Close This

राधाको पढाईका लागि आर्थिक सहयोग

बुधबार बैशाख २६, २०७५/ Wednesday 05-09-18
Paschim Today
फोटो क्याप्सन :- बेलायतबाट जयन्ती राईले पठाएको रुपैया राधा चौधरीलाई हस्तान्तरण गरिदैं । 

धनगढी, २६ बैशाख ।
अन्तर्राष्ट्रिय नारी दिवसका दिन बोक्सीको आरोपमा अमानवीय यातना पाएकी राधा चौधरीलाई आर्थिक सहयोग प्राप्त भएको छ । 
    हाल बेलायमा बस्दै आएकी खोटाङ बाक्सीलाकी जयन्ती राईले राधाको अध्ययन खर्चका लागि ५० हजार रुपैया सहयोग गरकी हुन । उनले धनगढीका पत्रकार दिपक उपाध्यायलाई पठाएको उक्त रुपैया मङ्गलवार जिल्ला प्रशासन कार्यालयमार्फत राधालाई हस्तान्तरण गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र पत्रकार उपाध्यायले संयुक्त रुपमा रुपैया हस्तान्तरण गरे । 
    राधामाथि भएको घटनाबारे थाहा पाएकी राईले चित्रकला मार्फत सङ्कलन भएको रुपैया अध्ययन खर्चका लागि सहयोग गरेको उपाध्यायले जानकारी दिए । उनका अनुसार राईले आफ्नो भतिजीको पास्नीमा आएका छरछिमेकका बालबालिकाहरुलाई चित्रकलामा सहभागी गराएकी थिइन् । राईले राधामाथि भएको घटनाबारे बेलि विस्तार सुनाएर बालबालिकाहरुले बनाएका चित्रकला उनीहरुकै अभिभावकहरुलाई किन्न लगाएकी थिइन् । चित्रकलाबाट सङ्कलित रकममा आफूले थप गरेर ५० हजार रुपैया सहयोग गरेको उपाध्यायले जानकारी दिए । 
    घोडाघोडी नगरपालिका–५ देउकलियाकी राधा अहिले सुखड स्थित राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत छिन् । यहि वैशाख ३० गतेदेखि सुरु हुने परिक्षाको तयारी गरिरहेकी उनले अध्ययनका लागि विदेशबाट सहयोग गर्नु हुने राईलाई धन्यवाद ज्ञापन गरिन् । कक्षा चारमा द्वितीय स्थान प्राप्त गरेकी उनले आफ्नो पढाई राम्रो रहेको सुनाउँदै अगाडि थपिन्–‘सहयोगी, शुभेच्छुकहरुले बाटो देखाए अनुसार नै उच्च शिक्षा हासिल गर्नेछु ।’
    कैलालीका प्रमुख जिल्ला अधिकारी तिवारीले ध्यान दिएर अध्ययन गर्न राधालाई आग्रह गरे । उनले सहयोग प्राप्त रुपैयालाई शैक्षिक खर्चबाहेक अन्यत्र खर्च नगर्न र बैङ्कमा जतनका साथ राख्न समेत सल्लाह दिए ।  
    अन्तर्राष्ट्रिय नारी दिवसका दिन देउकलियाकै रामबहादुर चौधरी उर्फ भोलेबाबा, आफूलाई पार्वती बताउने किस्मती चौधरी, स्मारिका चौधरी लगायतले बोक्सीको आरोप लगाएर राधामाथि निर्घात कुटपिट सहित यातना दिएका थिए । उनलाई यातना दिने रामबहादुर सहितका व्यक्तिलाई पुर्पक्षका लागि थुनामा राखिएको छ । 
    घटना भएको दुई महिना बितेको छ । गाउँमा अझै पनि कतिपयले आफ्नो कुरा काट्ने गरेको राधाले बताइन् । छिमेकीहरुले राम्रोसंग बोलचाल गरे पनि गाउँका कतिपय व्यक्तिको पुरानै दृष्टिकोण रहेको उनले सुनाइन् । 
    ‘समाजमा अझै पनि परिवर्तन आउन सकेको छैन’, राधाले भनिन्–‘गाउँका कतिपयले पुरानै दृष्टिकोणले हेर्ने गरेका छन् । तर, छरछिमेकीसंग बोलचाल राम्रो भएको छ ।’ अध्ययन गरिरहेको विद्यालयमा भने सहपाठी र शिक्षकहरुबाट माया पाइरहेको उनले बताइन् ।