्लाह दिएका थिए । निर्माता र निर्देशकको सल्लाहमा हिराचनले अमिताभ बस्ने कोठामा ट्वाईलेथ बाथरुमको व्यवस्था गरे । गिजर राखे । कोठामा कारपेट बिछ्याए ।


हिराचनका लागि यो दुर्लभ अवसर थियो । उनी यो दुर्लभ अवसरलाई सफल बनाउन दिलोज्यानले लागेका थिए ।अमिताभ बच्चन जस्को दर्शनका लागि उनी आउनुभन्दा पहिल्यै नै मान्छेको लाईन लाग्थ्यो । भारतका सबैभन्दा ख्यातीप्राप्त तीनै कलाकार आफ्नो होटलमा बस्न आउनु हिराचनका लागि सपना जस्तै थियो । 
तर त्यो सपना खुदा गवाह फिल्मले सुटिङले पुरा गरेको थियो । अमिताभका लागि १०५ नम्बरको पुरै रुप रंग फेरिएको थियो । हिराचनले अहिले पनि बिर्सेका छैनन, अमिताभ जोमसोम आउदा उनले ११ वटा अटैची र व्याग पनि साथमा लिएर आएका थिए । जसको तौल साढे पाँच क्वीन्टल भन्दा बढि थियो । उनले आफ्ना सहयोगी र सामान राख्न तीन वटा रुम लिएका थिए । मेकअपम्यान दीपक र बडीगार्ड प्रविण जैन उनी सुत्ने रुमको पछाडि पट्टि बाहिरको रुममा बस्थे । फिल्मकी हिरोईन श्रीदेवीले दुई वटा रुम लिएकी थिईन । उनी १०१ नम्बरमा सुित्थन । १०२ नम्बरको बाथरुम प्रयोग गर्थिन । फिल्मका अर्का कलाकार डेनी डेङ्जोप्पालाई हिराचनले १०३ नम्बर रुम दिएका थिए । १०४ नम्बरमा नागार्जुन बस्थे । निर्देशक मुकुल आनन्द १०६ मा बसे । आफ्नी आमा सहित आएकी शिल्पा शिरोडकरका लागि १०७ नम्बरको रुम व्यबस्था गरिएको थियो । १०८ नम्बर रुममा किरण कुमार र जीवन भुषण बस्थे ।


 फिल्मको सुटिङ शुरु भयो । निर्देशक मुकुल फिल्म कसरी राम्रो बनाउने भन्ने ध्यानमा थिए । हिराचन भने अमिताभ बच्चन लगायतका कलाकारको बसाईलाई कसरी सफल बनाउने भन्नेमा तल्लिन थिए । उनले खाना बनाउने कुक पोखराको फिस्टेल लजबाट ल्याएका थिए ।
सुटिङका लागि मुस्ताङका ८० भन्दा बढि घोडा भाडामा लिइएका थिए । बिहानै जोमसोमबाट घोडामा चढेर कलाकारहरु सुटिङ स्थलतर्फ लाग्थे । हिराचनले अमिताभ लगायतका मुख्य कलाकारहरुका लागि खाना होटलमा बनाएर सुटिङ स्थलमै पु¥याउथे । मुकुल आनन्दले सुटिङका लागि जोमसोम रोज्नु र मुख्य कलाकारहरु बस्ने होटलमा ओम्स होम रोज्नुमा नेपाली चलचित्र साईनोका निर्माता मालती राईका श्रीमान सुधिर राईको हात थियो । सुधिर राई तत्कालिन वायु सेवा निगमका क्याप्टेन थिए । लामा ट्राभल्सका सञ्चालक समेत रहेका राईको डेनीसंग राम्रो सम्बन्ध थियो । हिराचनका निकट मित्र थिए, राई ।


