Close This

कुशल प्रशासकका २३ महिना 

शुक्रबार बैशाख २१, २०७५/ Friday 05-04-18
Paschim Today

दीर्घराज उपाध्याय 

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल झण्डै दुई वर्षको कार्यकाल पुरा गरी रौतहट सरुवा भएका छन् । सरुवासंगै कैलालीमा उनले प्रमुख जिल्ला अधिकारीका रुपमा बिताएको २३ महिनाको यतिबेला सर्बत्र चर्चा भईरहेको छ ।  सुदूरपश्चिममा, अझ खासगरी कैलालीमा प्रमुख जिल्ला अधिकारी वा अन्य कार्यालयका प्रमुखका रुपमा सरुवा भएर आउने हरेक व्यक्तिले आफूलाई सरकारले सरुवा नगरेर नसिहत दिएको ठान्ने प्रबृति छ । र उनीहरु सरुवा भएर आएकै दिनदेखि जिल्लाको काम गर्नेभन्दा पनि कसरी अन्यत्र सरुवा गर्ने भन्ने ध्याउन्नमा जुट्छन् ।

जुनबेला कैलालीमा प्रजिअको रुपमा रिजालको सरुवा भयो । त्योबेला कैलालीको अवस्था अत्यन्त जटिल थियो । टीकापुर घट्ना आलै थियो । थारु र पहाडी समुदायका बीचको तुष यथावत थियो । उनीभन्दा पहिले कैलालीका प्रजिअ रहेका मोहन चापागाईको अभिव्यक्ति, क्रियाकलाप, काम गर्ने शैली र व्यवहारबाट थारु समुदाय, कर्मचारी, नागरिक समाज, पेशाकर्मी, व्यवसायी लगायत सर्बसाधारण निकै आजित र असन्तुष्ट थिए । जिल्ला प्रशासन कार्यालयभित्र पस्नु सिंह दरवारभित्र पस्नुभन्दा कठिन थियो । गेटबाट शुरु हुने सुरक्षा जाँच, सोधपुछ र सुरक्षाकर्मीहरुको व्यवहार मिठो थिएन । त्यसमाथि प्रजिअ चापागाईलाई भेट्नु सर्वसाधारणका लागि मात्र नभएर यो क्षेत्रका अगुवाहरुका लागि पनि सहज थिएन । द्धन्दको आगो जुनसुकै बेला उग्र रुप लिने भय र त्रास उत्तिकै थियो । चापागाईको कार्यकालमा थारु समुदायका अगुवा त जिल्ला प्रशासन कार्यालयभित्र पस्नै डराउथे । त्यस्तो अवस्थाबाट कैलाली जिल्लालाई सामान्य अवस्थामा फर्काउनु कम्ति चुनौतीपूर्ण थिएन । थारु र पहाडी समुदायबीच मेलमिलाप र सौहाद्र्ध सम्बन्ध कायम गराउनु पहिलो दायित्व थियो, उनको ।

टीकापुर घट्नापछि केही अराजक समूहबाट पिडित थारु समुदायलाई क्षतिपूर्ति, राहत र राज्यबाट सुरक्षाको सुनिश्चिता गराउनु पर्ने जिम्मेवारीलाई कुशलतापूवर्क निर्बाह गरेर प्रजिअ रिजालले थारु समुदायको भरोसा, विश्वास र मन जिते । यो उनको कार्यकालको मुख्य उपलब्धी थियो ।स्थानीय तह, प्रदेश र संघीय संसदका गरी तिनै तहका निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु उनको अर्को ठूलो सफलता थियो । किनकी टीकापुर घट्नापछि कैलालीमा चुनाव हुन्छ कि हुदैन भन्ने चिन्ता थियो । सुरक्षाका दृष्टिकोणले कैलाली अति सम्बेदनशील जिल्लाका रुपमा हेरिएको थियो । कैलालीमा निर्बाचन नहुदा वा निर्बाचन प्रभावित हुदा त्यसको असर सिंगो मुलुक र तीन वटै तहका निर्बाचनमा पर्ने निश्चित थियो । सर्बसाधारणको प्रबेशमा प्रजिअ चापागाईले असहज बनाएको जिल्ला प्रशासन कार्यालय,जसलाई चापागाईले जिल्लाको सिंह दरवारको भन्थे, त्यसका ढोकाहरु सबैका लागि खुला गरे, प्रजिअ रिजालले ।

