Close This

धनगढी–खप्तड साईकल यात्रा हुदै

शुक्रबार जेठ ४, २०७५/ Friday 05-18-18
Paschim Today

धनगढी, ४ जेष्ठ ।

कैलालीका तिनजना युवाले यहि जेठ ५ गतेदेखि धनगढी–खप्तड सम्मको साईकल यात्रा गर्ने भएका छन् ।
बिहिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै लायन्स क्लब अफ कैलाली फारवेष्टले सो कुराको जानकारी दिएको हो ।
क्लबका अध्यक्ष नर बहादुर राईले धनगढी उपमहानगरपालिका २ का विवेक शर्मा र खगेन्द्र सिंह धामी त्यस्तै गोदावरी नगरपालिका ८ मजगाउँका भरत विक्रम शाहीले साईकलमा धनगढी देखि खप्तड सम्मको यात्रा गर्ने बताए । उनले सम्भवतः पहिलो पटक खप्तडसम्मको एकहप्ते साईकल यात्रामा निस्कने यो टोली पहिलो भएको बताए ।
टोलीका सदस्य शाहीले कैलाली भ्रमण वर्ष मनाईरहदा थालेको साइकल यात्राले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत टेवा पुग्ने बताए । उनले नेपालको स्वर्ग भनेर चिनिले खप्तडको प्रचारप्रसार समेत हुने भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा समेत बृद्धि हुने बताए । 
साईकल यात्राले शारिरीक रुपमा मात्रै नभएर मानसिक रुपमा बलियो बनाउने र वातावरण प्रदुषणमा समेत सहयोग पुग्ने भएकाले सबैलाई सन्देश दिन सकियोस भनेर धनगढी–खप्तड साईकल यात्रा गर्ने सोच बनाएको टोलीका अर्का सदस्य शर्मा र धामीले जानकारी दिए । 
कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दीपक सिंहले कैलालीमा साईकल संघ नभएका कारण साईकलका गतिविधि गर्न नपाएको बताउँदै आगामी दिनमा यो यात्राले साईकल संघ गठन गर्न सहयोग पुग्ने बताए । 
जेठ ५ गते विहान धनगढीको ट्राफिक चौराहाबाट शुरु हुने यात्रा बुडर, भातकाँडा, शिलगडी हुदै ९ गते खप्तड पुग्ने साईकल यात्रीहरुले जानकारी दिएका छन् ।
लायन्स क्लब अफ कैलाली फारवेष्टको सहकार्यमा हुन गैरहेको धनगढी–खप्तड साईकल यात्रीहरुलाई धनगढी जेसिज, एडभेन्चर वेष्ट होलिडेज, कैलाली जिल्ला खेलकुद विकास समिति लगायतको सहयोग रहेको छ ।