Close This

बन मन्त्री भट्टका दर्जनबढि गुनासा (भिडियो सहित)

भ्रष्टाचारले देश खायो—मन्त्री भट्ट

सोमबार बैशाख ३१, २०७५/ Monday 05-14-18
Paschim Today

कमल सावद, धनगढी, ३१ बैशाख । प्रदेश नम्बर सातको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले भ्रष्टाचारै भ्रष्टाचारले देशको खाएको बताएकी छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी संघ प्रदेश नम्बर सातको प्रथम अधिबेशन समारोहको उद्घाटन गर्दै मन्त्री भट्टले देश विकासको बाधक भ्रष्टाचार भएको बताईन । जताततै भ्रष्टाचार छ । भ्रष्टाचारै भ्रष्टाचारले यो देश खायो, मन्त्री भट्टले भ्रष्टाचार गर्नेलाई नछाड्ने चेतावनी दिदै भनिन, भ्रष्टाचार गर्नेको अव खैरियत छैन ।
ठूला तस्करले देश बन्न नदिएको बताउदै मन्त्री भट्टले व्यवसायी र भ्रष्ट कर्मचारीका कारण पनि देश बन्न नसकेको आरोप लगाईन । देशमा काठ छ । तर मलेसियाबाट काठ भारतबाट टिनका पाता ल्याएर ठूला तस्करहरुले यो देशको काठ सडाईरहेका छन् । र मौका परे पुरै काठ उनीहरुले नै उठाउछन्, मन्त्री भट्टले भनिन, आफ्नो देशमा भएको काठ सडाउनेहरु यही देशका ठूला तस्कर र भ्रष्ट हुन् ।
मैले सात नम्बर प्रदेशको विकास र समृद्धि गर्ने सोच बनाएकी छु, तर मलाई बन सम्बन्धि मुद्दाका थुनुवाहरु राख्ने कारागार छेउमा राखिएको छ । दिनहुँ हत्कडी लगाएका मान्छे हेर्नुपर्छ, उनले अर्को गुनासो गरिन, जंगलमा काठ छ । तर जनतालाई प्रयोग गर्न पाउदैनन । लंकामा सुन छ । कान मेरो बुच्चै जस्तै भयो यो त ।
कैलालीमा एक अर्बभन्दा बढिको काठ जंगलमा सडिरहेको बताउदै उनले त्यो काठ सड्न नदिने बताईन । उनको आग्रह थियो,पत्रकारहरुले यो कुरा पनि बाहिर ल्याईदिनुपर्छ । 
मेरो समस्या कहाँ राखु । मन्त्री परिषदको कुरा यहाँ के गरु ? कसैले बुझ्दैनन हाम्रा कुरा । तीन महिना भयो मन्त्री भएको । जति बुझ्छु । त्यति कठि भयो । झन बुझ्यो झन कठिन । झन झन बुझ्यो झनझन कठिन, मन्त्री भट्टले भनिन, बुझ्दा बुझ्दै तीन महिना भयो । मन्त्री भएको केही दिनमा मलाई यही होटल(रुवस)मा यहाँहरुले स्वागत गर्नुभएको थियो, तीन महिनापछि आउदा पनि मैले केही बुझेकी छैन । तीन महिनामा मैले केही काम गर्न पाएन, मन्त्री परिषदको अवस्था पनि त्यस्तै छ, मन्त्री भट्टले भनिन, कसले काम गर्ने । काम गर्न नदिन कसको षडयन्त्र छ, त्यसको खोजी गर्दैछु ।
झण्डै एक घण्टा लामो भाषणका क्रममा मन्त्री भट्टले गुनासो भ्रष्टहरुका विषयमा मात्र गरिनन, आफ्नै मन्त्रालयका कर्मचारीका विषयमा पनि गरिन ।  मेरो मन्त्रालयमा २१ जना कर्मचारी छन् । म तीन जनालाई मात्र चिन्छु । अरु कहाँ जान्छन् । के काम गर्छन । मलाई थाह छैन, उनको थप गुनासो थियो, दुई जना स्थायी कार्यालय सहयोगी छन् । ती स्थायी कार्यालय सहयोगीहरु करारमा राखेका सहयोगीले राखेको बोतलको पानी खान्छन । र साँझ पाँच बजे घर लाग्छन् । तर मन्त्रालयको भित्रको सरसफाई र काम भने गर्दैनन । एकदिन मैले आफै सफा गर्न झाडु उठाएपछि उनीहरुले फोहोर सफा गरे । उनले आफूले ती कर्मचारीहरुको जागीर खान नचाहेकोले उनीहरु हालसम्म जोगिएको बताईन ।
