जोर्डन : आगो बीचको फुल

SITENAME

दीर्घराज उपाध्याय
संसारकै होचो भूभाग डेड सी (मृत सागर) को देश जोर्डनका लागि दिल्लीबाट उडान भर्दै गर्दा जहाजसंगै कैयौ जिज्ञासा सहित मेरो मन पनि एकतमासले उडान भरिरहेको थियो । गुगलमा भेटेको मृत सागरमा तैरिएर जोर्डन टाईम्स पढ्दै गरेको एउटा मान्छेको तस्वीरले निकै रोमाञ्चित भएको थिए, म । कुनै सहारा बिना पानीमा तैरिएर कसरी त्यो मान्छे पत्रिका पढिरहेको होला भन्ने कौतुहलताको अन्त्य भने आफै मृत सागरमा तैरिएपछि मात्र भयो ।
चारैतिर पहाड । त्यही पहाडको बीचमा फैलिएको छ, मृत सागर । वारी जोडर्न । पारी ईजरायल । घुसपैठ रोक्न डेड सीमा स्टिमरमा हतियार सहित पहरा दिदै गरेका जोर्डनका सुरक्षाकर्मीहरु । अवाञ्छित गतिबिधि गर्न पस्न खोज्नेहरुलाई रोक्न, शान्ति र सुरक्षा बनाईराख्न जोर्डनका सुरक्षाकर्मीहरु डेड सीमा कडा निगरानी गरिरहेका छन् ।
तर पर्यटकहरुलाई भने न सुरक्षाको चिन्ता छ । न त कुनै भय । निस्फ्रिकीसंग मृत सागरमा तैरिएर आनन्द लिईरहेका छन् । एक अर्कालाई माटोको लेप लगाईरहेका पर्यटकहरु । मृत सागरको त्यो माटोले नुनिलो पानीबाट छालाको सुरक्षा गर्ने विश्वास छ । शरीरभरी माटो । अनुहार पनि माटोले पोतेको । एकले अर्कालाई चिन्नै गाह्रो । शरीर भरी माटोको लेप लगाएर नुनिलो मृत सागरमा हाम फाल्नुको मज्जा बेग्लै हुन्छ ।

गहिरो छ । तर त्यहाँ हाम फाल्दा कोही डुब्दैन । जहाँ डुब्ने भय हुदैन । तैरिन नजाने पनि केही फरक पर्दैन । न त लाईफ ज्याकेटकै आवश्यकता पर्छ । डुब्न खोज्दा पनि नुनको बाक्लो तहले स्वतः माथि तैरिन्छ, मान्छे । पानीलाई तकिया बनाएर पत्रिका पढ्न सकिने । न बग्ने, न डुब्ने । न छालहरुले हुत्याउने । 
नदी तथा समुन्द्रमा डुबेर दिनहु थुप्रै मान्छेको मृत्यु भएको समाचार पढिरहेका मेरा लागि यो अनौठो दृष्य थियो ।जोर्डनसंग सीमा जोडिएको सिरिया आधा दशकदेखि जारी गृहयुद्धले तहसनहस भएको छ । द्धन्दले सिरियाभन्दा पहिले ध्वस्त भएको ईराक आईएसआईको जगजगीबाट उम्किन सकेको छैन । छिमेकी ईजरायलसंगको उसको सम्बन्ध उतारचढावपूर्ण नै छ । त्यसमाथि ईजरायलसंगको द्धन्दले विस्थापित भएका प्यालेष्टाईनीहरुको पनि आश्रयस्थल जोर्डन नै बनेको छ ।
चारैतिर द्धन्दको आगो छ । तर त्यही आगोको बीचमा जोर्डन भने शान्त, स्थिर र विकासमा फड्को मारिररहेको छ । बिज्ञान, प्रबिधि र प्रगतिबाट बिनास उन्मुख छन्, ईराक र सिरिया । तर त्यही बिज्ञान र प्रबिधिकै माध्यमबाट मध्यपूर्व भन्दा बाहिरसम्म फैलिएको जोडर्नको सुरक्षित र उत्कृष्ट पर्यटकीय गन्तव्यको सन्देश वर्षेनी ६० लाख भन्दा बढि पर्यटक भित्र्याउन सहयोगी भएको छ । जोर्डनमा भने पर्यटकको ताँती छ ।


