Close This

‘गाउँघरको प्रतिभा उजागर गर्नुपर्छ’

शनिबार बैशाख २२, २०७५/ Saturday 05-05-18
Paschim Today

पश्चिम टुडे, धनगढी, बैशाख २२ । प्रदेश नम्बर ७ का उद्योग, पर्यटन वन तथा वातारणमन्त्री माया भट्टले गाउँघरमा रहेको प्रतिभालाई उजागर गर्नु पर्ने बताएकी छिन् ।   शुक्रवार धनगढीमा विन्दास मिडिया म्युजिक अवार्ड कार्यक्रमको उद्घाटन गर्दै उनले ग्रामीण क्षेत्रमा मौलिक पक्षलाई उजागर गर्ने प्रतिभाहरु लुकेर रहेको उल्लेख गरिन् । ‘त्यस्ता प्रतिभालाई मिलेर उजागर गर्नु हामी सबैको दायित्व हो’, उनले भनिन् ।  मन्त्री भट्टले हाम्रो संस्कृतिमा पश्चिमा प्रभाव परेकोले संस्कृति संरक्षणका लागि सबै पक्ष जुर्मुराउन आवश्यक रहेको बताइन् । ‘मौलिक संस्कृति भनेको हाम्रो आफ्नोपन हो, पहिचान हो’, उनले अगाडि थपिन्–‘हाम्रो आफ्नो संस्कृतिलाई जोगाउनु पर्दछ । यसको संरक्षण गर्नु पर्दछ ।’
  यो प्रदेशमा हरेक जातजातिको संस्कृति फरक–फरक रहेकाले सबैंको संस्कृतिलाई जगेर्ना गर्ने गरी प्रदेश सरकारले योजना बनाउने उनको भनाइ थियो । मन्त्री भट्टले थुप्रै सम्भावना बोकेको यो प्रदेश संस्कृतिमा पनि धनी रहेको उल्लेख गरिन् । ‘यो प्रदेशमा विभिन्न जातजातिको आ–आफ्नै खालको संस्कृति रहेको छ’, उनले भनिन्–‘त्यसको संरक्षण र सम्बद्र्धन कसरी गर्नु पर्छ भन्नेतर्फ प्रदेश सरकारको ध्यान रहनेछ ।’ उनले थारु समुदायभित्र उत्कृष्ट प्रतिभा रहेको र आफूले देख्न पनि पाएको चर्चा गरिन् ।   थारु समुदायको कला, संस्कृति संरक्षणमा क्रियाशिल कलाकार तथा व्यक्तिहरुलाई सम्मान र थप प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक बृहत रुपमा म्युजिक अवार्ड कार्यक्रमको आयोजना गरेको कार्यक्रमका संयोजक हरेन्द्र चौधरीले जानकारी दिए । 
    अवार्ड कार्यक्रमले संस्कृति संरक्षणमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । यसैगरी, कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले थारु समुदायको कला, संस्कृति लोप हुने क्रममा रहेकाले त्यसको संरक्षणतर्फ सबैको ध्यान जान आवश्यक रहेको उल्लेख गरे ।  उनले पछिल्लो समय थारु गीत सङ्गीतप्रति युवा पुस्ताको आकर्षण बढेको चर्चा गर्दै यसलाई भारतीय संस्कृति विस्थान अभियानका रुपमा आफूले बुझेको बताए । ‘अहिले थारु भाषामा थुप्रै गीत सङ्गीत बनेका छन्’, अध्यक्ष चौधरीले भने–‘यसले हाम्रो आफ्नो संस्कृतिको संरक्षणमा टेवा पुग्नेछ र हाम्रो समाजमा घुँसेको भारतीय संस्कृति विस्थापन हुनेछ ।’घोडाघोडी मिडिया ग्रुपको आयोजनामा भएको विन्दास मिडिया म्युजिक अवार्डका लागि थारु गीत सङ्गीतमा क्रियाशिल कलाकारहरुलाई मात्रै मनोनयन गरिएको थियो । ३५ विधामा अवार्ड प्रदान गरिएको छ । अवार्ड कार्यक्रममा कपिलबस्तुदेखि पश्चिम कञ्चनपुरसम्मका कलाकारहरुको सहभागिता रहेको थियो । 
फोटो क्याप्सन ः विन्दास मिडिया म्युजिक अवार्ड कार्यक्रममा बोल्नु हुँदै पर्यटनमन्त्री माया भट्ट ।