मेलामा,

दुई रानी

शनिबार बैशाख २९, २०७५/ Saturday 05-12-18
Paschim Today

(अमेरिकावासी लेबनानी लेखक खलिल जिब्रान विश्वभरिका साहित्यिक पाठकहरुले अत्यन्त बढी सम्मान र माया गरिएका लेखकमध्ये पर्दछन् । उनलाई आज पनि लेबनानमा साहित्यिक वीर भनेर चिनिन्छ । उनका “द म्याड म्यान” (१९१८), “द फोररनर” (१९२०), “द प्रफेट” (१९२३), “दि अर्थ गड्स” (१०३१) जस्ता अङ्ग्रेजी र अरबी भाषाका बीसौँ कालजयी कृति छन् । उनका सूत्रात्मक कथाहरूको सङ्ग्रह “द वान्डरर” मरणोपरान्त प्रकाशित भयो । 
सम्पादक–अनुवादक दिनेश पौडेलबाट गरिएको “द वान्डरर”को नेपाली अनुवाद “यायावर” मञ्जरी पब्लिकेसन काठमाडौले हालै प्रकाशित गरेको छ । सोही अनूदित कृतिबाट दुई कथा पुस्तक अंशको रूपमा यहाँ प्रस्तुत गरेका छौ।)

 

मेलामा
एउटा गाउँबाट एकदमै सुन्दरी ठिटी मेला भर्न आई । उसको अनुहारमा कमलको कान्ति र गुलाफको लाली थियो । कपालमा सूर्यास्तको चमक र ओठमा उषाको लालिमा थियो । मेलामा सुन्दरताका पारखीको कमी हुँदैन । उसलाई मेलामा देख्नासाथ रसिक युवाहरू झुम्मिन थालिहाले । कोही ऊसँग नाच्न लालायित भए त कोही उसको सम्मानमा केक काट्न थाले । हरेक युवाको चाहना चाहिँ त्यसका स्याउ जस्ता गालामा चुम्बन गर्न पाए हुन्थ्यो भन्ने नै थियो । मेलाको रमझम न हो, यस्तो त भइहाल्छ नि !
तर त्यो केटी स्तब्ध भई । ऊ एकदम डराई । केटाहरूको नियत उसलाई ठीक लागेन । उनीहरूलाई उसले जथाभावी गाली गरी र सरापी । उसले एकदुईओटा ठिटाहरूलाई त गालामा झापड पनि हानी । अनि ऊ त्यहाँबाट भागी । बाटाभरि उसले सोची– ‘हैन, यी केटाहरूलाई के भएको ? मारिदिऊँ जस्तै लाग्छ बजियाहरूलाई ! कसरी सहन सकिन्छ र यस्तो ?’
एक वर्ष बित्यो । त्यस रूपवती ठिटीले मेला र त्यहाँ भेटिएका केटाहरूका बारेमा मनमा धेरै कुरा खेलाई । त्यो वर्ष पनि ऊ उही सुन्दरता बोकेर मेला भर्न आई । कमलको कान्ति र गुलाफको लालिमा अनुहारमा थियो । सूर्यास्तको चमक कपालमा थियो र उषाको लाली ओठमा । तर यसपल्ट ठिटाहरूले उसलाई देख्ता पनि नदेखे झँै गरे । दिनभरि उसलाई कसैले खोजेन, कसैले बोलाएन ।  साँझ पर्न लाग्यो । ऊ घरतर्फ लागी । बाटाभरि उसले मनमा कुरा खेलाई– ‘हैन, यी केटाहरूलाई के भएको ? मारिदिऊँ जस्तै लाग्छ बजियाहरूलाई ! कसरी सहन सकिन्छ र यस्तो ?’    


दुई रानी
सावाकिस देशमा एक राजा थिए । ती राजालाई सबैले माया गर्थे : आइमाई, केटाकेटी र पुरmषवर्ग सबैले । यतिमात्र कहाँ हो र ? जङ्गली जनावर पनि उनी भएठाउँ आएर ढोग्थे । तर सबै भन्थे– ‘बिचरा राजा !  तिनलाई आफ्नै पत्नीले चाहिँ माया गर्दिनन् । तिनी त उनलाई घृणा पो गर्छिन् उल्टै ।’
एक दिन छिमेकी देशकी रानी सावाकिस देशकी रानीलाई भेट गर्न भनी आइन् । भेटमा ती दुई गफगाफ गर्न थाले । केहीबेरमा गफको सिल्सिला पतिहरूका विषयतिर मोडियो । ‘तपाईं त मान्छे नै भाग्यमानी । हजुरहरूको दाम्पत्य सुख देख्ता मलाई ईष्र्या नै लाग्छ भन्या ! तपाईंहरूको विवाह भएको यतिका वर्ष बिते, तर पनि दुईका बीचमा मायाप्रेम उत्तिकै देखिन्छ । आफूलाई यता आफ्नो लोग्ने देख्यो कि रिस मात्र उठ्छ । ऊ मेरो मात्र होइन, त्यै भएर म सबैभन्दा दुःखी र अभागी

आइमाई ...।’
पाहुना आएकी रानीले छक्क परेर उनलाई हेरिरहिन् । उनले भनिन्– ‘हे सँगी ! सत्य के हो भने तिमी आफ्नो लोग्नेलाई माया गर्दै छ्यौ । तिमीमा उनी प्रति ममता छ । जसरी वसन्तमा बगैंचा हराभरा हुन्छ, हामी युवतीहरूको हृदयमा पनि प्रेम छताछुल्ल हुन्छ । हेर, साँचो बिचरा त म पो हुँ ! म र मेरा पति वास्तवमा अभागी हौं । केही उपाय नदेखेर हामी एकअर्कालाई जसोतसो चुपचाप झेलिरहेका छौं । हामीलाई चुपचाप देखेर मानिसहरू सुखी ठानिदिन्छन् ।’