अफगानिस्तानको पठानको प्रेम कथामा आधारित खुदा गवाहको सुटिङ अफगानिस्तानमै गर्ने तय भएको थियो । र केही भाग सुटिङ पनि भयो । तर अफगानिस्तानमा द्धन्द चर्किदै गएपछि फिल्मको सुटिङ रोकियो । त्यसपछि निर्देशकले भारतको राजस्थान रोजे । राजस्थान पनि फिल्मको कथा अनुसार पूर्ण रुपमा उपर्युक्त नपाएपछि निर्देशक मुकुल त्यस्तो ठाँउको खोजीमा थिए, जहाँ खुदा गवाहको बाँकी अंश सुटिङ गर्न सकियोस । यसैबीच डेनी र सुधिर राईबीच भेट हुन्छ । डेनीले राईलाई फिल्म सुटिङका लागि अफगानिस्तानको जस्तो भू बनोट भएको ठाँउका बारेमा जिज्ञासा राख्छन । राईले त्यस्तो स्थान मुस्ताङमा रहेको बताउछन । राईले दिएको जानकारीका आधारमा निर्देशक मुकुल र निर्माता नसिर  सुटिङ स्थल हेर्न मुस्ताङ पुग्छन । दुवैलाई मुस्ताङ मन पर्छ । फिल्म सुटिङ मुस्ताङमै गर्ने निधो गरेर मुम्बई फिर्ता हुन्छन । जसको एक महिनापछि उनीहरु फिल्मको पुरै टीम सहित मुस्ताङ आउछन् । खुदा गवाह सुटिङ भएको २१ वर्षपछि ६८ वर्षिय हिराचनले निर्माता र निर्देशकको रोजाईमा मुस्ताङ पर्नुको भेद खोल्दै भने, मुस्ताङका लागि यो एउटा महत्वपूर्ण अवसर थियो ।
तीन घण्टा १३ मिनेट लामो खुदा गवाह फिल्ममा ४० मिनेट लामो दृष्य मुस्ताङमा छायांकन भएको छ । जसमा बिछडा यार मिलादे ओ रव्वा र तु नजा मेरे बादशाह बोलका दुई वटा गीत र फिल्मको क्लाईमेक्स दृष्यको छायांकन समेटिएको छ । डेनी र अलि खाँनको लडाईको दृष्य पनि जोमसोम मै लिइएको छ । यसबाहेक पनि थुप्रै दृष्यहरु मुस्ताङका समेटिएका छन् ।


क्लाईमेक्स दृष्यमा १० हजार भेडा च्यांग्राको बथानको बीचमा अरवी घोडामा अमिताभ चढेर भिलेनसंग लडेको दृष्य देखाईनु पर्ने फिल्मको कथा थियो । उक्त दृष्यका लागि चार वटा अरवी घोडा राजस्थानबाट गाडीमा राखेर पोखरा ल्याइएका थिए । तर ती घोडा मुस्ताङ लैजान खोज्दा उल्लेरीको उकालो चढेर अघि बढ्न सकेनन । घोडाहरु घोरेपानी नपुग्दै फिर्ता भए । 
पछि क्लाईमेक्स दृष्यमा निर्माताले अमिताभका लागि मुस्ताङी घोडाको व्यबस्था गरे । द्धन्द निर्देशक टिनु आनन्द उक्त दृष्यका लागि अरवी घोडा नै हुनुपर्ने अडानमा थिए । अरवी घोडाको व्यवस्था गर्न नसकेपछि द्धन्द निर्देशक टिनुले निर्माता नसीर अहमदलाई पिटेको हिराचन अहिले पनि बिर्सेका छैनन ।
स्टारको बोली हुकुम जस्तै हुन्थ्यो । भनेको कुरा निर्माताले पु¥याउनु पथ्र्यो । उनी सम्झिन्छन, अमिताभ बच्चनका लागि कथाले मागेको अरवी घोडा उपलब्ध गराउन नसक्दा निर्माता कुटिनु प¥यो ।
खुदा गवाह सुटिङका थुप्रै अवस्मरणीय अनुभवहरु छन्, हिराचनसंग । फिल्ममा भिलेन डरलाग्दो र रुखो देखिएपनि वास्तविक जीवनमा निकै सहज र सरल पाएको हिराचनको अनुभव छ । फिल्ममा खुंखार गुण्डाको अभिनय गर्ने डेनी उनीसंग निकै निकट रहे, सुटिङ अबधिभर । नेपाली भाषी डेनी उनलाई दाई भनेर सम्बोधन गर्थे । 
