Close This

धनगढी घुम्ती साहित्य महोत्सवमा

रजगजदेखि काठमाण्डौमा एकदिनको चर्चा

मंगलबार बैशाख १८, २०७५/ Tuesday 05-01-18
Paschim Today

धनगढी, १८ बैशाख । धनगढीका साहित्यकार र साहित्यका पारखीरहरुका लागि आईतवार बिशेष दिन थियो । बिशेष दिन यस अर्थमा कि देशकै चर्चित साहित्यकार, कलाकार र एकै थलोमा उनीहरुले पाएका थिए । त्यो स्थान थियो, होटल डिभोटीको हल । कार्यक्रम थियो, एकदिने घुम्ती साहित्य महोत्सव । फाइन प्रिन्टको आयोजना र धनगढी जेसिजको संयोजनमा भएको यो महोत्सव धनगढीका नौलो मात्र थिएन । दुर्लभ अवसर पनि थियो ।  जसको उद्देश्य थियो, साहित्यिक कृतिहरुका बारेमा छलफल गर्नु र ती कृतिहरु पढ्न सबैलाई उत्प्रेरित गर्नु ।
फरक फरक बिधामा चर्चा कमाएका व्यक्तिहरुको जमघट आफैमा उत्साहजनक हुन्छ । उनीहरुसंग केही आग्रह, केही जिज्ञासा, केही कौतुहलता र भलाकुसारी गर्न पाउनु एकअर्थमा त्यो दुर्लभ अवसर थियो, धनगढीका सािहत्यकार र साहित्यका पारखीहरुका लागि ।  यद्दपि त्यहाँ चर्चाको विषय साहित्य मात्र थिएन, भ्रष्टाचारको विषय पनि थियो ।   नाम सुनेका, किताव मार्फत पढिएका र आफ्नो बिधामा ख्याती कमाएका व्यक्तित्वहरुसंगको अन्तरक्रियात्मक संवादमा सहभागिता जनाउन पाउदा र आफ्ना जिज्ञासाहरु राख्न पाउदा धनगढीका साहित्यकार तथा साहित्यप्रेमीहरु निकै उत्साही थिए । 


हास्यव्यंग मार्फत ख्याती कमाएका मदनकृष्ण श्रेष्ठ, आर्थिक, सामाजिक र राजनैतिक बिसंगतीका बिरुद्ध कलम चलाउदै आएका कान्तिपुरका सम्पादक हरी बहादुर थापा, प्रहरी संगठनभित्र रहेर पनि साहित्यमा छुट्टै छाप छोड्न सफल महेश बिक्रम शाह, उर्गेनको घोडा, मांगेना जस्ता कृतिका लेखक युग पाठक, सेती धरती मार्फत ख्याती कमाएका अमर न्यौपाने, आख्यानकार यज्ञश, काठमाण्डौंमा एक दिन कृतिकी लेखिका शिवानीसिंह थारुलाई एउटै थलोमा भेट्न पाउदा धनगढीका साहित्यकार र साहित्य र कलाका पारखीहरु दंग थिए ।  आफ्नो कृति माङ्गेनाका बारेमा साहित्यकार युग पाठकले चर्चा गरेका थिए । माङ्गेनाको विषयवस्तु र कृतिमा उल्लेख गरिएका विषयमा आफ्नो धारणा राखेका पाठकलाई सहभागीहरुले कृतिमाथि जिज्ञासा राखेका थिए । 

मदनकृष्ण श्रेष्ठसंगको संवादलाई सहजीकरण गरे, कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक गणेशराज जोशीले । श्रेष्ठको महको म कृतिमाथि संवाद गर्ने क्रममा सह प्राध्यापक जोशीले गम्भीर जिज्ञासा राख्दा श्रेष्ठ गम्भीर जवाफ दिन्थे भने ठ्ट्यौली प्रश्नको जवाफ पनि ठ्ट्यौली पाराकै हुन्थे । पत्नी बियोगको पीडा बिर्सिएर मदनकृष्ण श्रेष्ठले आफ्ना जीवनका अनुभव, आफ्नो कृति लेखनका किस्साहरु सुनाएर सहभागीहरुलाई हसाएका थिए ।  पत्रकार तथा आख्यानकार यज्ञशको पछिल्लो कृति भुइयाका विषयमा भएको संवादको सहजीकरण साहित्यकार रामलाल जोशीले गरेका थिए । सप्तरी देखि महेन्द्रनगर सम्मका भुमीहिन, सुकम्वासी, दलित लगायतका बिचल्ली भएका कथाका भुइयाका लेखक यज्ञसका कुरा जति सुनेपनि सभामा उपस्थित ब्यक्तित्वहरुको धित मर्न सकेन ।
शिवानी सिंह थारुको एक दिन काठमाण्डौंमा कृतिमाथिको संवादलाई सहजीकरण गरेकी थिईन, सरिता पुरी । संवादमा शिवानीले आफ्नी आमालाई प्रतिनिधि पात्र र प्रेरक व्यक्तित्वका रुपमा प्रस्तुत मात्र गरिनन, दलित, महिला तथा पछाडि परेका र पारिएका जातीका विषयमा पैरवी पनि गरिन । उनले तीनै पात्रबाट प्रभावित भएर आफ्नो लेखनीलाई निरन्तरता दिएको पनि सुनाईन ।

