Close This

अहिले नबोले कहिले बोल्ने  भाग-३ 

सन्दर्भः कैलाली उद्योग वाणिज्य संघको निर्बाचन

बिहीबार जेठ ३, २०७५/ Thursday 05-17-18
Paschim Today

दीर्घराज उपाध्याय । 
एक जना व्यक्ति हरेक दिन बिहान आफ्नो घरको माथिल्लो तलाको पूर्व पट्टिको झ्यालबाट पानी चढाउथे ।  हरेक दिन त्यसरी पानी चढाईरहेको देखेपछि एकजना छिमेकीले सोधेछन्-किन माथिल्लो तलाबाट त्यसरी पानी चढाउनुहुन्छ ? प्रत्युत्तरमा उनले जवाफ दिए -बाजे र बुवाले यसैगरी पानी चढाउनुहुन्थ्यो । उहाँको स्वर्गे भएपछि मैले पनि त्यसै गरिरहेको छु ।
बुवाले माथिल्लो तलाको पूर्वतिरकै झ्यालबाट पानी चढाउने कारण भने उनलाई थाह थिएन । न उनले कारण सोधीखोजी गरे । बुवाले जे गर्थे । त्यही कुरा गर्नुलाई उनले धर्म ठाने । त्यसको कारण यस्तो थियो । उनको बाजे हरेक दिन बिहान घरको आगनबाट सूर्य देवलाई सधै अर्घ चढाउथे । बिरामीले थला परेका उनका बाजेको ईच्छा अनुसार सूर्यलाई अर्घ चढाउन सजिलो हुने गरी माथिल्लो तलाको पूर्व पट्टिको झ्यालमा राखियो । जहाँबाट उनले मृत्यु नहुञ्जेल हरेक दिन बिहान सूर्यलाई अर्घले पानी चढाईरहे । 
बाजेका मृत्युपछि उनका बुवाले पनि त्यही गरे । माथिल्लो तलाकै पूर्वपट्टिकै झ्यालबाट हरेक बिहान पानी चढाए । उनको बुवाको मृत्यु भएपछि उनले पनि त्यही गरे ।  अशक्त भएपछि आगनमा उभिएर अर्घ दिन नसक्ने अवस्थामा बाजेले शुरु गरेको त्यो कार्यलाई पछि सन्ततीले भने परम्परा बनाए । न त्यसको कारण खोजी गरे । न अर्थ । न महत्व ।  हो, यस्तै अवस्था छ, कैलाली उद्योग वाणिज्य संघमा । व्यवसायमा संलग्न नभएका व्यक्तिलाई सदस्य बनाउने र तिनै सदस्यको बलमा जित्ने परम्परा गजवसंग बसेको छ,कैलाली उद्योग वाणिज्य संघमा ।
निर्बाचन मार्फत संघको नेतृत्व हत्याउन केही अग्रजहरुले शुरुवात गरेको त्यही कार्यलाई परम्परा बनाएका छन्, पछिल्लो पुस्ताले ।  तर त्यो गलत थियो भन्ने थाह भएकाहरु पनि अव त्यसो नगरौ भन्न डराईरहेका छन् । बोल्दा चुनाव हारिने डर छ, कतिपयलाई ।
कतिपयलाई त्यसको विपक्षमा बोल्दा टिमबाट बाहिरिने डर छ । तर कैलाली उद्योग वाणिज्य संघका कतिपय पदाधिकारी र कर्मचारी सदस्यता वितरणको त्यही गलत नजीरलाई सही भन्दै कुतर्क गर्न पछि पर्दैनन ।
यसपटक चुनावमा होमिएका दुबै टीमले हिजो जे भयो, गलत भयो भनेर कम्तिमा स्वीकार गरेका छन् । चुनावपछि दुबै टीमले फर्जी मतदातालाई हटाउने प्रतिबद्धता सार्वजनिक रुपमै गरिसकेका छन् । त्यसो हो भने किन उधारो आश्वासन दिने ? किन भोलिलाई त्यो काम बाँकी राख्ने ? भोलि काम गर्छु भन्ने कसैले त्यो काम गरेका छैनन । र भोलि आउदा पनि आउदैन । भोलि फेरि अर्को भोलि आउनेछ । यदि संघमा सुधार गर्न, संघलाई राम्रो बनाउन, संघलाई व्यवसायीहरुको मात्र संस्था बनाउन दुबै पक्ष सहमत छन् भने उनीहरुलाई फर्जी व्यवसायीको सदस्यता खारेज गर्न कसले रोकेको छ ? त्यस्तो के बाध्यता आईलागेको छ कि तिनलाई चुनाव अघि हटाउनै नसकिने ?