अशान्त र असुरक्षित ती देशहरुको बीचमा जोर्डन कसरी शान्त र सुरक्षित रहन सकेको होला ? मृत सागरमा मान्छे कसरी तैरिएर अखवार पढिरहेको होला,भन्ने कौतुहलतासंगै यो अर्को जिज्ञासा मेरो मनमा थियो ।यस्तो लाग्छ, जोर्डन आगो बीचको फुल हो । आगोका रापहरु उसम्म पुग्न नपाउदै शितल भईसक्छन् । जोर्डनका नागरिक सहज छन् । सहयोगी छन् । तर कम बोल्छन । अरुको विषयमा चासो कम राख्नु, आफ्नो काममा व्यस्त रहनु उनीहरुको बिशेषता हो । यद्दपि उनीहरु खुला दिलका छन् । उद्दार र दयालु । शरणार्थीहरुका समस्याहरुलाई आफ्नै समस्या ठानेर उनीहरुलाई आश्रय दिनुले जोर्डनका नागरिकको उदारता प्रष्ट पार्छ । जोर्डनका नागरिकहरु नेपाललाई माउण्ट एभरेष्ट र बुद्धको देश चिन्छन । कार्यक्रममा मरियम अल्हवानियाले परिचयका क्रममा सोधिन,’तिमी कुन देशबाट ?’ जवाफमा मैले भने, ’माउण्ट एभरेष्टको देश नेपालबाट ।’
’ओ हो, माउण्ट एभरेष्टको देशबाट ?’, आश्चर्य मिश्रित उनको अर्को प्रश्न थियो, संसारको सबैभन्दा अग्लो माउण्ट एभरेष्टको देशको मान्छे, संसारकै होचो भूभाग टेक्दा कस्तो महशुस गर्दै हुनुहुन्छ ? ‘सगरमाथाको चुचुरामाथि टेक्न सकिन्छ कि सकिदैन, थाह छैन । मृत सागरमा भने टेक्न पाए, यो मेरा लागि खुशीको क्षण हो,’ मेरो जवाफ थियो ।  मध्यपूर्व अशान्त छ । अस्थीर छ । कहिल्यै पूर्ण रुपमा शान्त रहेन । देशभित्रै युद्ध, बिद्रोह र छिमेकीसंगको शत्रुतापूर्ण सम्बन्ध मध्यपूर्वका देशहरुको नमिठा अनुभव हुन् । त्यही मध्यपूर्वको एउटा देश जोडर्न गुल्जार छ । शान्त छ । राजधानी अम्मान त झनै अनौठो । न डर छ । न कसैको त्रास । सरकारले सुनिश्चित गरेको सुरक्षाका कारण मध्यरातमा पनि रात्री जीवनमा निस्फिक्रीसंग रमाईरहका हुन्छन, विदेशीहरु ।  र ढुक्कसंग सुत्छन, जोर्डनका नागरिक । छेउकै सिरियामा सुतिरहेको अवस्थामा रासायनिक हतियार र बमको आक्रमणबाट सयौ नागरिक एक चिहान भएका छन् । 
यस्तो लाग्छ, जोर्डन हिलो बीच फुलेको कमल हो । ईजरायलसंगको तनावपूर्ण सम्बन्ध बिर्सेर जोडर्न ईजरायल र प्यालेष्टाईनकै बिबाद समाधानको मध्यस्थता मात्र गरिरहेको छैन ।

