Close This

कैलारीमा सूचना प्रविधि केन्द्रको स्थापना

शनिबार बैशाख २९, २०७५/ Saturday 05-12-18
Paschim Today

पश्चिम टुडे, धनगढी, बैशाख २९ । कैलारी गाँउपालिकामा स्थापना गरिएको सूचना प्रबिधि केन्द्रको शुक्रवार एक समारोहकाबीच उद्घाटन गरिएको छ । सेसीको र ग्राम विकास तथा अनुसन्धान केन्द्रको साझेदारीमा सञ्चालित सुशासन परियोजना अन्तर्गत स्थापना गरिएको सूचना प्रबिधि केन्द्रको प्रदेश सांसद बीरमान चौधरीले उद्घाटन गरे । 
सूचना प्रबिधि केन्द्रको स्थापनाले कैलारी गाँउपालिकाका सूचनासम्म जनताको सहज पहूँच हुने विश्वास गर्दै सांसद चौधरीले सुशासन प्रबद्र्धनमा केन्द्र सहयोगी हुने बताए । घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले प्रदेश नम्बर सातमा दोस्रो प्रबिधि केन्द्र स्थापना गर्ने गाँउपालिका बनेकोमा कैलारी गाँउपालिकालाई बधाई दिए ।
कार्यक्रममा सेसीका सुशासन सल्लाहकार बिनोद प्रसाद उपाध्यायले खुला सरकारको अवधारणा कार्यान्वयन गर्न सूचना प्रबिधि केन्द्रले महत्वपूर्ण भूमिका निर्बाह गर्ने विश्वास व्यक्त गरे । उनले स्थानीय सरकारलाई पारदर्शी,जवाफदेही र जिम्मेवार बनाउन प्रबिधि केन्द्र सहयोगी हुने बताए ।  ग्राम विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष दीर्घराज उपाध्यायले सूचना बिना सुशासन सम्भव नभएको बताउदै सुशासनका लागि प्रबिधिको दिगो प्रयोग आवश्यक भएको बताए । 
योंग ईन्नोभेसनका बिभुषण बिष्टले सूचना प्रबिधि केन्द्रको स्थापनाले जनतालाई घरमै बसेर गाँउपालिकाका सम्पूर्ण सूचना प्राप्त हुने बताए । कैलारी गाँउपालिकाका अध्यक्ष लाजुराम चौधरीले जनतालाई घरमै बसेर गाँउपालिकाका सबै सूचना, सेवा, सुबिधा र योजनाका विषयमा जानकारी दिने उद्देश्यले सूचना प्रबिधि केन्द्र स्थापना गरिएको बताए । कार्यक्रममा नेकपा एमालेका तर्फबाट चन्द्रिका प्रसाद चौधरी, नेपाली काँग्रेसका तर्फबाट रमेश चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।सूचना प्रबिधिको बारेमा सुशासन परियोजनाका जिल्ला कार्यक्रम संयोजक ठाकुर करिया प्रधानले जानकारी दिए । कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौवा थारुले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।