Close This

एफएमबाटै नेकपा कार्यकर्ता पक्राउको चौतर्फी विरोध

सोमबार बैशाख ३१, २०७५/ Monday 05-14-18
Paschim Today

पश्चिम टुडे, धनगढी, बैशाख ३१ । कैलाली प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालाई लम्की स्थित रेडियो स्टेशनबाट पक्राउ गरेको छ । प्रहरीले रेडियो पश्चिम आवाजमा अन्तरवार्ता दिंदादिदैं दिलबहादुर साउँदलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरीले पक्राउ गरेको हो । बन्दको बारेमा जवाफदेही बनाउनका लागि पत्रकार युवराज न्यौपानेले साउँदसंग अन्तरवार्ता गर्दै थिए । उनलाई रेडियो स्टेशनबाटै प्रहरीले पक्राउ गरेको भन्दै पत्रकार न्यौपाने सहित लम्कीका पत्रकारले आपत्ति जनाएका छन् । 
    घटनाको विभिन्न संघ संगठनले विरोध गरेका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अको¥याब) प्रदेश समिति, प्रदेश नम्बर ७ ले अन्तर्वार्ता दिइरहेको व्यक्तिलाई एफएमभित्रै पसेर पक्राउ गर्नु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप रहेको ठहर गरेको छ । ‘प्रहरीको उक्त कार्यको अको¥याव कडा शब्दमा निन्दा गर्दछ ।’ संघका अध्यक्ष दीर्घराज उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र सञ्चारकर्मीहरुलाई निर्भयतापूर्वक काम गर्ने वातावरणको सुनिश्चितताका लागि सरकारसंग अको¥यावले माग गरेको छ ।  एफएम एवं सञ्चारकर्मीमाथि नै आम जनताको अविश्वास उत्पन्न गराउने तथा जोखिम निम्त्याउने यस्ता क्रियाकलाप नगर्न नगराउन सरकार र सुरक्षा निकायसंग आग्रह गरिएको विज्ञप्तीमा उल्लेख छ । 
यसैगरी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ७, नेपाल पत्रकार महासंघ कैलालीले पनि छुट्टाछुट्टै विज्ञप्ती प्रकाशित गरेर घटनाको विरोध गरेका छन् । अन्तरवार्ता दिने व्यक्तिलाई पक्राउ गर्नका लागि प्रहरी प्रशासन तानाशाही प्रवृतिमा एफएमभित्रै पस्नु र पक्राउ गर्नु निन्दनीय रहेको विज्ञप्तीमा उल्लेख छ । 
यस्तै, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पनि घटना लगत्तै विज्ञप्ती प्रकाशित गरेर विरोध जनाएको छ । फोनिज अध्यक्ष लखन चौधरी र सचिव राम दहितद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाले सिङ्गो प्रेस जगतमाथि प्रहार भएको उल्लेख गरिएको छ । विज्ञप्तीमार्फत घटनाप्रति खेद प्रकट गरिएको छ । यसैबीच, नेपाल कम्युनिष्ट पार्टीले आइतवार आह्वान गरेको बन्दले कैलालीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण शैक्षिक संस्था, यातायात सेवा, बजार सञ्चालन हुन नसकेपछि जनजीवन कष्टकर बनेको थियो । बन्दको क्रममा मोटरसाइकल, विद्युतीय रिक्सा भने सञ्चालन भएको थियो ।