विस्थापित प्यालेष्टाइनीहरुको सुरक्षित आश्रयस्थल पनि बनेको छ, जोर्डन । उसले गृहयुद्ध व्यहोरेको छैन, तर छिमेकी ईराक, सिरिया, लेवनानका युद्धका बाछिटाहरु उसको आगनभित्रै आईपुगेका छन् । युद्ध शरणार्थीहरुको सामना र तिनको व्यवस्थापन उसका लागि युद्ध भन्दा कम्ति चुनौतीपूर्ण भने छैन ।जोर्डनले विद्रोह र आतंकलाई सीमा भित्र प्रबेश गर्न दिएको छैन । तर शरणार्थीका लागि भने उसका ढोका सधै खुला छन् । शरणार्थीप्रति प्रति उदार जोर्डनले ज्यान जोगाउन देश छोडेका लाखौ सिरियन, ईराकी, प्यालेष्टाईनीलाई बिना हिच्किचाहट र शर्त आश्रय दिईरहेको छ । त्यसैले त संसारकै सबैभन्दा बढि शरणार्थीलाई आश्रय दिने देशका बनेको छ,जोर्डन ।
झण्डै ३० लाख शरणार्थी छन्, जोर्डनमा । एक तथ्यांक अनुसार जोर्डमा १२ लाख ६५ हजार सिरियन, ६ लाख ३६ हजार २ सय ७० ईजिप्सियन, ६लाख ३४ हजार १ सय ८२ प्यालेष्टाईन, १ लाख३० हजार ९ सय ११ ईराकी ३१ हजार १ सय ६३ यमनी, २२ हजार ७ सय लिवियन, र १ लाख ९७ हजार ३ सय ८५ अन्य बिभिन्न देशका शरणार्थी छन् । र त मध्यपूर्वका धेरै देशहरु द्धन्दले थिलथिलो भईसक्दा जोर्डन सस्तो र उत्कृष्ट उपचारका साथै ऐतिहासिक, धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यका लागि संसारलाई नै आकर्षण गरिरहेको छ । ट्याक्सी चालक युसुफ सुनाउदै थिए, शरणार्थीकै कारण हामी समस्यामा छौ । 

 

 

जोर्डन नदी एक सभ्यता
बाग्मती सभ्यता जस्तो जोडर्न नदी । कुनै बेला सफा र कञ्चन थियो । अहिले दुषित र पवित्रता गुमाएको । ईजरायल र जोर्डनको सीमानामा बग्ने जोर्डन नदीलाई दुबै देशले सिचाई र पानीको अभाव पूर्ति गर्न बाँध बाधेर पाईप मार्फत आआप्mनो देशमा बगाएकोले त्यही जोर्डन नदी मृत सागरसम्म आईपुग्दा कुलोमा परिणत भईसकेको हुन्छ । ईसाईहरुका लागि जोडर्न नदी पवित्र गंगा हो । जहाँ डुबुल्की मारेर ख्रिष्टियनहरु येशुलाई पुकारिरहेका हुन्छन् । स्नानपछि त्यही नदीको पानी बोतलमा भरेर फर्किन्छन, उनीहरु । आस्था र विश्वास भए पानीको रंग र अवस्थाले कुनै फरक पार्दैन, त्यसको उदाहरण हो, जोर्डन नदी ।  हो, मन र भावना नमिलेपछि एउटै आस्थाको केन्द्र पनि मध्यभागमा सीमा रेखा कोरेर बाडिने रहेछ, त्यसको उदाहरण पनि हो, जोर्डन नदी । त्यही नदीको वारी जोर्डनका सुरक्षाकर्मी तैनाथ छन् । पारी ईजरायलका । त्यो सानो नदीको मध्यभागमा सीमा छुट्याउने डोरीहरु छन् । पारी हेर्न मिल्ने । तर डोरी नाघेर पारी जान नमिल्ने । 

 

 