अमिताभ र डेनी पनि निकै मिल्थे । उनीहरु दुबै जना टेबुल टेनिसका सौखिन थिए । दुबैबीच टेबुल टेनिसमा कडा प्रतिस्पर्धा हुन्थ्यो । अमिताभले डेनीलाई कहिल्यै टेबुलटेनिसको प्रतिस्पर्धामा नजितेको हिराचनलाई अझै सम्झना छ । हिराचन पनि टेबुल टेनिसका खेलाडी थिए । एक दिन डेनीले अमिताभ र हिराचनबीच प्रतिस्पर्धा गराए । प्रतिस्पर्धा जारी थियो । नेपालका पूर्व प्रधानमन्त्री स्वर्गीय विपी कोईराला पुत्र डा. सशांक कोईराला जोमसोम आएको जानकारी खवर आएपछि अमिताभ खेल छाडेर उनलाई भेट्न निस्किए । जस कारण जीत र हारको टुंगो लाग्न सकेन ।


अमिताभ र डेनी सुटिङ सकेर रातिपख प्रायजसो मदिरा पिउथे । अमिताभ ह्विस्की पिउथे । डेनी ह्वाईट रम । डेनीले एक दिन हिराचनलाई आफूसंगै लगे । त्यो रात अमिताभ, डेनी र हिराचनलेसंगै बसेर पिए । आफ्नो होटलमा सुपरस्टार अमिताभ र हिन्दी फिल्मका चर्चित कलाकार बस्दा पनि उनीहरुसंग नजिक हुने हिराचनले कहिल्यै प्रयत्न गरेनन । अमिताभ र अन्य कलाकारहरु उनका लागि अतिथि थिए । त्यो भन्दा बढि उनले सम्बन्ध बनाउन चाहेनन । अमिताभका धेरै कुरा हिराचन अहिले पनि बिर्सेका छैनन । अमिताभ कम बोल्थे । अमिताभ सहयोगी थिए । 
अमिताभ खुदा गवाहको सुटिङ सकेर मुम्बई फर्किनु भन्दा अघिल्लो दिन मुक्तिनाथ गएका थिए । जोमसोमबाट घोडामा मुक्तिनाथ गएका उनले त्यहाँ केही पनि खाएनछन । अमिताभले केही नखादा उनको टिम चिन्तित भएको थियो । 
मुक्तिनाथबाट फर्केपछि त्यहाँ खाना वा अन्य केही खानेकुरा नखानुको अमिताभले हिराचनसंग भेद खोले । मुक्तिनाथ उनी बसेको होटलको शौचालय यति धेरै दुर्गन्धित थियो कि त्यहाँ भित्र पस्नै नसक्ने अबस्था थियो । खाना वा अन्य केही खाए शौचालय जानुपर्ने भएकोले उनले त्यहाँ केही पनि नखाएको हिराचनलाई सुनाए ।


जोमसोमबाट मुक्तिनाथको प्रबेशद्धार रानी पौवासम्म अमिताभ घोडामा गए । त्यहाँबाट मुक्तिनाथ मन्दिर जान उकालो चढ्नु पर्ने । उकालोमा चढ्दा थाकेकाहरुलाई बस्न बेञ्च थिएन । अमिताभले पनि त्यसको पीडा खेपे । मुम्बई फर्किनुअघिको राति हिराचनलाई अमिताभले आफ्नो कोठामा बोलाए । अमिताभले १० हजार भारतीय रुपैया हिराचनको हातमा थमाएर मुक्तिनाथ उक्लिने बाटोमा बेञ्चको व्यबस्था गरिदिन आग्रह गरे । अमिताभकै आग्रहमा हिराचनले उकालोमा चार वटा बेञ्चको व्यबस्था गरे । जुन बेञ्च अहिले पनि छन् । अमिताभसंगको यो घट्ना पनि हिराचन सम्झिरहन्छन । अमिताभको मुक्तिनाथ यात्राको अर्को रोचक प्रसंग छ । अमिताभ बस्ने होटलमा उनलाई सुत्न मिल्ने खटिया थिएन । उनी त्यहाँ दुईटा खटिया जोडेर सुतेका थिए ।
