Close This

एउटा कमै सुनिएको परी कथाः नाजिया हसन

शनिबार बैशाख २२, २०७५/ Saturday 05-05-18
Paschim Today


सतीश राज ओझा
आप जैसा कोइ मेरे जिन्दगीमे आए.........कुर्वानी (१९८०)
बुमबुम......................स्टार (१९८२)
डिस्को दिवाने................(१९८१)
आप जैसा कोइ मेरे जिन्दगीमे आए.........कुर्वानी (१९८०) चलचित्रको गीत त धेरै पटक सुनेको थिए ।  तर कसले गाएको हो खोजी गरेको थिएन । केही दिन अकस्मात एउटा युट्युबको अन्र्तवार्ताले मेरो ध्यान खिच्यो, अन्र्तवार्ता थियो, भारतीय कलाकार तबस्सुमले लिएको नाजिया हुसेनको । अचम्मै लाग्दो उक्त प्रस्तुति हेरी सकेपछि नाजियाको बारेमा खोज्दै जाँदा भेटिएका तथ्यहरु यहाँ प्रस्तुत गरेको छु ।
  पाकिस्तानमा  जन्मेकी (३ अप्रिल, १९६५) माथी उल्लेखित ८०(९० को दशकका चर्चित हीट गीतहरुमा स्वर दिने नाजिया हसन (१९६५–२०००)ले १० वर्षको उमेरमै ७० को दशकमा आफ्नो गायक भाई जोहेब हसनसँग स्टेजमा गीत गाँउन थालिसकेकी थिइन । लण्डन बसाईको समयमा गायन तथा संगीतको क्षेत्रमा काम गरिरहेका भारतीय मूलका कम्पोजर बिद्दुको नजर उनमा परे पछि उनले नै फिरोज खानले तत्कालीन समयमा निर्माण गरिरहेको बिनोद खन्ना, जिनत अमान र फिरोज खान समेतको अभिनय रहेको चलचित्र कुर्वानी (१९८०) को आप जैसा कोइ मेरे जिन्दगीमे आए....गीतमा स्वर दिन नाजिया हसनलाई लिए पछि उक्त गीतले तत्कालिन भारत तथा पाकिस्तानको संगीत क्षेत्रमा ठूलो हलचल नै ल्याई दियो । जिनत अमानलाई लिएर छायांकन भएको उक्त गीत जति सुन्दर थियो, गायिका पनि त्यत्ति नै सुन्दर थिइन । उक्त गीत त्यस समयको सर्वाधीक चर्चित गीत मात्र भएन नाजिया  हसनले १९८१ मा बेस्ट प्लेब्याक सिंगरको फिल्म फेयर अवार्ड नै पाइन् र उनको उमेर थियो १५ बर्षमात्रै । यसरी उनी सबै भन्दा कम उमेरमा फिल्म फेयर अवार्ड जित्ने तथा पहिलो पाकिस्तानी कलाकारको रेकर्ड समेत पनि बनाइन् । त्यसपछि बिट्टु र हसनका भार्ई बहिनीको जोडीले सँगै काम गरेर पाँचवटा डिस्को दिवाने, बुमबुम, योङ्ग तरङ्ग, हटलाइन, क्यामेरा क्यामेराको लगायतका एल्बमहरु निकाले । उनको डिस्को दिवाने (१९८१)  एल्बम एसिया भरिको चर्चित मात्र भएन विश्वका अनेकौ देशका चार्ट बस्टरर्समा समेत पर्न सफल भएको थियो र यसैबाट उनले गोल्डन डिस्क अवार्ड समेत पाइन् । उनका गीतहरुको ६ करोड प्रतिभन्दा बढी एल्बम विश्व भरी बिक्री भएको समेत रेकर्ड छ ।
उनको गीत तथा संगीतहरुले उनको ख्याती यति बनाई दिएको थियो कि उनलाई स्विट हार्ट अफ पाकिस्तान, प्रिन्सेस अफ पाकिस्तान, क्विन अफ पप जस्ता उपनाम दिइएको थियो । साथै उनको मानवता सेवा तथा समासेवी भावना भएकी हुँदा उनको तुलना तत्कालिन समयमा प्रिन्सेस डायनासँग समेत गर्ने गरिएको थियो । नाजिया र उनको भाई जोहेबले छोटो समय तथा कम उमेरमा नै सफलता पाईसके पछि उनीहरुको अन्तिम एल्बम क्यामेरा क्यामेराको रिलिज पश्चात १९९१ बाट साँगितिक जीवनबाट बिश्राम लिई नाजियाले अध्ययन र जोहेबले पारिवारीक व्यवशाय हेर्न शुरु गरे । यता नाजियाले भने लण्डनमा कानून स्नातक भई १९९१ बाट संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा राजनीतिक विश्लेषकको हैसियतले समेत काम गरिन । उनी मानवतावादी र समाजसेवी भावनाकी थिइन् । उनले पाकिस्तानमा महिला शिक्षा तथा बाल विकासमा क्षेत्रमा काम गरिन तथा आफूले कमाएका रोयल्टीहरु समेत लगानी गरिन । मधुर स्वरकी धनी नाजियाले १९९५ तिर आफूलाई फोक्सोको क्यान्सर भएको थाहा पाइन । त्यही साल उनले विवाह गरिन । र एक बच्चाको आमा पनि भइन । क्यान्सरले निकै कमजोर भएकी उनी केमो थेरापी लिएर केही निको भईन । तर उनको १३ अगस्त २००० मा उपचारकै क्रममा ३५ वर्षको उमेरमा मृत्यु भयो । २००३ मा पाकिस्तान सरकारले उनलाई पाकिस्तानको सर्वोच्च नागरिक सम्मान प्राइड अफ परफरमेन्स प्रदान गरेको छ । साथै उनको आमा बुवाले उनको नाममा समाज सेवा गर्न नाजिया हसन फाउन्डेसन समेत खोलेका छन् ।
यसरी छोटो समयमै प्रशिद्धिको शिखर चुमेकी एक सुन्दर गायीका तथा समाजसेवीको निधनले भारत तथा पाकिस्तानमा आफ्ना प्रशंसकहरुलाई मर्माहत बनाएर गए पनि उनले कायम गरेका रेकर्ड तथा कामहरुले सँधै सम्झिइरहने छिन् ।