समृद्धिको आधार पर्यटन
जोडर्नको मुख्य आम्दानीको स्रोत हो, पर्यटन । र त्यही स्रोत उसको समृद्धिको आधार हो । देशकै अर्थतन्त्रमा पर्यटनले ठूलो योगदान पु¥याएको छ ।  प्राकृतिक, धार्मिक र ऐतिहासिक क्षेत्रहरु मात्र पर्यटन गन्तव्य हुदैनन । सुबिधा सम्पन्न अस्पताल, ती अस्पतालले दिने गुणस्तरीय उपचार पनि पर्यटनको मुख्य स्रोत बन्दो रहेछ । जस्तो कि ब्राजिलमा फुटवल पर्यटनको मुख्य आधार बनेको छ । जोर्डनमा प्राकृतिक,ऐतिहासिक र सुन्दर क्षेत्रहरुसंगै सुबिधा सम्पन्न अस्पतालहरु पनि बिदशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत बनेका छन् ।
जोर्डनको जनसंख्या करीव ९५ लाख छ । अम्मानको ४० लाख जनसंख्या छ । जुन जोर्डनको कुल जनसंख्याको ४२ प्रतिशत हिस्सा हो । करीव एक करोड जनसंख्या भएको जोर्डनमा वर्षभरीमा ६० लाख भन्दा बढि पर्यटक भित्रिने गरेका छन् । 
२०११ मा अम्मानमा भएका आतंकवादी आक्रमणपछि जोडर्नमा पर्यटकको आगमनलाई प्रभावित नगरेको होईन । तर विस्तारै त्यो घट्ना बिर्सिदै गएका छन्, उनीहरु । २००४ मा ५० लाख पर्यटक भित्रिएको जोर्डनले त्यो वर्ष १ दशमलव ३ बिलियन डलर आर्जन गरेको थियो । २००५ मा पर्यटकको बृद्धिसंगै उसको आम्दानी बढेर १ दशमलव ४ बिलियन डलर पुगेको थियो ।
मेडिकल टुरिज्ममा विश्वकै उत्कृष्ट मध्यकै एक देश जोर्डनमा २००८ मा २ लाख ५० हजार विदेशीले उपचार गरेका थिए । जसबाट उसले एक बिलियन डलर आम्दानी गरेको थियो । जोर्डनमा उपचारका लागि आउनेहरुमा ईराक, सिरिया, कुवेत, ईजरायल, प्यालेष्टाईन, लेवनान, लिविया लगायतका छिमेकी देशका मात्र नभएर युरोप, एशिया र अफ्रिकाका समेत लाखौ नागरिक छन् । जोर्डनमा २७ भन्दा बढि अत्याधुनिक अस्पताल छन् । 
५ नोभेम्बर २००५ मा जोर्डनका तीनठूला होटलमा भएका आतंकवादी आक्रमणमा ६० जनाको मृत्यु भएको थियो । एक सय १९ जना घाईते भएका  थिए । बेलाबेलामा सीमा पारीबाट पसेर हुने आतंकवादीका यस्ता आक्रमणले जोर्डनको पर्यटन र सुरक्षामा चुनौती थपेपनि उसले यस्ता अतिवादी र आतंकवादी गतिबिधिलाई निस्तेज गर्दै आएको छ । 

 

 

अनौठो अम्मान
अरव मुलुकहरुमा मदिरा बर्जित छ । रात्री जीवन छुट छैन । क्यासिनो र डान्स बारहरुको नाम लिनु अपराध मानिन्छ । मध्यपूर्वमा जोर्डन यस्तो देश हो, जहाँ मुस्लिमको बाहुल्यता त छ । तर जीवनशैली भने अमेरिकन छ । जहाँ कुनै चिजमा बन्देज छैन । अम्मानमा एक कार्यक्रममा सहभागी भएर राति होटल फर्किदै गर्दा ट्याक्सी चालक युसुफ सोध्दै थिए, डान्स बार जानुहुन्छ ? डान्सबार छन् र ? जिज्ञासा राख्न नपाउदै उनले एक सासमा जवाफ दिईहाले–जति भने पनि । 
रात छिप्पिदै गएपछि राजधानी अम्मान मदिरा र संगीतको तालमा व्यस्त हुदै जान्छ ।