उनले आफूलाई प्रमुख जिल्ला अधिकारीका रुपमा कहिल्यै प्रस्तुत गरेनन । सबैसंग सहज रुपमा प्रस्तुत भए । प्रशासनमा आउने सबैका गुनासा सुने । प्राय प्रजिअमा प्रशासक हुनुको रवाफ हुन्थ्यो । तर उनले प्रजिको रवाफ कहिल्यै देखाएनन । प्रजिअलाई हेर्ने आम जनताको दृष्टिकोण नै परिवर्तन गराए, उनले । सधै जनताका सेवकका रुपमा प्रस्तुत भए । जहाँ समस्या प¥यो । त्यहाँ आफै पुगे । उनले कुनै संस्थालाई सानो वा ठूलो भनेनन, हरेक संस्थाका कार्यक्रममा भ्याए सम्म पुगे । विद्यालय हुन् वा गैर सरकारी संस्थाका कार्यक्रम, साहित्यिक कार्यक्रम हुन वा पेशागत संगठनका अधिबेशन, उनले सबैलाई समान महत्व दिए ।

उनी साहित्यकारका माझ पुगे । मजदुर संगठनका कार्यक्रममा पनि सरिक भए । कलासंस्कृति र साहित्यप्रतिको उनको अगाध प्रेम, हरेक जातजाती र बर्ग प्रतिको उनको सम्मान र समव्यवहार, पेशागत संघसंगठन, व्यवसायीहरुसंग उनले गरेको मित्रवत व्यवहार कैलालीका जनताले सदैव स्मरण गरिरहने छन् ।

उनी हौसलपुर पुगे । जहाँ कहिल्यै कोही प्रजिअ यसअघि पुगेका थिएनन । हाल कैलारी गाँउपालिका अन्तर्गत रहेको मोहना नदी पारीको भारतसंग जोडिएको हौसलपुरमा राज्यको उपस्थिति शुन्यप्राय थियो । नेपाली भूभाग जोगाएर बसेका उनीहरुले नागरिकता र लालपूर्जा भने पाएका रहनेछन् । उनीहरुका गुनासो सुने । र फर्के लगत्तै उनले स्वास्थ्य,शिक्षा, पुल, नागरिकता, लालपूर्जाका समस्या समाधानका लागि सम्बन्धित निकायका प्रमुखलाई राखेर छलफल गरे । र त्यहाँ पाईएका समस्या र जन गुनासो सम्बोधन गर्न ती निकायलाई सक्रिय बनाए । पहिलो पटक आगनमा प्रुमख जिल्ला अधिकारी पाउदा स्थानीय बासिन्दा निकै खुशी भएका थिए ।

२०७० सालपछि बस्न नसकेको सीमा सुरक्षा बैठक प्रजिअ रिजालले शुरुवात गरेनन । उनको कार्यकालमा सीमा क्षेत्रमा हुने अपराध, चोरी, तस्करी नियन्त्रणका लागि खिरी जिल्लाका डिष्ट्रिक मेजिष्ट्रेड र उनको टीमसंग पाँच वटा बैठक गरे । भारतीय सीमामा नेपालीमाथि हुने दुव्र्यबहार र सास्ती न्यूनिकरणमा सीमा सुरक्षा बैठकले सहयोगी भूमिका खेल्यो । भारतीय सीमा अधिकारीसंग यति प्रगाढ र सौहाद्र्ध सम्बन्ध यसअघि कहिल्यै कुनै प्रजिअको कार्यकालमा भएन ।

उनले कैलालीका बिभिन्न ठाउमा घुम्ती शिविर सञ्चालन गरी घरदैलोमा नागरिकता र स्वास्थ्य सेवा दिए । टीकापुर घट्नापछि मुनुवामा उनले नेपाली सेनासंगको समन्वयमा चलाएको स्वास्थ्य शिविरमा दुई हजार भन्दा बढिले स्वास्थ्य सेवा पाए । टीकापुर घट्नापछि सुरक्षाकर्मी देखेर तर्सिने स्थानीय थारु समुदायका बासिन्दा र सुरक्षाकर्मीबीचको दूरी र डर हटाउन शिविर निकै सहयोगी भयो । उनले कानुनको बर्खिलाप हुने कुनै पनि गतिबिधिलाई सहयोग पुग्ने कार्य गरेनन । यातायातको सिण्डिकेट तोड्दै नयाँ यातायात कम्पनीलाई दर्ता मात्र गरेनन । सञ्चालनमा अबरोध गर्नेलाई कारबाही गरे । र यातायात कम्पनीलाई निर्बाध चल्ने वातावरण बनाए ।

