Close This

कैलाली भ्रमण बर्ष औपचारीकता मात्रै नबनोस

बुधबार बैशाख २६, २०७५/ Wednesday 05-09-18
Paschim Today

गत शनिवारदेखि कैलाली भ्रमणबर्ष सुरु भएको छ । यो आफैमा यहाँको विकासका लागि राम्रो अभियान हो । कैलाली भ्रमण वर्षलाई अभियानकै रुपमा अगाडि बढाउने जिल्ला समन्वय समिति कार्यालय कैलालीको योजना रहेको छ । यसले यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रीने आशा गर्न सकिन्छ । 
भ्रमण वर्ष अन्तर्गत एक वर्षसम्म कैलालीको १३ वटै स्थानीय तहमा विविध कार्यक्रम गरेर पर्यटकीय सम्भावनाको उजागर गर्ने बताईएको छ  । विभिन्न स्थानीय तहमा रहेका सम्भावनालाई लक्षित गरेर पर्यटक भित्र्याउने जमर्को गरिने योजना जिल्ला समन्वय समिति संग रहेको छ । जुन स्थानीय तहमा जे कुराको सम्भावना छ, त्यसैलाई लक्षित गरी कार्यक्रम संचालन गरिने पनि जनाईएको छ । एक वर्षमा करिब लाख पर्यटक भित्र्याउने कैलाली भ्रमणबर्षको लक्ष्य रहेको छ । १३ वटै स्थानीय तहमा गरिने कार्यक्रममार्फत यहाँ अधिकतम पर्यटक भित्राउनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । भारतीय पर्यटक भित्राउनका लागि समेत विभिन्न निकायसंग छलफल भइरहेको आयोजकहरुले जनाएका छन् । प्रदेश नम्बर ७ को पर्यटकीय सम्भावनाको उजागर गर्ने, धनगढी विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउन दबाव दिने र कर्णाली जलविद्युत आयोजनाबारे ध्यानाकार्षण गर्ने उद्देश्य सहित वैशाख २२ गते सरकारकामन्त्री र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यहरुलाई बोलाएर कैलाली भ्रमण वर्षको उद्घाटन गरिएको थियो । भ्रमण वर्षको उद्घाटनपछि सोही दिन सांसदहरु सहितको टोलीले कर्णाली नदीमा पितमारीदेखि चिसापानी पुलसम्म जलबिहार (¥याफ्टिङ) गरेको थियो । सोही साँझ टीकापुर पार्कमा सांस्कृतिक कार्यक्रम गरिएको थियो । टोलीले दोस्रो दिन विभिन्न स्थानीय तहमा रहेको धार्मिक ठाउँ, मठ मन्दिरको अवलोकन सहित विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल क्षेत्रको अवलोकन गरेको थियो । भ्रमण वर्ष अन्तर्गत हुने आगामि कार्यक्रमहरुको क्यालेण्डर छिट्टै तयार पारेर सार्वजनिक गर्ने आयोजकहरुले जनाएका छन् । गङ्गा दशहराको अवसरमा धनगढी उपमहानगरपालिकाको प्रसिद्ध धार्मिक स्थल बेहडा बाबामा लाग्ने धार्मिक मेलालाई मध्यनजर गरे समेत भ्रमण कार्यक्रम बनाउने उल्लेख गरिएको छ  । भ्रमण वर्ष अवधिभरी अधिकतम् पर्यटक भित्राउने प्रयास गर्ने जिल्ला समन्वय समिति कैलालीको लक्ष्य रहेको छ । जिल्लाको विभिन्न नदीमा डल्फिन अवलोकन, विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल, कोइलहुवा ताल, टीकापुर पार्क, गोदावरी धाम अवलोकन, कर्णाली नदीमा जलबिहार लगायत पर्यटक आकर्षणको केन्द्रबिन्दु रहेको आयोजकहरुले पत्रकार सम्मेलन गरि जनाइएको छ ।  भ्रमण वर्ष मार्फत पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । यसरी पवित्र उदेश्य लिएर सुरु गरिएको अभियान नारामा मात्रै सिमात नहोस । किनभने सुरु निकै जोस जागर र तामझामका साथ हुने यस्ता कैयोन अभियान अन्तमा गएर उपलब्धी बिहिन भएका उदारण हामी संग रहेका छन् । कैलाली भ्रमणबर्षको उद्घाटन गर्दाको तामझाम र उत्साह पछि सम्म रहनुपर्दछ । होईन भने यो अभियान गर्नका लागि गरिएको सावित हुने  छ । यो कुरो आयोजकहरुले बुझोस ।