आर्थिक,सामाजिक र राजनैतिक बिसंगतीका बिरुद्ध कलम चलाउदै आएका कान्तिपुरका सम्पादक हरी बहादुर थापाको पछिल्लो कृति रजगजलाई लिएर भएको संवाद भने निकै रोचक रह्यो ।
थापाले २०१७ सालदेखि २०७४ सालसम्मका शासक र उनीहरुका शासनकालमा भएका आर्थिक अनियमिता र आर्थिक बेथितिहरुको नालीबेली रजगजमा समेटिएको बताए । उनले २०१७ सालदेखि २०७४ भ्रष्टाचारमा संलग्न केही व्यक्ति बाहेक कसैलाई कारबाही नभएको प्रष्ट्याए । भ्रष्टाचारमा संलग्न भएकाहरुमाथि छानबनि र उनीहरुमाथि कारबाही गर्न देखिएको उदासिनता हेर्दा मुलुकको आशलाग्दो अवस्था नरहेको सुनाए । 
नेपाल भ्रष्टाचारको रेड जोनमा छ,थापाले सुनाए, पछिल्लो पटक सिंह दरवारको अधिकार गाँउमा सार्न स्थानीय तह, प्रदेश र संघीय सरकारको अवधारणा कार्यान्वयनमा आयो । तर त्यहाँ अधिकार होईन, सिंह दरवारको भ्रष्टाचार र बिसंगती भित्रियो । यो डरलाग्दो पक्ष हो । कही यसैले संघियता असफल नबनाओस । सबैले सचेत हुनुपर्छ ।
रजगजमाथिको संवाद शत्रको सहजीकरण गर्ने क्रममा पत्रकार दीर्घराज उपाध्यायले नेपालमा भ्रष्टाचारको अवस्थाका विषयमा लेखक थापासंग र सात नम्बर प्रदेशको विकास समृद्धि, सुशासनका विषयमा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहसंग जिज्ञासा राखेका थिए ।आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले सबैको सहयोगमा मात्र सात नम्बर प्रदेशको समृद्धि र विकासका साथै सुशासन संभव हुने बताए ।


पत्रकार उपाध्यायले अर्थमन्त्रालयको परिपत्र र मन्त्री परिषदको बैठकको निर्णयलाई लत्याउदै मन्त्रीहरुले आवास लगायतको सुबिधा प्रयोग गरिरहेको, भ्रष्टाचारलाई मलजल गरिरहेको टिप्पणी गरेपछि गृहमन्त्री शाहले शुरुवाती दिनमा केही कमजोरी भएपनि सुरक्षा जोखिमका कारण मन्त्रीलाई अर्थमन्त्रालयको परिपत्र बिपरित मन्त्रीहरुलाई सुबिधा दिएको जिकिर गरे ।

साहित्यकार महेशबिक्रम शाह र अमर न्यौपानेका बीचमा कुनै एउटा कृतिका विषयमा भन्दा पनि समग्र साहित्यका विषयमा अन्तरंग कुराकानी भयो ।


कैलालीमा जन्मिएर यतै हुर्किएका साहित्यकार शाहले आफ्नो बाल्यकालको अनुभव, आफ्नो साहित्य लेखनीमा परेको थारु समुदायको भाषा, संस्कृति र जीवनशैलीको प्रभाव सुनाए । उनले आफूले नेपाली साहित्यमा थारु भाषाको प्रबेश गरेर त्यसलाई स्थापित गराएको बताए । शाह र कतिपय मान्छेले शानका लागि किताव किनेर टेबल र दराजमा राखेर देखाउने गरेको चर्चा गर्दै पढ्न बानी बसाल्न र साहित्यलाई माया गर्न सबैसंग आग्रह गरे  । झण्डै ६ घण्टासम्म चलेको साहित्यिक संवाद र भलाकुसारीको अन्त्यसम्म पनि सहभागीहरुको संख्या कम थिएन । विहान ११ बजे देखि सुरु भएको कार्यक्रममा सांझको ६ बज्दासम्म दर्शक दीर्घावाट कोही पनि नबाहिरिएको सम्भवतः यो पहिलो कार्यक्रम थियो, धनगढीमा । 


बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले घरी घरी सहभागीलाइ पेट मिच्ने गरी हसाएको होस या बरिष्ठ पत्रकार हरिवहादुर थापाले रजगज भन्दा पनि एक कदम अगाडी वढेर देशको वस्तु स्थितिका बिषयमा सवैलाइ  गम्भीर वनाएको बिषय वस्तु होस कार्यक्रमका सहभागीहरुले एउटै मञ्चमा धेरै पाए, धेरै सुने । मदन कृष्ण श्रेष्ठले जसरी हसाए त्यसरी नै आफ्ना अनुभूति सुनाएर सवैलाइ भावुक पनि वनाए । b वरिष्ठ पत्रकार थापा र साहित्यकार लेखक युगपाठकले मुलुकको वस्तु स्थितिलाइ जसरी छर्लंग पारे यसले सुदूरका अगुवाहरुले मुलुक सोचे भन्दा धेरै भिन्न रहेको अनुभूति गरे ।  अन्तिममा धनगढी जेसिजका अध्यक्ष यज्ञराज ओझाले घुम्ती साहित्य महोत्सव आयोजना गरेकोमा फाईन प्रिन्ट र महोत्सवमा सहभागी भएकोमा लेखक तथा सहभागीहरुलाई धन्यवाद दिए । महोत्सवका संयोजक कार्यकारिणी उपाध्यक्ष श्याम पाठकले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सत्यराज जोशीले गरेका थिए ।