Close This

विद्यालय बन्द गरेर यार्सा टिप्न लेकतिर

मंगलबार जेठ १, २०७५/ Tuesday 05-15-18
Paschim Today

सुन्दरसिंह धामी, दार्चुला, जेठ १ ।  दार्चुलाका ३० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द गरिएका छन् । उच्च हिमाली भेगमा पर्ने सम्पूर्ण विद्यालयका शिक्षक, विद्यार्थी यार्सा टिप्न लेकतिर लागेपछि असारसम्मका लागि विद्यालय बन्द गरिएका हुन । जिल्लाको उत्तरी भेगमा पर्ने व्यास, छाङरु, राप्ला, घुसा, खण्डेश्वरी, लगायतका सबै ठाउँका विद्यालयहरु बन्द भएका छन् । चैतको अन्तिम साता वार्षिक परीक्षा सकिएदेखि नै विद्यालय बन्द भएको छाङरुका स्थानीयको भनाइ छ । 
   दार्चुलामा बसोबास गर्ने व्यासी सौका समुदायको मुख्य आम्दानीको स्रोत नै यार्सा भएकाले उनीहरु चैतको अन्तिम सातादेखि आवश्यक सामान बोकेर लेकतिर लागेका हुन । 
    यस क्षेत्रका बासिन्दाको आय स्रोतको प्रमुख माध्यम यार्सा गुम्बा रहेकाले पनि यो मौसममा ९÷१० वर्षका बालकदेखि ६५ वर्षका बृद्धसम्म यार्सा टिप्न लेकतिर गएका छन् । बृद्ध बृद्धाले भन्दा पनि स–साना नानी बाबुहरुले यार्सा बढी पाउने भएकाले् उनीहरुलाई विद्यालय जान बञ्चित गराएर लेकतिर लग्ने गरेको पाईन्छ । 
विद्यार्थीका आमा बुवा विद्यालयमै आएर ३ महिनाका लागि बिदा मागेर जान्छन्  । शिक्षकले बिदा दिएन भने रिसाएर भए पनि बालबालिकाहरु लग्ने गरेको श्री सिद्ध मावि सिनाका शिक्षक पदमराज भट्टले बताए । नले दुर्गम हिमाली क्षेत्रका विद्यालय वैशाखदेखि असारसम्मका लागि यार्सा समय र हिँउदमा मंसिर देखि पुससम्म जाडोका कारण विद्यालय बन्द हुने गरेका छन् । यसै गरी दसैँ तिहार र अन्य बिदामा समेत विद्यालय बन्द हुने भएकाले यी ठाउँहरुमा शिक्षाको गुणस्तर निकै न्यून रहेको भट्टले बताए । महाकाली नदीको किनारदेखि झण्डै ८ हजार मिटर भन्दा माथि उचाईमा पाईने यार्सा गुम्बा टिप्न अहिले दार्चुला जिल्लामा बाजुरा, बैतडी, डोटी, कञ्चनपुर र अछामबाट मानिसहरु आउने क्रम जारी रहेको अपी नाम्पा व्यवस्थापन समितिका अध्यक्ष चक्रसिंह ह्याकीले बताए ।