मस्त हुदै जान्छ । डान्सबारहरुमा उन्मुक्त भएर नाचिरहेका पर्यटकहरु हेर्दा मुस्लिम देशमा भएको छनकसम्म हुदैन ।  मुस्लिम मुलुकमा नदिईएका अधिकार र स्वतन्त्रता जोर्डनका नागरिकले उपभोग गर्न पाएका छन् । अभिव्यक्ति स्वतन्त्रता । आफ्नो ढंगले जीवन यापन र व्यवसाय गर्न पाउने स्वतन्त्रता । तर त्यो स्वतन्त्रता राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सुरक्षा भन्दामाथि छैन । नागरिक आफै त्यो सीमाभित्र रहेर स्वतन्त्रता उपभोग गरिरहेका छन् । सीमाविहिन स्वतन्त्रता र अधिकार उनीहरुको माग कहिल्यै रहेन । मध्यपूर्वका मुलुकहरुमा अधिकार प्राप्तिका नाममा दन्केको बिद्रोहको आगोबाट त्यही कारण जोेर्डन अहिलेसम्म टाढा छ । 
जोर्डनमा राजसंस्था छ । जनता र राजसंस्थाका बीचमा कुनै पर्खाल छैन । राजसंस्था प्रति जोर्डनका नागरिकको अगाध आस्था छ । सम्मान छ । त्यो सम्मान बनाईराख्न राजपरिवारका सदस्यहरुले खेलेको बिबाद रहित भूमिका र जनतासंगको भावनात्मक लगाव र सम्बन्ध अत्यन्त महत्वपूर्ण मानिन्छ । राजसंस्था प्रति जोर्डनका जनताको अटुट भरोसा र विश्वास गज्जवको छ । जनतासंग राजसंस्थाको पहूँच सहज छ । राजा र राज परिवारका सदस्यहरु जनताको माझ काम गर्न र घुलमिल हुन अत्यन्तै मन पराउछन् । अम्मानका महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भईरहने राजा र राजपरिवारका सदस्यहरुसंग हात मिलाउन, कुरा गर्न, संगै उभिएर सेल्फी खिच्न जोर्डनका नागरिकलाई कुनै कठिनाई हुदैन ।


मध्यपूर्व र संसारका धेरै देशमा राजा र लामो समय शासन गरेका शासकहरु पछिल्लो एक दशकमा फालिएका छन् । जनतालाई केन्द्रमा राखेर खेलिरहेको भूमिकाका कारण जोर्डनमा राजसंस्था लोकप्रिय छ ।  राजसंस्थाको नेतृत्वदायी भूमिका कारण जोर्डन अहिलेसम्म शान्त र सुरक्षित रहन सकेको विश्वास गरिन्छ । राजा अब्दुल्लाह द्धितीयले १९९९ लिएको उदार आर्थिक नीति र कुशल नेतृत्वकै कारण मध्यपूर्वमा जोर्डन छोटो समयमै विकास भएको मानिन्छ ।  राजा अब्दुल्लाह द्धितीयको त्यही आर्थिक उदार नीतिपछि जोर्डनमा बैदेशिक लगानी भित्रिएको विश्वास गरिन्छ । 

पर्यटकीय गन्तव्यहरु
पेट्रा : साघुरा गुफा, पहाडभित्र बनाईएका ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण घरहरु पेट्राका आकर्षण हुन् । जोर्डन पुग्ने अधिकांश पर्यटक पेट्रा नपुगी र मृत सागरमा पौडी नखेली फिर्ता हुदैनन । जोर्डनमा सबैभन्दा बढि पर्यटकले भ्रमण गर्ने क्षेत्र नै पेट्रा हो । जसलाई रोज सिटी (गुलावी शहर) पनि भनिन्छ । 


