Close This

बन्दुकधारीद्वारा नाइजेरियामा १४ जनाको हत्या

मंगलबार जेठ १, २०७५/ Tuesday 05-15-18
Paschim Today

लागोस, नाइजेरिया, १ जेठ (रासस-एएफपी) : नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा लुटेराको एक सशस्त्र समूहले सोमबार राति गरेको आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण मारिएका छन् ।  उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले सोमबार बताएका छन् । 

लुटेराको समूहले मारू ग्रामीण क्षेत्रको दानमनी र काबारो समुदायमा उक्त आतङ्ककारी हमला गरी गाउँलेहरूको सम्पत्तिसमेत लुटेर लगेको बताइएको छ । स्थानीय प्रहरी सालिसु दाङगुल्बीले दिएको जानकारीअनुसार लुटेराको सशस्त्र समूह गाउँमा पसेर अन्धाधुन्ध गोली चलाउन थालेपछि कतिपय गाउँलेहरू ज्यान जोगाउन भागेका थिए । “आक्रमण भएको स्थानमा सेनासहित प्रहरी पुगेको र अहिले घटनास्थल सामान्य अवस्थामा आएको छ”, गुसाउमा सोमबार बिहान गरिएको पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता मोहम्मद सेहेहुले भन्नुभयो । सो क्षेत्रमा यसअघि पनि गत महिना यस्तै हतियारधारीको समूहले गरेको आक्रमणमा परी ३० जना निर्दोष गाउँले मारिएको पनि प्रहरी प्रमुखले जानकारी दिनुभयो ।