Close This

सरकार सामाजिक विकासमा उत्तरदायी छैन : कांग्रेस नेता सावद

शनिबार जेठ ५, २०७५/ Saturday 05-19-18
Paschim Today

पश्चिम टुडे, धनगढी ५ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी सावदले वर्तमान सरकार सामाजिक विकासमा उत्तरदायी नभएको आरोप लगाएका छन् ।  अहिलेको सरकारले कुनै पनि सामाजिक, आर्थिक विकास कार्यमा ध्यान दिएको छैन  धनगढीमा आयोजित नेपाल दलित संघको पाँचौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय सदस्य सावदले भने,‘ सरकार भाषण गर्ने, हस्तक्षेप गर्ने कार्यमा अग्रसर भईरहेको छ । उनले सरकारलाई राष्ट्र विकास तर्फ ध्यान दिन आग्रह गरे ।  

 पूर्व सिँचाई मन्त्री समेत रहेका सावदले दलितलाई राज्यको हरेक ठाउँमा प्राथमिकता दिएर अघि बढाउनुपर्ने बताए  । ‘दलितहरु सांस्कृतिक, आर्थिक, शिक्षामा पछाडी पर्नुका साथै गरिवीको मारमा परेका भन्दै नेता सावदले दलितको समस्या समाधान गर्न सबै एकजुट भएर लाग्न जरुरी रहेको बताए  ।  उनले नेपाली कांग्रेसले सधै दलितको पक्षमा काम गर्दै आएको स्मरण गराउँदै ‘अहिलेको स्थानीय तहको निर्वाचन, प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनबाट पनि कांग्रेसले धेरै दलित समुदायका नेतालाई सांसद, प्रमुख तथा उपप्रमुख बनाएको बताए । उनले कम्यूनिष्टहरुमा दलितहरुको अनुहार देख्न नपाईने गरेको बताउँदै बामगठबन्धनले गठन गरेको सचिवालयमा महिला, दलित तथा मधेशीको प्रतिनिधित्व नभएको बताए ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुनिल कुमार भण्डारीले पार्टीलाई पुर्नजिवन दिन आवश्यक रहेको बताए ।  विचार, शिद्धान्तहरुलाई पुर्नजिवन दिन सकेनौ भने अवको बाटो सरल नभएकोे भन्दै ‘पार्टी सचेत नभए प्रजातन्त्र, राष्ट्रियता जटिल बन्दै बताए ।  पूर्वमन्त्री चन्द्रसिंह भट्टराईले पार्टीका मन्त्री, भातृ संगठनका अध्यक्ष, कार्यकर्तालाई बोल्नेदेखि व्यवहारबारे प्रशिक्षण, शिक्षा दिन आवश्यक रहेको बताए ।
केन्द्रीय सदस्य एंव दलित नेता मानबहादुर नेपालीले नेपाली काँग्रेसमा दलित, उत्पिडन वर्ग, ज्येष्ठ नागरिक, विधवा, एकल महिलाको मत घट्दै गएको भन्दै चिन्ता ब्यक्त गरे । उनले कांगे्रस व्यवस्थीत भए कुनै पनि गठबन्धनले हराउन नसक्ने दावी गरे । प्रदेश सांसद डा. रणबहादुर रावलले प्रदेशमा बामगठबन्धनबाट दुई तिहाईको दम्भ देखिन लागेको आरोप लगाए । आफना आफन्त पाल्ने, पार्टीको कार्यकर्तालाई रकम बाड्ने जस्ता क्रियाकलाप भए कडा प्रतिपक्षको भुमिका निर्वाह गर्ने पनि रावलले बताए । 
देशभरी २० प्रतिशत हाराहारीमा दलित रहेको र ५० प्रतिशत गरिवीको रेखामुनि, औषत आयु कम भएको चर्चा गर्दै उनले ‘दलितहरुलाई शिक्षाको पहुँचमा ल्याए धेरै समस्या समाधान हुने बताए । प्रदेश सांसद भरत खड्काले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रबाद देखिएको चर्चा गर्दै ‘भारतका शैनिकलाई हतियारसहित नेपाल ल्याउनु, नेपालको झण्डाको बेइज्जत गर्नुले प्रष्ट देखिएको बताए । प्रदेश सांसद कर्णबहादुर मल्लले सबै राजनितिक तथा सामाजिक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले नै गरेकाले मानोवल कमजोर नवनाउन सहभागिहरुलाई आग्रह गरे । नेपाली कांग्रेस कैलालीका सभापती नर नारायण शाह मनुले सहमतीका आधारमा नेतृत्व चयन गर्न आग्रह गरे । दलित संघ कैलालीका अध्यक्ष जंगबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश संसद टेकबहादुर रैका, दलित संघका केन्द्रीय सदस्य नृपबहादुर वड, यमुना खडका, महासमिति सदस्य नारायणदत्त भट्ट, नृपबहादुर सुनार, तरुण दलका जिल्ला अध्यक्ष दीपेन्द्र बम, नेपाल ट्रेड युनियन कैलाली अध्यक्ष ज्ञानेन्द्रबहादुर शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा दलित नेता प्रेम विकले स्वागत गरेका थिए ।