Close This

आँधीले विद्युतमा करिब ४० लाखको नोक्सान

बुधबार जेठ २, २०७५/ Wednesday 05-16-18
Paschim Today

अविनास चौधरी, पश्चिम टुडे, धनगढी । आइतवारराति चलेको आँधी बेहरीले कैलालीको विभिन्न स्थानमा विद्युत पोल भाँच्चिदा करिब ४० लाख रुपिया बराबरको क्षति भएको छ । जिल्लाको विभिन्न स्थानमा १८० वटा विद्युत पोल भाँच्चिएको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण शाखाले जानकारी दिएको छ ।  २० लाख रुपिया बराबरको पोल भाँच्चिएको र पोल ढलेका ठाउँमा त्यति नै रकम बराबरको तार क्षति भएको धनगढी वितरण शाखा प्रमुख धीरेन्द्रकुमार यादवले बताए । ‘हावाहुरीले जिल्लाभरीको विभिन्न स्थानमा विद्युत पोल भाँच्चिएको छ’, उनले भने–‘पोल र तार दुवै गरेर करिब ४० लाख रुपिया बराबरको क्षति भएको छ ।’ भीषण हावाहुरीले ठाउँ–ठाउँमा विद्युत पोल भाँच्चिएपछि धनगढी वितरण शाखा अन्तर्गत कैलालीको सबै क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको थियो । अवरुद्ध विद्युत सेवा अझै पनि सम्पूर्ण ठाउँमा सुचारु हुन सकेको छैन ।धेरै ठाउँमा विद्युत पोल र तार भाँच्चिए पनि दिनभरी मर्मत गरी धनगढीको बजार क्षेत्रमा सोमवार बेलुकाबाट विद्युत सुचारु गरिएको थियो । धनगढीको भित्री र ग्रामीण क्षेत्रमा भने अझै पनि विद्युत अवरुद्ध छ । यसैगरी, राजपुर शाखा लाइनको चटकपुरसम्म विद्युत सुचारु भएको छ । 

 अत्तरिया बजार क्षेत्रमा विद्युत सुचारु भइसकेको जनाउँदै प्रमुख यादवले ग्रामीण क्षेत्रमा भने अझै पनि विद्युत अवरुद्ध रहेको जानकारी दिए । धनगढीको जुगेडादेखि कैलारी गाउँपालिकाको रतनपुरसम्म विद्युत अवरुद्ध छ । यसैगरी, पहलमानपुर क्षेत्रमा पनि  विद्युत सुचारु हुन सकेको छैन । 
    जुगेडामा भाँच्चिएको विद्युत पोल र चुँडिएको तार मर्मतपछि मात्रै रतनपुरसम्म विद्युत सुचारु हुने यादवले जानकारी दिए । यसैगरी, पहलमानपुरमा धेरै क्षति भएकाले त्यहाँ विद्युत सुचारु गर्न अझै केहि दिन लाग्ने उनले बताए । ‘पहलमानपुरमा १४÷१५ वटा पोल भाँच्चिएको छ’, उनले भने–‘नयाँ पोल राख्न केहि दिन लाग्न सक्छ ।’
    धनगढी वितरण शाखाबाट धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका, गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकामा विद्युत सेवा प्रवाह हुने गरेको छ । यसैगरी, मोहन्याल गाउँपालिकाको केहि भू–भागमा पनि धनगढी वितरणबाटै विद्युत पुगेको छ । आँधी बेहरीले यी सबै क्षेत्र अन्धकार बनेको थियो । 
    मुख्य लाइनपछि शाखा लाइन मर्मत गर्दै विद्युत सुचारु गर्दै जाने प्रमुख यादवले जनाउनु भएको छ । विद्युत अवरुद्ध भएको सबै ठाउँमा सुचारुका लागि एक हप्तासम्म लाग्न सक्ने उनले बताए । ‘अहिले मुख्य लाइनको विद्युत सुचारु गर्ने गरी काम भइरहेको छ’, प्रमुख यादवले भने–‘सबै ठाउँमा विद्युत सुचारु गर्न एक हप्तासम्म लाग्न सक्छ ।’
    आइतवाररातिदेखि नै विद्युत अवरुद्ध भएपछि जनजीवन प्रभावित भएको छ । गर्मीका बेला विद्युत नहुँदा स्थानीय समस्यामा परेका छन् । भने, अँध्यारोमा रात काट्न बाध्य छन् । धनगढी वितरण शाखा अन्तर्गतमात्रै ७० हजारभन्दा बढी ग्राहक रहेको जनाइएको छ । आइतवारराति मध्यरातसम्म चलेको भीषण आँधी बेहरीले धनगढी, फूलवारी, अत्तरिया र पहलमानपुर क्षेत्रमा सबैभन्दा बढी क्षति गरेको थियो ।  

यसैगरी, हावाहुरीका कारण घरको धुरी खस्दा एक जनाको मृत्यु भएको थियो । ईटा लागेर दुई जना घाईते भएका थिए । भीषण हावाहुरीले तीन घरमा आगलागी, एउटा प्रहरी कार्यालयमा रुख ढलेर भौतिक क्षति भएको थियो । तीन चौपायाको ज्यान गएको छ । 
    यसैगरी, भीषण हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा ५०७ घरको छाना उडाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ । यस्तै, १० वटा विद्यालयको छाना उडाएको छ ।  हावाहुरीबाट चारवटा कुखुरा फर्ममा चल्ला र कुखुरा मरेका छन् । एउटा फर्ममा भर्खरै हालेको ६ हजार चल्ला र तीन वटा फर्ममा गरेर ८५० कुखुरा मरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । 
    भीषण हावाहुरीले जिल्लाभरी एक मानवीय सहित भौतिक संरचना, कृषि लगायतमा ठूलो क्षति गरेको छ । क्षतिको पूर्ण विवरण अझै पनि आउन नसकेको जनाइएको छ । प्रहरीले मुचुल्का उठाइरहेको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज भट्टले मुचुल्का आएपछिमात्रै क्षति यकिन हुने जनाए । हावाहारीबाट लाखौं रुपैया बराबरको क्षति भएको अनुमान गरिएको छ ।