जनताको घरदैलोमै पुगेर उनले जनतासंग साक्षात्कर गर्न करीव २ दर्जन सार्वजनिक सुनुवाई गरे । जसको उद्देश्य जनताका गुनासा,पीरमर्का र गुनासा सुन्नु र सम्बोधन गर्नु थियो । सेवाग्राहीले दुःख नपाउन । समयमा सुबिधा पाउन भनेर उनले सरकारी कार्यालयका प्रमुखहरुलाई सधै सचेत गराए । जिम्मेवार र जवाफदेही बनाए । उनकै पालामा सुख्खडमा ईलाका प्रशासन कार्यालयको स्थापना भयो । मध्यवर्ती क्षेत्रका जनताले नागरिकता लगायत जिल्ला प्रशासनले दिने सेवा घर नजिकै पाए । 
शतप्रतिशत पूर्ण कोही पनि हुदैन । हरेक मान्छेसंग गुण हुन्छन । अवगुण हुन्छन । मान्छेलाई सम्झिने उसका गुणले हो । उसको अनुपस्थितिमा उसको महत्व थाह हुन्छ । प्रजिअ रिजालको सौहाद्र्धपूर्ण व्यवहार, प्रभावकारी समन्वय, सहज उपलब्धता, जनताको गुनासो सुनेर त्यसको सम्बोधनका लागि देखाएको अग्रसरता कैलालीका जनताले सधै याद गर्नेछन् । यिनै कारण उनको अभाव कैलाली जिल्लाले सधै महशुस गर्नेछ ।

जिल्लामा शान्ति सुरक्षा र अमन चयन गर्ने जिम्मेवारी प्रजिअको काँधमा हुन्छ ।  सम्पूर्ण सुरक्षा निकायको नेतृत्व प्रमुख जिल्लाको अधिकारीले गर्छन । सम्पूर्ण सुरक्षा निकायसंगको समन्वय र सुरक्षा निकायको नेतृत्व उनले जुन ढंगले गरे, त्यसले कैलाली जिल्लामा उनको कार्यकालभरी कुनै पनि खालको अप्रिय घट्ना हुन पाएन । तीनै तहको निर्बाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो । कतिसम्म भने आन्दोलन गर्ने पक्षसंग पनि उनले गर्ने सुझबुझ पूर्ण व्यवहारले कहिल्यै आन्दोलनकारीहरु उग्र भएनन । बन्द र चक्काजाममा कुनै अप्रिय घट्ना भएनन । अझ कतिपय बन्दकर्ताले प्रजिअ रिजालको व्यबहार र आग्रहमा बन्दका कार्यक्रम फिर्ता लिए । प्रशासक भएर बल प्रयोग गर्ने भन्दा पनि जिल्लाको अभिभावक भएर उनले सम्झाएर, बुझाएर सबै समस्याको हल निकाले । त्यही कारण उनी सर्वसाधारण मात्र नभएर बन्द र आन्दोलनकारीहरु पनि प्रिय रहे । 
प्रजिअका तीन जिम्मेवारी नेतृत्व, नियन्त्रण, र समन्वयको भूमिका उनले कुशलतापूर्वक निर्बाह गरे । जिल्लाको शान्ति सुरक्षाका लागि मात्र नभएर विकासका लागि सम्बन्धित निकाय र सरोकारवालाको समन्वय स्मरणीय छ ।  प्रजिअ रिजाल कैलालीका ती हरेक वस्तीमा पुगे । जो राज्यबाट उपेक्षित छन् । जहाँका जनताका आवाज यसअघि कहिल्यै राज्य सञ्चालकहरुले सुनेनन । वा सुन्ने कोशिस गरेनन ।

उनी पनि प्रमुख जिल्ला अधिकारीका रुपमा आफ्नो कार्यकक्षमा बसेर आफ्नो कार्यकाल व्यतित गर्न सक्थे । यसअघिका धेरै प्रमुख जिल्ला अधिकारीले टीकापुर र चिसापानी बाहेक कैलालीका कमै ठाऊ देखेका छन् । पहाड उक्लेर त्यहाँका जनताका पीडा, समस्या बुझ्ने र उनीहरुको समस्या समाधानका लागि पहल गर्ने रिजाल पहिलो प्रमुख जिल्ला अधिकारी हुन् । उनी बिकट पहाडी क्षेत्र मोहन्याल पुगे । पण्डौन पुगे । खैराला पुगे । निगालीका जनताका समस्या र गुनासा पनि सुने । र समाधानको पहल गरे ।