डेड सी : डेड सी अर्थात मृत सागर । पेट्रापछि जोर्डनको आकर्षणको दोस्रो आकर्षणको केन्द्र हो । मृत सागरमा नुनको उच्च मात्रा भएका कारण माछा बाँच्दैनन । त्यहाँ कुनै जीव जीवित रहन सक्दैन । जलीय विरुवाहरु बाँच्न उम्रिन वा हुर्किन सक्दैन । कुनै पनि प्रकारका जीव जन्तु र विरुवा बाँच्न वा हुर्किन नसक्ने भएकै कारण त्यसलाई मृत सागर भनिएको छ । तर मृत सागरको त्यही किनारले जोर्डनको पर्यटनलाई जीवन दिएको छ । त्यही पर्यटनले जोर्डनको अर्थतन्त्रलाई पुनर्जीवन दिएको छ । मृत सागर बिना जोर्डनको पर्यटन अधुरो छ । 
मृत सागर मात्र होईन मृत सागरको माटो पनि आम्दानीको दरिलो स्रोत भएको छ । मृत सागरको माटो बहुउपयोगी छ । माटोबाट यतिधेरै क्रिम, सावुन र सामानहरु बनाईएका छन् कि त्यसका सामग्री नभएको कुनै पसल छैन । मृत सागरको माटोको सावुन । माटोकै क्रिम । माटोकै लेप । माटो प्रयोग गरेर बनाईएका सौन्दर्य सामग्रीहरु जोर्डनको चिनोका रुपमा पर्यटकहरुले किन्ने गरेका छन् । जुन अत्यन्त महंगो मूल्यमा बिक्री हुन्छन् । छाला सम्बन्धि रोगहरु निको गर्न र सौन्दर्यका सुरक्षाका लागि मृत सागरको माटोका क्रिम र सावुनहरु अत्यन्त उपयोगी हुने विश्वास गरिन्छ ।
मृत सागरको किनारमा फैलिएका सुबिधा सम्पन्न अनगिन्ति होटलहरु । प्राय पर्यटकले खचाखच भरिएका हुन्छन । बिहान मृत सागरमा तैरिन लाग्ने पर्यटकको भीड साँझपख जोर्डनको संगीतमा झुमिरहेको हुन्छ । नाचिरहेको हुन्छ । मृत न सागर नजिकै छ, जोर्डन नदी । र नजिकै छ, व्याप्टिज्म । धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छन । येशुले ज्ञान प्राप्त गरेको भूमिका रुपमा चिनिने व्याप्टिज्म क्रिश्चियन धर्मावलम्बीहरुका लागि पवित्र भूमि मानिन्छ ।