११ अक्टोवर २०११ पनि हिराचनका लागि अविस्मरणीय बनेको छ । यो अमिताभ बच्चनको जन्म दिन थियो । जन्मदिन मनाउन अमिताभ पत्नी जया भादुडी र उनका अनन्य मित्र भारतीय नेता अमर सिंह मुम्बईबाट जोमसोम आएका थिए । जया भादुडीले मुम्बईबाटै जन्मदिनको केक ल्याएर आएकी थिईन । हिराचनले राति ओम्स होममै अमिताभको जन्मदिनको पार्टीको व्यवस्थापन गरे । सोही दिन निर्देशक मुकुल आनन्दको पनि जन्मदिन परेकोले दुबैले एक अर्कालाई केक खुवाएर बधाई तथा शुभकामना साटासाट गरे ।
अमिताभ खुदा गवाहको सुटिङका क्रममा झण्डै तीन हप्ता मुस्ताङ बसे । उनकी पत्नी र मित्र अमर सिंह भने अमिताभको जन्म दिन मनाएर दुई दिनपछि मुस्ताङबाट मुम्बई फिर्ता भए । अमिताभलाई मुस्ताङमा एउटा कुराले चकित बनाएको बनाएको थियो । उनी सुटिङका लागि भारतका बिभिन्न ठाँउ जादा होस वा बिदेश जादा फ्यानहरुको घेराउमा पर्थे । कतिपय ठाँउमा काम गर्नै नसक्ने गरी उनी फ्यानहरुबाट घेरिन्थे । सुटिङ अगाडि बढाउन प्रहरीले फ्यानहरुलाई हटाउन बल प्रयोग गर्नुपथ्र्यो । तर जोमसोम बजारमा निस्कदा अमिताभ एक्लै हुन्थे । फ्यानहरुले वास्तै नगरेको देखेर आफू चकित भएको जोमसोम बसाईकै क्रममा अमिताभले हिराचनलाई सुनाएका थिए । 
खुदा गवाहकी हिरोईन श्रीदेवीको व्यबहारले हिराचनका नजरमा उनी घमण्डी लाग्छन । श्रीदेवी १०१ नम्बर रुममा सुत्थिन । उनले रुममा रहेको खटिया हटाउन लगाएर भुईमा बिस्तरा लगाएकी थिईन । 
श्रीदेवी मिनरल वाटरले मुख धुन्थिन । खानेकुरा पनि मिनरल वाटरले धुन्थिन । उनले सुटिङ अबधि भर मिनरल वाटरको मात्र प्रयोग गरिन । यो कुराले पनि हिराचनका नजरमा श्रीदेवीको छवि घमण्डी नायिकाका रुपमा रह्यो । श्रीदेवीको अर्को बिशेषता थियो – उनलाई कोठा बाहिर निस्किएपछि छाता ओढ्नै पर्ने । घोडा माथि चढ्दा पनि छाता ओढ्नुपर्ने । एक पटक छाताले चम्किएर घोडा उफ्रिएपछि श्रीदेवी भुईमा लड्नि । त्यसपछि भने उनले घोडा चढ्दा छाता ओढ्न छाडिन ।
खुदा गवाहका लागि जोमसोमलाई छनौट गरेर फर्केपछि निर्देशक मुकुल आनन्द र निर्माता नसिर अहमदले अमिताभलाई सरप्राईज दिन जोमसोममा होटल नभएकोले टेण्टमै सुत्नु पर्ने र ट्वाईलेट पनि टेण्ट भित्रै बनाईने बताएका थिए । निर्माता र निर्देशकले सुटिङका लागि मुस्ताङ उड्नुअघि अमिताभसंग गरेको सम्झौतामा पनि टेण्टमै बस्नु पर्ने उल्लेख गरिएको थियो । जोमसोममा अट्याच्ड ट्वाईलेट बाथरुम पाउदा अमिताभ दंग परेका थिए । उनले मुस्ताङमा त्यस्तो व्यवस्थाको कल्पना गरेका थिएन । जुन कुरा अमिताभले हिराचनलाई सुनाएका थिए ।  
