Close This

मिहिनेती रामदाशीको प्रेरणादायी काम

बिहीबार बैशाख २७, २०७५/ Thursday 05-10-18
Paschim Today

धनगढी, २७ बैशाख । 
गृहणी, चुल्हो चौका र घरधन्दामा प्रायः सीमित महिला । नेपाली समाजको यस्तो बुझाईलाई चिर्दै कैलालीकी एक गृहणीले उदाहरणीय काममात्रै गरेकी छैनन् । अरु गृहणीका लागि प्रेरणाको स्रोत समेत बनकी छिन् । 
    कैलारी गाउँपालिका वडा–३ लालपुर भडरीकी ४२ वर्षीया रामदाशी चौधरीले घरगृहस्थी सञ्चालनसंगै सानो बारीमा मिश्रित तरकारी खेती गरेर प्रेरणाको स्रोत बनेकी हुन । इच्छाशक्ति र लगनशीलता भएमा गृहणीले पनि बाहिर जागिर गरेर कमाउने पुरुष जस्तै कमाउन सक्छन् भन्ने उदाहरणीय पात्र हुन, उनी । 
    विगत डेढ दशकदेखि सानो बारीमा थरी–थरीका तरकारी उत्पादन गर्दै आएकी रामदाशीको आम्दानी पनि गज्जबको छ । विभिन्न तरकारी र तरकारीको बेर्ना बिक्री गरेर एक सिजनमा एक लाख भन्दा बढी कमाउने गरेको उनले सुनाइन् । रामदाशीका अनुसार प्याज, टमाटर, काउली जस्ता तरकारीको बेर्नाबाट एक सिजनमा ५० देखि ६० हजार र विभिन्न तरकारी बिक्रीबाट पनि त्यति नै आम्दानी हुने गरेको छ । 
    ‘मैले तरकारी खेतीमा खासै धेरै लगानी गर्ने गरेको छैन’, उनले भनिन्–‘मेरो लगानी भनेको बीउ, मल र मिहिनेत मात्रै हो । जेहोस मिहिनेत गरे अनुसार आम्दानी गरेर सन्तुष्ट छु ।’
    कमाउनका लागि धेरै जग्गा जमिन नै चाहिन्छ, भन्ने सोचाई छैन, उनको । र, एक उत्पादन लिएर जग्गा खाली राख्नुपर्छ भन्ने मानसिकता पनि छैन । सुख्खा यामसंगै धनगढीमा यति खेर धेरैका जमिन खाली छन् । तर, राममदाशीले धनगढी गाउँमा मिहिनेत गरिरहेको करिब साढे दुई कट्ठा जमिन तरकारीले हराभरा बनेको छ ।
    उनले छोटो अवधिमा तयार हुने तरकारीको खेती गर्दै आएकी छन् । उत्पादित तरकारी बिक्री भएर सकिने बित्तिकै त्यहि जमिनमा फेरी पहिलेकै तरकारी दोहो¥याउने वा समय अनुसार अर्को तरकारी लगाउने गरेकी छिन् । यसका साथै, एउटै जग्गामा दुई वा दुईभन्दा बढी प्रजातिका तरकारी खेतीको अभ्यास समेत गरिरहेकी छिन् । 
    ‘२०६० सालमा १४ कट्ठाबाट तरकारी खेती गर्न सुरु गरेकी थिएँ’, रामदाशीले भनिन्–‘तर, १४ कट्ठा धेरै लाग्यो । अहिले कम गरेर साढे दुई कट्ठामा झारेकी छु । यसमा विविध प्रकारका तरकारी लगाई रहेकी छु ।’
    चार जना सदस्य रहेको रामदाशीका परिवारमा कोही पनि बेरोजगार छैनन् । श्रीमान र छोरा र छोरी बाहिर जागिरे छन् । घर गृहस्थी सम्हाल्ने जिम्मेवारी पाएकी रामदाशी भने आफ्नै घर वरिपरिको बारीमा जागिरे भएकी छिन् । 
कक्षा ८ सम्मको अध्ययन गरेकी उनलाई जागिरको लागि प्रस्ताव नआएको पनि होईन । तर, खेतीपातीमा अभ्यस्त उनलाई खेतबारीकै काम नै ठिक लाग्यो । त्यसमा पोख्त उनले भनिन्–‘अब यहि काम नै मेरो लागि जागिर हो । म तरकारी खेतीबाट सन्तुष्ट छु । अरु कुनै जागिरको खाँचो छैन ।’
    रामदाशीले तरकारी खेती गर्नका लागि कुनै किसिमको तालिम पनि लिएकी छैनन् । तर, उनले तरकारी खेती गर्ने तरिका तालिम प्राप्त कृषकले गर्नेभन्दा कम छैन । ‘अब त काम गर्दागर्दै अनुभवी भएँ’, उनले भनिन् । 
    भिन्दी, टमाटर, करेला, काउली, बन्दा, मूला, धनियाँ, प्याज, बोरी लगायतका उनले उत्पादन गर्ने तरकारी धनगढीकै तरकारी पसलमा खपत हुने गरेको छ । तरकारीका बेर्ना किन्नेहरु भने रामदाशीको घरमै पुग्ने गरेका छन् । 
    घरको कामपछि अधिकतम् समय तरकारी खेतीमै बितिरहेको छ, रामदाशीको । यो कार्यमा मिहिनेती रामदाशी पहिलेदेखि नै कृषि कार्यमा लगनशील रहेको उनका श्रीमान रतिराम चौधरी बताउँछन् । 
    ‘हाम्रो विवाह भएपछि धेरै काम गरेको देखेर मैले उनलाई कहिलेकाँही गाली पनि गर्ने गरेको थिएँ’, विगत स्मरण गर्दै उनले भने–‘अहिले पनि उनी निकै मिहिनेती छिन् । र, मिहिनेत अनुसारको फल पनि पाएकी छिन् ।’
    तरकारी खेती गर्नका लागि रामदाशीले सिचाइँको समस्या खेप्नु परेको छैन । बारीमै भूमिगत बोरिङ्को व्यवस्था छ । आफ्नो कामकाजमा नगएको बेला उनलाई श्रीमान र छोराले पनि सघाउने गरेका छन् । 
    ‘कृषि कार्यमा समर्पित यो परिवारको मिहिनेत देखेर म दङ्ग छु’, छिमेकी मोती चौधरीले भनिन्–‘बिहानैदेखि स्याहार सुसारमा जुटेर यो टोलमा सबैभन्दा राम्रो तरकारी खेती बनाएका छन् ।’