वादी रम : रातो मरभूमि । चन्द्रमा जस्तो उपत्यका । मनमोहक सूर्योदयको दृष्य । हेरिरहु लाग्ने लाग्ने वादी रम । गजवको छ, वादी रम । जति हेरे पनि नथाकिने । फिल्म छायाकंनका लागि वादी रम निकै रोजाईमा पर्छ ।मदावाको प्राचिन सभ्यताले पनि पर्यटकलाई लोभ्याउछन् । जेरस धार्मिक दृष्टिकोणले अत्यन्त महत्व राख्छ । माउण्ट नेवोबाट देखिने दृष्यावलोकन कम्ति मनमोहक छैन । त्यसमाथि त्यहाँ रहेको पुरातात्विक तथा धार्मिक संंग्राहलयले पनि पर्यटकलाई आकर्षण गर्छन । 
पर्यटकलागि जोर्डनका हरेक ठाउ उत्तिकै महत्वपूर्ण छन् । अम्मानपछि बढि जनसंख्या भएको ईरबीद,जारका,माफ्राक,बालका,मदावा,जेरसमा पनि उत्तिकै पर्यटकको ताँती लागेको हुन्छ ।
जोडर्नमा सुरक्षाको उच्च प्रबन्ध छ । होटल, मल, महत्वपूर्ण पर्यटकीय क्षेत्रमा कडा सुरक्षा जाँच छ । पर्यटकको सुरक्षाका लागि सुरक्षाकर्मीको छुट्टै प्रहरी युनिट राजमार्गमा तैनाथ गरिएको छ । होटल भित्र प्रबेश गर्दा पनि कडा चेकजाँच गरिन्छ । अम्मान गजवको छ । जोर्डनकै ४२ प्रतिशत ( ४० लाख) जनसंख्या ओगटेको अम्मान बाक्लो जनसंख्याका बीच पनि सफा छ । कही कतै फोहोर फालेको भेटिदैन । चिल्ला,फराकिला र सफा सडकहरुमा जाम देख्न पाईदैन । ट्राफिक व्यवस्थापन अत्यन्त चुस्त छ । राजधानीको मुल सडकमै ट्राफिक व्यवस्थापनका लागि भूमिगत सडक पनि छन् । ओभरहेड सडक पनि । फोहोरको उचित व्यवस्थापन नुहदा दुर्गन्धित बन्दै गएको राजधानी काठमाण्डौंका बासिन्दाले दिनहु हुने जामबाट भोग्नु परिरहेको समस्या समाधानका लागि अम्मानको फोहोर र जाम व्यवस्थापन नीति अनुकरणीय हुनसक्छ ।

जोर्डनबाट नेपालले सिक्नु पर्ने पाठ
जोर्डनका होटलहरुमा ठूलो संख्यामा नेपाली कामदार छन् । तर नेपालीहरु सोझै नेपालबाट जोर्डन जान सक्ने अवस्था छैन । जसका कारण उनीहरु भारत तथा तेस्रो मुलुकबाट जोर्डन पुग्ने गरेका छन् । नेपालमा जोर्डनको दुतावास छैन । भारतमा रहेको जोर्डनको दुतावासले नेपालीलाई भीसा दिदैन । जोर्डनको भीसाका लागि नेपालीहरुलाई अझै सहज हुन सकेको छैन ।
होटलमा रोजगारीका लागि आकर्षक मानिने जोर्डनमा अन्य देशका भन्दा सस्तो भएका कारण फिलिपिनीहरु ठूलो संख्यामा कार्यरत छन् । सोझै जोर्डन जान पाउने व्यवस्था भए दक्ष नेपाली कामदारले होटलमा राम्रो काम र आकर्षक पारिश्रमिक पाउने थिए ।  द्धन्दग्रस्त मध्यपूर्वमा पर्यटनलाई आधार बनाएर तिव्र गतिमा विकास भईरहेको जोर्डनबाट शान्त, सुरक्षित र प्राकृतिक रुपले अत्यन्त सुन्दर नेपालले पर्यटकलाई कसरी आकर्षण गर्न सकिन्छ भनेर पाठ सिके त्यो नेपालका लागि निकै उपयोगी हुनेछ । अर्को,जोर्डनसंग सोझो सम्पर्क र सम्बन्ध स्थापित गरेर झञ्झटिलो बाटो भएर त्यहाँ पुगिरहेका नेपाली कामदारलाई सोझै पठाउन सके एकातिर उनीहरु सजिलै त्यहाँ पुग्नेछन् । अर्को त्यहाँबाट रेमिट्यान्स सोझै नेपाल भित्रिनेछ । 