कैलाली उद्योग वाणिज्य संघमा हाल ५ हजार ९ सय ९० सदस्य छन् । जसमध्ये आन्तरिक राजस्व कार्यालयमा दर्ता भएका र करका दायरामा आएका सदस्य भने २ हजार ६ सय मात्र छन् । अर्थात ३ हजार ३ सय ९० सदस्य करको दायरामा आएका छैनन । कतिपयको तर्क होला, फर्म दर्ता गर्ने बित्तिकै आन्तरिक राजस्व कार्यालयमा दर्ता गर्नुपर्छ भन्ने हुदैन । कम्तिमा तीन महिना त लाग्छ, सबै प्रकृया ।
सबैलाई जानकारी होस, त्यही तर्कलाई सही मान्ने हो भने पनि करको दायरामा नआएका ३ हजार ३ सय ९० मध्ये २ हजार भन्दा बढि सदस्य ३ वर्ष देखि ५ वर्ष पुराना छन् । ती करको दायरामा आए भने सरकारलाई डेढ करोड रुपैया भन्दा बढि राजस्व प्राप्त हुनेछ । सरकारले हरेक वर्ष आयोजा गर्ने कर सप्ताहमा कैलाली उद्योग वाणिव्य संघका पदाधिकारी र आम व्यवसायी पनि सहभागी हुने गरेका छन् ।
र उत्कृष्ट करदाताका रुपमा व्यवसायीहरुलाई आन्तरिक राजस्व कार्यालयले सम्मान पनि गर्दै आएको छ । कैलाली उद्योग वाणिज्य संघको निर्बाचनमा तिनै उत्कृष्ट करदाता लड्नु परेमा करको दायरामा नआएका फर्जी व्यवसायीका कारण पराजित हुनु परेको छ । यो भन्दा ठूलो बिडम्बना के हुनसक्छ ? आन्तरिक राजस्व कार्यालयले कैलाली उद्योग वाणिज्य संघलाई पनि सम्मान गर्नुपर्छ, अव—करको दायरामा नआएका व्यवसायीहरुको बाहुल्यता भएको संघका रुपमा । नेपालमै सबैभन्दा बढि फर्जी व्यवसायी सदस्य भएको संघका रुपमा कैलाली उद्योग वाणिज्य संघले सम्मान गर्नुपर्छ । फर्जी व्यवसायीलाई नै संघको सदस्य राखिरहनुपर्ने तर्क गर्नेहरुका लागि यो भन्दा ठूलो खुशीको क्षण अरु हुने छैन ।   
संघको सदस्य हुने वित्तिकै आन्तरिक राजस्व कार्यालयमा दर्ता गर्न आवश्यक हुदैन भनेर तर्क गर्ने र केही समय पर्खिनुपर्छ भन्नेहरुको जिकिर आफैमा गलत छ । पाँच वर्ष बित्दा पनि किन ती व्यवसायीहरुले आन्तरिक राजस्व कार्यालयमा उनीहरुले आफ्नो व्यवसाय दर्ता गरेनन ? यदि ५ हजार ९ सय ९० सदस्य नै व्यवसायी हुन् भने कैलाली उद्योग वाणिज्य संघले करमा दर्ता नै नभएका व्यवसायीलाई किन जोगाईरहेको छ । उसको नियत के हो ? राजस्व छलि गर्नेको मतियार र संरक्षणकर्ता किन भएको छ, संघ ?
घरेलु कार्यालय, कम्पनीको रजिष्ट्रारको कार्यालय, वाणिज्य कार्यालयमा दर्ता नभएको र राज्यलाई कर नतिर्ने व्यवसायीलाई व्यवसायी मानिरहने ? 