औपचारिकता पुरा गर्न कुनै ठाऊको निरिक्षण गर्नु एउटा कुरा हो । तर त्यहाँका जनताका समस्या सुनेर त्यसको समाधान गर्नु महत्वपूर्ण कुरा हो ।  वर्षौ भयो, मोहन्याल जोड्ने सडक निर्माण थालिएको । तर अहिलेसम्म त्यो सडकले मोहन्याल जोडिएन । प्रजिअ रिजाल, स्थानीय विकास अधिकारी सहितको टोली लिएर घरदैलोमै नागरिकता लगायतका सेवा दिन र त्यहाँको जनताको अवस्था बुझ्न झण्डै ६ घण्टा पैदल हिडेर मोहन्याल पुगे । स्थानीय बासिन्दाको एउटै आग्रह थियो,सडक बनाई दिनुप¥यो ।बजेट अभावमा सडक निर्माण कार्य कछुवा गतिमा थियो । वर्षेनी ५/७ लाख रुपैया बजेट मर्मत संभारमै सकिन्थ्यो । उनले त्यहाँबाट फर्केपछि जिल्ला विकास समिति मार्फत ५० लाख रुपैया निकासा गर्न लगाए । अहिले त्यो सडक निर्माणको अन्तिम चरणमा छ । 

उनकै पहलमा धनगढी बिमानस्थलका लागि १७ बिगाहा अधिग्रहण संभव भयो । ८९ जनामध्ये अव ११ जनाले मात्र मुआब्जा लिन बाँकी छ । धनगढी बिमानस्थलको स्तरोन्नतीका लागि यो कोशेढुंगा हो । हुलाकी सडकको रोकिएको निर्माणको कार्यपनि उनकै पहलमा अघि बढ्यो । जादा जादै पनि उनले धनगढी उपमहानगरपालिकाले व्यहोरिरहेको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि जग्गाको व्यवस्थापन गर्न मूल्य निर्धारण गरे । नेतृत्व सफल हुनका लागि टीम पनि गतिलो चाहिन्छ । प्रजिअ रिजाल सफल हुनुमा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, कार्यालय प्रमुखहरु, जिल्ला प्रहरी प्रमुखहरुको पनि भूमिका महत्वपूर्ण हुन्छ । फेरि पनि उनीहरुसंग समन्वय गरी उनीहरुलाई परिचालन गर्नका लागि परिपक्व नेतृत्व चाहिन्छ । उनको परिपक्व नेतृत्वका कारण पनि यो सबै संभव भएको हो ।

कुनै बेला प्रमुख जिल्ला अधिकारीको कुर्चीमा बस्नेको रवाफ बेग्लै हुन्थ्यो । सेवक कम । शासक बढि । शान र मान मात्र खोज्ने । र सबैको त्यो कुर्चीमा बस्नेसंग सोझो सम्पर्क हुनै कठिन । र जिल्ला चलाउन त्यो कुर्चीमा बस्ने व्यक्ति उमेरले पाको, अनुभवले खारिएको हुनुपर्छ भन्ने सोच थियो । तर उमेरले होईन, यो पद त क्षमता, कार्य कुशलताले चल्ने रहेछ भन्ने मान्यता स्थापित गराईदिए, रिजालले । पद त्यही थियो । कुर्ची थियो । २०४७ सालयता झण्डै ५० जना व्यक्ति प्रजिअको त्यो कुर्चीमा बसे । कोही महिना दिन पनि बस्न पाएनन । कतिपय प्रजिअ आए गएको पनि जिल्लावासीले थाह भएन । कतिपय प्रजिअ सरुवा भएकोमा जिल्लावासीले खुशी व्यक्त गरे । तर प्रजिअ रिजाल सरुवा भएर जादा धेरैले भारी मनले बिदाई गरे । उनलाई अन्यत्र पनि कैलालीमा झै सफलता मिलोस भनेर शुभकामना दिए । सामाजिक सञ्जालमा प्रजिअ रिजाललाई लिएर गरिएका सकारात्मक टिप्पणी उनको मिठो व्यवहार र कुशल प्रशासकका रुपमा उनले कमाएको पूँजी हो ।

आशा गरौ, कैलालीमा सरुवा भएर आएका ऋषिराम तिवारी र उनीपछि आउने प्रजिअले पनि त्यही पदचाप पछ्याउने छन् ।