Close This

मुख्यमन्त्रीद्वारा प्रदेशका लागि अधिकार माग

बुधबार जेठ २, २०७५/ Wednesday 05-16-18
Paschim Today

पश्चिम टुडे, काठमाण्डौ । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले खानेपानीमन्त्री बिना मगरलाई भेटेर प्रदेशका लागि अधिकार माग गरेका छन् । उनले मंगलवार काठमाण्ठौंमा केन्द्रीय सरकारकामन्त्री मगरलाई भेटेर संविधानमा लेखिएका अधिकारहरु प्रदेश सरकारमा तत्काल पठाउन माग गरेका हुन । मुख्यमन्त्री भट्टले अधिकार प्रदेशमा पठाउन ढिलाइ भइरहेको बताए । ‘प्रदेश सरकार बनेपछि जनताको आकर्षण प्रदेशमै छ, त्यसलाई २–३ महिनामै व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसके प्रदेश सरकारप्रति जनतामा वितृष्णा जाग्ने छ र जनता प्रदेश सरकारको विरोधमा उत्रने छन्,’ मुख्यमन्त्री भट्टले भने । प्रधानमन्त्री र संघका मन्त्रीहरूसँग भेटवार्ता गर्न काठमाण्डौं गएका मुख्यमन्त्री भट्टले मन्त्री मगरलाई भेटेर ७ नम्बर प्रदेशको समग्र विकासका विषयमा समेत छलफल गरेका थिए । 
विगतका सरकारको प्राथमिकतामा पर्न नसकेको सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेशको तीव्र्र विकासका लागि संघीय सरकारमामन्त्री मगरले पहल गर्नुपर्ने मुख्यमन्त्री भट्टले बताए । ‘संघ र प्रदेश सरकार दुबैलाई मिलाउन सके मात्रै प्रदेशको विकास गर्न सकिन्छ । त्यसैले केन्द्र सरकारमा मन्त्री ज्यूले महत्वपूर्ण भूमिका खेल्नुपर्र्ने आवश्यकता छ,’ भेटमा उनले भने । भेटवार्तामा ७ नम्बर प्रदेशका सीमा समस्या समाधान, सडक सञ्जाल, खानेपानी, शिक्षा, स्वास्थ्य पूर्वाधार लगायतका विषयमा समेत छलफल भएको छ ।
संघीय सरकारले अधिकार बाँडबाँडबारे स्पष्ट कानून बनाउन नसक्दा कर्मचारी परिचालन र बजेट विनियोजनमा समस्या भइरहेको मुख्यमन्त्री भट्टले बताए । ‘कर्मचारी कानूनी रुपमै प्रदेश मातहत नआउँदा काम गर्दैनन्,’ उनले भने, ‘बजेट विनियोजन र कार्यक्रम निर्माणमा समेत अलमल देखिएको छ ।’ 
संघमा रहने तथा प्रदेश र स्थानीय तहमा जाने बजेट र कार्यक्रमबारे छलफल भइरहेकाले यो विषय चाँडै टुंगिने मन्त्री मगरले बताइन् । ७ नम्बर प्रदेशबाटै संघीय सरकारमा प्रतिनिधित्व गरेकाले प्रदेशको विकासका लागि आवश्यक भूमिका सशक्त रुपमा निर्वाह गर्ने उनको भनाइ थियो । 
काठमाडौंमा रहँदा संघीयताको प्रभावकारी कार्र्यान्वयनका लागि पहल गर्न माग गर्दै प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेट्ने कार्यक्रम रहेको मुख्यमन्त्री भट्टले बताए । अधिकार स्पष्ट नहुँदा काम गर्न असहज भइरहेको मुख्यमन्त्री भट्टको गुनासो छ ।