Close This

पीडित पक्षलाई पाँच लाख क्षतिपूर्ति दिने सहमति

सोमबार बैशाख ३१, २०७५/ Monday 05-14-18
Paschim Today

पश्चिम टुडे, धनगढी, बैशाख ३१ ।धनगढीको नवजीवन अस्पतालमा सल्यक्रिया गर्दा एक गर्भवती महिलाको ज्यान गएपछि पीडित परिवारलाई पाँच लाख रुपैया क्षतिपूर्ति दिने सहमति भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–४ का शान्ति कठायतको शनिवार ज्यान गएको थियो । सेती अञ्चल अस्पतालमा उपचारका लागि ल्याइएको उनलाई अस्पतालले जटिलभन्दै नेपालगञ्ज लैजान सल्लाह दिए पनि शान्तिलाई नवजीवन अस्पतालमा लगिएको थियो । गर्भमा रहेको बच्चा असामान्य अवस्थामा रहेकोले खतरा हुन सक्ने भन्दै उनलाई अन्यत्र लैजान सल्लाह दिइएको थियो । 
    नवजीवन अस्पतालका डा. दयाराम केसीले सल्यक्रिया गरेका थिए । सल्यक्रिया गर्दा स्वास्थ्य अवस्था जटिल बनेको शान्तिको सेती अञ्चल अस्पतालको आइसीयुमा राखेर उपचार गर्ने क्रममा ज्यान गएको जनाइएको छ ।  विरामीको ज्यान गएपछि मृतकका आफन्तले डाक्टरको लापरवाहीको भएको भन्दै नवजीवन अस्पताल घेराउ गरेका थिए । अस्पतालले पाँच लाख रुपैया क्षतिपूर्ति दिने, परिवारको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने र पाँच वर्षीय छोरी दृष्टिले पछि नर्सिङ पढ्न चाहेमा नवजीवनले निःशुल्क पढ्न पाउने व्यवस्था मिलाउने सहमति भएको मृतकका श्रीमान धनबहादुर कठायतले बताए । 
    अस्पताल प्रशासनले भने शान्तीको उपचारमा कुनै लापरवाही नभएको बताएको छ । राम्रो गर्दा गर्दै पनि विरामीको जीवन बचाउन नसकेको सञ्चालक समेत रहेका डा. विदुर ढकालले बताए ।