खुदा गवाहको सुटिङ भएको २२ वर्ष बित्यो । तर त्यसका धेरै कुरा अहिले पनि विष्णुराजसंग ताजै छन् । ओम्स होमको स्तरोन्नती भएको छ । फिल्म सुटिङ हुदा ओम्समा अट्याच ट्वाइलेट बाथरुम भएका चार वटा रुम मात्र थिए । अहिले ओम्समा २५ वटा रुम छन् । जसमध्ये अधिकांशमा ट्वाईलेट बाथरुम छन् । अमिताभ र अन्य कलाकारहरु बसेको रुमको मूल्य अहिलेपनि पाँच सयदेखि हजार रुपैया भन्दा बढि छैन ।वर्षेनी हजारौ भारतीय हिन्दु धर्मावलम्बीहरु मुक्तिनाथ मन्दिर दर्शनका लागि आउछन । कतिपय ओम्समै बस्छन । तर उनीहरु मध्ये १० प्रतिशतलाई मात्र अमिताभ ओम्समा बसेको जानकारी हुन्छ । हिराचन अमिताभ वा श्रीदेवी बसेको रुम भनेर प्रचार गर्न रुचाउदैनन । उनी स्टारको नाम बिक्री गर्न चाहदैनन । ओम्सकै नामबाट आफ्नो व्यवसाय चलाउन चाहन्छन । ओम्स प्रबेशद्धारको भित्तामा अमिताभ र डेनीसंग उभिएर खिचेका दुई छुट्टाछुट्टै तस्वीर झुण्ड्याइएका छन् । हिराचन ती फोटोहरु पनि आफ्नो छोरीले झुण्डाएको सुनाउछन् ।
अमिताभले मुम्बई फिर्ता हुदा हिराचनलाई आफ्नो नम्बर दिएर मुम्बई आउदा आफूलाई सम्पर्क गर्न भनेका थिए । छोराछोरीलाई भारत पढाउनु परेमा आफूलाई भन्न पनि अमिताभले आग्रह गरेका थिए । तर सुटिङ सकेर फर्किएपछि अमिताभसंग उनको अहिलेसम्म सम्पर्क भएको छैन । अब भने भारत जादा अमिताभलाई भेट्ने बताउछन्, हिराचन । अहिलेसम्म भेट्ने काम नै परेन, हिराचन भन्छन्, अब भारत गए भने अमिताभलाई सम्पर्क गर्छु । ९० को दशकमा सुटिङ निर्मित खुदा गवाहबाट निर्देशक मुकुल आनन्दले निकै अपेक्षा गरेका थिए । बक्स अफिसमा यो फिल्म सुपर हिट हुने मुकुलको विश्वास थियो ।


बादशाह खान (अमिताभ ) र बेनजिर ( श्रीदेवी ) को प्रेम कथामा आधारित खुदा गवाह फिल्म निर्देशक मुकुल आनन्दले बनाएको समकालीन अर्को फिल्म हम झै चर्चित हुन नसकेपनि मुकुलले खुदा गवाह फिल्मकै निर्देशन गरे वाफत फिल्म फेयर अवार्डमा उत्कृष्ट निर्देशकको उपाधी हात पार्न सफल भए । उनको फिल्मले उत्कृष्ट सहयोगी कलाकार, उत्कृष्ट एक्सन र उत्कृष्ट ध्वनीको अवार्ड समेत हात पारेको थियो ।नेपाल र नेपालीलाई माया अनि सम्मान गर्ने मुकुल आनन्दले फेरि पनि नेपालमा आफूले अन्य फिल्म सुटिङ गर्ने ईच्छा व्यक्त गरेका थिए, हिराचनसंग । खुदा गवाह सुटिङ भएको एकवर्षपछि मुकुल आनन्द टाईमेक्स घडीको बिज्ञापन बनाउन । त्यसको दुई वर्षपछि मुकुल आनन्द बिते । केही समयअघि श्रीदेवीको निधन भयो । मुकुल र श्रीदेवी बितेपनि खुदा गवाह सुटिङ गरेर मुस्ताङलाई चिनाउने उनीहरु विष्णुराज हिराचन र अन्य मुस्ताङीका हृदयमा भने जीवितै छन् ।