संघको भवनमा वर्षौदेखि टासिएको बडापत्र र त्यसमा उल्लेख सदस्यता प्राप्त गर्ने आधारहरुमा पनि यो कुरा स्पष्टसंग उल्लेख गरिएको छ, संघको सदस्यता प्राप्त गर्न नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको हुनुपर्नेछ । सरकारको सम्बन्धित निकाय भन्नाले घरेलु कार्यालय, कम्पनीको रजिष्ट्रारको कार्यालय, वाणिज्य कार्यालय भन्ने बुझाउछ, बडापत्रमै उल्लेख छ । संघले अहिलेसम्म गरिरहेका क्रियाकलाप र सदस्यता प्रदान गरेको आफू अनुकुल व्याख्याले त्यो बडा पत्रलाई गिज्याईरहेको छ ।
यदि ती व्यवसायी नै होईनन भने किन उनीहरुको सदस्यता खारेज गरिरहेको छैन, संघ । चुनाव जित्नेकै लागि कृतिम रुपले रातारात तयार गरी संघमा दर्ता गरिएका ती कुनै पनि फर्म संघको सदस्य बन्न योग्य छैनन । त्यो संघको बिधानसम्मत पनि छैन । र अझ भन्नुपर्दा नेपालको संबिधान र राज्यले व्यवसायीका हकमा बनाएको धारणा र परिभाषा अनुसार पनि ती संघको सदस्य हुन योग्य छैनन । करको दायरामा नआएका र पैसाको बलमा रातारात कृतिम फर्म खडा गरी संघमा दर्ता गरिएका ती फर्महरु खारेज नभएसम्म संघको निर्बाचन तीनै फर्जी व्यवसायीको मतले प्रभावित गरिरहनेछ । ती सदस्यका रुपमा रहीरहेसम्म संघमा स्वस्थ प्रतिस्पर्धा हुनै सक्दैन । र फर्जी व्यवसायीको मतबाट जितकोहरुबाट व्यवसायीहरुको हकहीतका लागि काम हुनै सक्दैन । जसले व्यवसायीहरुको मत बिना जित्छन, ती कसरी व्यवसायी प्रति जवाफदेही हुनसक्छन ?
राज्यलाई ठग्ने, झुक्याउने र करको दायरामा नआई करी छलि गर्ने त्यस्ता फर्महरुको संरक्षणकर्ताबाट खास व्यवसायीका पीरमर्काको सम्बोधन कसरी हुन सक्छ ?
चुनावमा प्यानल सहित उम्मेदवारी दिएकाहरुले भन्न सक्नुपर्छ, हामी संघलाई राम्रो बनाउन चुनाव लडिरहेका हौ । फर्जी व्यवसायी नहटाई चुनाव भए बहिस्कार गर्छौ । त्यस्तो चुनाव मान्दैनौ । र बर्तमान कार्य समितिले पनि त्यो उदारता देखाउनुपर्छ, हिजोसम्म कसैले नगरेको आट गरेर फर्जी सदस्यलाई संघबाट चुनाव अघि नै विदा गर्नुपर्छ । तव मात्र अहिलेको कार्यसमितिले एउटा ईतिहास रच्नेछ । जसको सदैव सवैले स्मरण गर्नेछन् । मुक्तकण्ठले प्रशंसा गर्नेछन् । उच्च अदालतको आदेशबाट निर्वाचन स्थगित भएको छ । संघको बर्तमान कार्य समितिले अवसरका रुपमा लिनुपर्छ । यो समयलाई सदुपयोग गर्दै बर्तमान कार्यसमितिले ऐतिहासिक निर्णय गर्नुपर्छ ।
सबै निकाय चुप लागिरहने हो भने अझै बेथिति बढ्नेछ । संघको साझा चरित्र र व्यवसायीहरुको छाता संगठनको गरिमा सधैका लागि ध्वस्त हुनेछ । संघलाई बचाउने वा डुबाउने ? संघको पुरानो गर्विलो ईतिहास,जस्ले यो देशका अन्य संघहरुभन्दा छुट्टै छाप छोड्न सफल भएको थियो, त्यसलाई फिर्ता गर्ने वा अझै तहननहस पार्ने ? यो बर्तमान कार्य समिति, पूर्व अध्यक्षहरु र अहिले चुनावमा प्रतिस्पर्धा गरिरहेका प्यानल र तिनका उम्मेदवारहरुको हातमा छ ।