पानीको आपूर्ति कठिन चुनौती
जोर्डन विश्वमा पानीको सर्बाधिक अभाव भोगिरहेका देशहरुको सूचिमा १० औ देश भित्र पर्छ । तिव्र गतिमा भईरहेको जनसंख्या बृद्धि, त्यसमाथि लाखौका संख्यामा थपिएका शरणार्थीहरुलाई शुद्ध पानीको आपूर्ति गर्नु जोर्डनका लागि कम्ति चुनौतीपूर्ण छैन । यो चुनौतीलाई सामना गर्न उसले हरसंभव प्रयत्न गरिरहेको छ । तीनै प्रयत्नले पानीको अभाव र त्यसले सृजना हुने समस्याले बिकराल रुप लिन पाएको छैन ।
पानीको अभाव कम गर्न ३० वटाभन्दा बढि वेष्ट वाटर ट्रिटमेण्ट प्लान्ट स्थापना गरेको जोर्डनले डेड सी, जोर्डन रिभरमा १० भन्दा बढि बाँध बाधेर पानीलाई नहर मार्फत व्यवस्थापन गरेको छ । जोर्डनमा पानीको तीन मुख्य स्रोत छन् । भूमिगत जलस्रोत ६० प्रतिशत, सतही पानी, २८ र वेष्ट वाटरले १२ प्रतिशत हिस्सा ओगटेको छ । जसबाट उसले पानीको आपूर्ति गरिरहेको छ । 
पानीको चर्को अभाव छ । तर बाहिरबाट आएका नागरिकले पानीको अभाव महुशस गर्न पाउदैन । सुरक्षा जत्तिकै चुनौतीपूर्ण हो, पानीको आपूर्ति र त्यसको व्यवस्थापन । तर जोर्डनले सुरक्षामा जसरी सफलता पाएको छ । त्यसरी नै पानीको आपूर्तिमा पनि पाएको छ । नेपालका लागि यो सिक्नुपर्ने अर्को पाठ हो । अन्त्यमा, जोर्डनबाट फर्कदै गर्दा रोटरी ईन्टरनेशनलको कार्यक्रममा सहभागी भएको थिए । कार्यक्रममा भेटिएकी रुवाले सोधिन– पेट्रा गयौ ?  मैले भने, अह गईन त्यसो भए, तिमी कहाँ घुम्यौ त ? उनको अर्को प्रश्न थियो ।  अम्मान, डेड सी, व्याप्टिज्म, जेरस, मदावा, माउण्ट नेवो, मैले सुनाए । एक सासमा घुमेका ठाऊहरुको नाम सुनाएपछि उनले भनिन, सबै ठाऊ घुमेपनि पेट्रा घुमेनौ भने तिम्रो जोर्डनको यात्रा अधुरो हुन्छ । मौका मिले जोर्डन फेरि आउनेछु । त्यतिबेला पहिले पेट्रा घुम्नेछु,मैले उसलाई आश्वस्त पार्दै भने । जोर्डन फेरि जाने अवसर जुर्छ कि जुर्दैन । थाह छैन । तर उसका प्रश्नहरुबाट भने छुटकारा पाए ।

प्रतिकृया दिनुहोस
SITENAME

चुच्चेमारा छिचोल्दै रारा

दीर्घराज उपाध्याय, राराको बयान धेरैले गरेका छन् । तिनै मध्ये एक हुन्, कवि मविवि शाह । रारा कि अप्सरा शिर्षकको कविता मार्फत उनले गरेको चर्चा नै

SITENAME

पर्यटक सङ्ख्यामा बढोत्तरी हुन सकेन

पश्चिम टुडे, धनगढी ५ साउन ।  । प्रदेश नम्बर ७ मा पर्यटक भित्र्याउनका लागि सरकारी र निजी क्षेत्रबाट विभिन्न प्रयास हुँदै आए पनि विदेशी पर्यटक आगमन

SITENAME

सर्बोच्च अदालतको आदेशपछि महराको पर्यटन बोर्डमा पुनर्बहाली

धनगढी, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पदमुक्त गरेका नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महराका पक्षमा सर्बोच्च