Close This

कैलालीमा भीषण आँधीबेहरी (फोटो फिचर)

मंगलबार जेठ १, २०७५/ Tuesday 05-15-18
Paschim Today

जेठ १, धनगढी । कैलालीमा चलेको भीषण आँधीबेहरी का कारण धनमालको ठूलो क्षति पुगेको छ । झन्डै आधा घन्टासम्म चलेको आँधीबेहरीका कारण कच्ची घरको धुरी (बल्ली) खस्दा त्यसमा च्यापिएर गौरीगङ्गा नगरपालिकाकी ५६ वर्षीया चारुमति बुढाको मृत्यु भएको हो । यसैगरी आँधीबेहरीका कारण कैलारी गाउँपालिका हसुलियाकी २१ वर्षीया बेदनिया चौधरी र ४० वर्षीया शोभा चौधरी घाइते भएकी छिन् ।

 घाइतेलाई सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले दिएको क्षतिको विवरणअनुसार गौरीगंगा नगरपालिकाको एक घरगोठमा भएको आगलागीमा जलेर एक चौपाया र मसुरियामा अर्को एक चौपाया मरेको छ । आँधीबेहरीका कारण चुरेपहाडी क्षेत्र सुगरखालमा २१ कच्ची घर र चार विद्यालयको छाना उडाएको छ । यस्तै मालाखेतीमा २० घर र तीन विद्यालय, टीकापुरमा आठ, मोहन्यालमा १००, मसुरियामा १३, वर्दगोरिया र भजनीमा एक-एक घर तथा एक विद्यालय, धनगढीमा ३८ घर र एक विद्यालयको छाना उडाइ क्षति पु¥याएको छ । यस्तै धनगढीको विशालनगर र मोहनपुर क्षेत्रका तीन वटा कुखुरा फार्मका सात हजारभन्दा बढी कुखुराका चल्ला र ठूलो संंख्याका ब्रोइलर कुखुरा  नष्ट भएका छन् ।

 आँधीले रुख ढलाएपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय परिसरका फलामे बारमा क्षति पु¥याएको छ । वर्षासहितको आँधीबेहरीले धनगढीमा रहेको धनगढी एफएम र जनआवाजको टावर ढलेर क्षति पुगेपछि एफएमको प्रशारण बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण धनगढीका अनुसार, आँधीबेहरीले धनगढी र आसपासका क्षेत्रमा झण्डै ४० लाख मूल्य बराबरका १८० वटा बिजुलीका खम्बा र तार चुँडिएर क्षति पुगेको जानकारी दिनुभयो । विद्युत्मा पुगेको क्षतिसँगै जिल्लामा गए रातिदेखि नै विद्युत आपूर्ति बन्द भएको छ ।