जता हे¥यो, त्यतै बेथिति छ । भ्रष्टाचार छ, समस्यै समस्या छन्,उनले सहभागीहरुलाई सान्त्वना दिदै भनिन, तर तपाईहरु चाही आशावादी हुनुपर्छ । म पनि आशावादी छु ।
मेरो बस्ने आवासका १० वटा झ्याल छन् । तीन वटा बाहेक अन्य झ्यालका ढोका लाग्दैनन । शिसा लाग्दैन, पत्रकारहरुलाई आफ्ना गुनासा सुनिदिन आग्रह गर्दै मन्त्री भट्टले भनिन,मन्त्री बस्ने कोठा यस्तो छ । कसले सुनिदिने हाम्रा समस्या ? कसले बुझिदिने हाम्रा गुनासा । यो कुरा पत्रकारहरुले बाहिर ल्याईदिनुहोला ।
उनले बैज्ञानिक वन व्यवस्थापनका नाममा भ्रष्टाचार भईरहेको गुनासो गरिन । तर संघीय सरकारका बनमन्त्री आएर धनगढीमा भाषण गर्नुभएछ, बैज्ञानिक वन व्यवस्थापन राम्रो छ भनेर, उहाँलाई सडेका काठ पनि देखाउनु पथ्र्यो, राम्रा काठ देखाएकोले बन मन्त्रीले पनि नबुझेरै बैज्ञानिक वन व्यवस्थापन राम्रो भन्नुभयो, मन्त्री भट्टको भनाई थियो, बैज्ञानिक बन व्यवस्थापन राम्रो भयो भन्ने धेरै कम छन् । र भ्रष्टाचार भयो भन्ने धेरै छन् । दुई महिना बैज्ञानिक वन व्यवस्थापन रोकेर हेर्नुपर्छ । के कस्तो छ, आफै थाह हुन्छ ।
कैलालीबाट निशुल्क काठ लगेर टिम्बर कर्पोरेशनले पशुपती आर्यघाटमा सर्बसाधारणलाई ९ रुपैया किलो बेचिरहेको मन्त्री भट्टको आरोप थियो । उनले भनिन, यहाँबाट निशुल्क काठ लगेर पशुपतीमा बेच्न कस्ले दियो, त्यहाँपनि भ्रष्टाचार भएको छ ।
जनमैत्री र उद्योग मैत्री नीति कानुन छैन । तीन महिनामा कानुन ल्याउदैछौ, मन्त्री भट्टले भनिन,हामीलाई अहिलेसम्म पुराना कानुनमा बसेर नयाँ काम गर्न लगाईयो । पुराना कानुनमा बसेर नयाँ काम कसरी गर्न सकिन्छ ।
म देख्नमा सरल छु । तर त्यति नै कडा पनि छु । मलाई महिला भएकै कारण कसैले कमजोर नठान्नु । म २० बर्षभन्दा बढि समय राजनीति गरेर, संघर्षपूर्ण जीवनबिताएर यहाँसम्म आई पुगेकी हुँ, मलाई सबै कुरा थाह छ, कहाँ बदमासी भईरहेको छ, बदमासी गर्ने कसैलाई छाडदिन, मन्त्री भट्टले भनिन, कसैको जागीर नजाओस भनेर अहिलेसम्म चुप लागेकी हुँ । गल्ती गर्नेलाई अव छाड्दैन । ५० रुपैयाको काम ५ रुपैया भ्रष्टाचार गरेको भए विकास हुन्थ्यो, यहाँ त ५० रुपैयाको काममा १०० रुपैया भ्रष्टाचार हुन्छ, मन्त्री भट्टको प्रश्न थियो, अनि कसरी बन्छ देश ?
उनले आर्थिक विकास र समृद्धिका लागि सबै पार्टीसंग मिलेर काम गर्ने बताईन । 
मैले सबै पार्टीका नेता र सांसदसंग मिलेर काम गरिरहेकी छु । प्रदेश सरकार एक्लैले विकास र समृद्धि गर्न सक्दैन, उनले भनिन, हामी आग्रह पूर्बाग्रह नराखेर सबैसंग सहकार्य गरेर यो प्रदेशको विकास र समृद्धि गर्नेछौ । उनले पञ्चेश्वर लगायतका ठूला आयोजना बन्न नसकेर देशको विकास हुन नसकेको स्मरण मात्र गरिनन, प्रधानमन्त्री केपी ओलीले रेल चलाउने गरेको प्रतिबद्धता पनि पुरा गर्नुपर्ने अभिभारा पुरा गर्नुपर्ने दायित्व बोकेको बताईन ।