Close This

प्रेम, गजल र जगजित

शनिबार जेठ ५, २०७५/ Saturday 05-19-18
Paschim Today

दीर्घराज उपाध्याय ।
कला, साहित्य र संगीतको कुनै भुगोल हुदैन । न त यो कुनै परिधि भित्र कैद हुन्छ । यो त सबै दायराभन्दा माथि हुन्छ । प्रेम अभिव्यक्त गरेर हुने चिज होईन । यदि त्यसो हुदो हो त यो संसारमा आवाज हुनेहरुले मात्र प्रेम गर्थे ।  भाषा वा बोलीले मात्र प्रेम हुने होईन । प्रेम त अभिव्यक्त गर्ने माध्यम नै नभएपनि अभिव्यक्त हुन्छ । त्यसैले त बोल्न नसक्नेहरु पनि प्रेममा परेका छन् । सुन्न नसक्नेहरुले पनि प्रेम गरेका छन् । महशुस गरेका छन् । आँखा नहुनेहरुले प्रेमलाई देखेका छन् । छोएका छन् । अनुभुत गरेका छन् । 
संसारलाई सुन्दर बनाउने त्यस्तो कुनै चिज छ त त्यो प्रेम हो । त्यो सुन्दरतामा सुगन्ध थप्छ, गीतले । संगीतले । हो, यहाँ म संगीतका माध्यमबाट, अझ भन्नु पर्दा गजल गायनको माध्यमबाट संसारमा आफूलाई चिनाउने एक व्यक्तित्व, जो हामीमाझ यति बेला छैनन, तिनका बारेमा चर्चा गर्दैछु ।

यतिभन्दा तपाईहरुले अनुमान गरिसक्नु भयो होला । हो, म चर्चा गर्दै छु, स्वर्गीय गजलकार जगजित सिंहको । जसले साहित्य, कला र संगीतलाई जीवनको आस्था बनाए । र बनाए जीवनको हिस्सा । तिनै जगजीतका बारेमा चर्चा गर्दैछु ।

जसको गजल सबैको ओठमा छ, मनमा छ, मस्तिष्कमा छ । त्यो गजल मात्र अमर छैन, गाउने जगजित पनि अमर छन् । जगजितलाई अमर बनाउने मध्येकै एउटा गजल हो । 

होठो से छु लो तुम, मेरा गीत अमर कर दो ......
८ फेब्रुअरी १९४१ मा राजस्थानको गंगानगरमा जन्मिएका जगजितको बाल्यकाल घरमै बित्यो । उनका चार बहिनी र दुई भाई थिए । उनको शुरुवाती शिक्षा गंगानगरकै खालसा स्कुलमा भयो । पछि थप अध्ययनका लागि उनी जालन्धर पुगे । डिएवी कलेजबाट स्नातक पास भएपछि उनले कुरुक्षेत्र विश्व विद्यालयबाट पोष्ट ग्राजुयसन सके ।

घरमा उनलाई जितका नामले बोलाईन्थ्यो । तर उनले संगीतका माध्यमबाट पुरै जगलाई जीते । र त उनी जगजित भए । गजल गायकीको माध्यमबाट उनले सबैको मन जिते । उनले गुजराती फिल्मबाट गजल गायन शुरु गरे । तर उनको गायकी गुजरातीमा मात्र सिमित भएन । उनले पञ्जावी, हिन्दी, नेपाली, उर्दु, गुजराती भाषामा सयौ गजलहरु गाएका छन् ।
जगजित गजल गायनमा संघर्षरत थिए । उनको त्यही समय चित्रासंग भेट भयो । चित्रा पनि गजल गायनमा नाम कमाउदै थिईन । १९६९ मा जगजीतले चर्चित गायिका चित्रासंगको प्रेमलाई बैबाहिक सम्बन्धमा परिणत गरे । बैबाहिक सम्बन्धपछि यो जोडीले गजल गायनमै आफूलाई थप समर्पित ग¥यो ।  पत्नी चित्रासंगै जगजीतले सयौ गजलहरु गाए । यो जोडीले थुप्रै फिल्ममा एक साथ गाए ।

कार दुर्घटनामा आफ्नो जवान छोरा बिबेक गुमाउनुको पीडाले यो जोडीलाई गलायो । संगीत साधनामा कहिल्यै नथाकेको यो जोडी पुत्र बियोगमा बिरक्तियो । जगजीत पत्नि चित्रा छोराको मृत्युपछि गजल गायनबाट टाढा रहिन । जगजीत पनि केही समय गुमनाम झै भए । तर उनले शोकलाई पनि गजलकै माध्यमबाट शक्तिमा बदले । र त्यही शक्तिले एउटा नयाँ गजल जन्मायो । 

चिठ्ठी ना कोई सन्देश....

७० को दशकमा उनको स्वरको जाँदु देखिन थालिसकेको थियो । जतिबेला गीतकै अबस्था त्यति राम्रो थिएन । उनले त्यति बेला गजललाई चिनाए । अर्थ, प्रेमगीत,लीला, सरफरोस,तुम बिन, बीर जारा लगायत दर्जनौ फिल्ममा आवाज दिएर उनले गजलको दायरालाई फराकिलो मात्र बनाएन । गजललाई नयाँ आयाम दिए । नयाँ पहिचान दिए । गजल र जगजीत एक अर्काका पर्याय जस्तै भए । त्यही कारण उनलाई गजलका सम्राट पनि भन्न थालियो । उनको स्वरको जादु यसरी चल्यो कि त्यसलाई कुनै तारवार वा सीमानाले रोकेन । भारत र पाकिस्तानकाबीच जति धेरै टकराव र मनमुटाव भएपनि जगजीत पाकिस्तानमा पनि उत्तिकै प्रिय रहे । उनका पाकिस्तानी प्रशंसक अलिले भनेका छन्, म जिन्दगीमा दुई चोटी रोए । पहिलो चोटी भाईको मृत्युमा र दोस्रो चोटी गजल सम्राट जगजीतको मृत्युमा । उनका पाकिस्तानी प्रशंसकले उनलाई भारतीय भनेन, भलै भारत प्रति उनका प्रशंसक कहिल्यै सकारात्मक रहेनन । संगीतको शक्ति भनेकै यही हो । जसको कोही शत्रु हुदैन । सबै मित्र । सबै प्रिय । सबैका प्रिय तिनै गजल सम्राट जगजीतलाई गजल गायनमा पु¥याएको योगदानको कदर गर्दै भारत सरकारले पद्यम श्री र पद्यम भुषणबाट सम्मानित ग¥यो । 

आँशु लुकाएर मुस्कुराउने प्रियतमका मनका पीडा नबुझ्ने त्यो के प्रेमी । जगजीत पनि त प्रेमी थिए । पीडा महसुस नगर्ने त्यो के प्रेमी । चित्राको मुस्काराई भित्रको पीडा उनले बुझे । र, त गाए,

तुम ईतना जो मुस्कुरा रही हो
क्या गम हैं ईतना जो छुपा रही हो
आँखो मै नमी, हसी लबो पर
क्या हाल है, क्या दिखा रही हो

गजल श्रृंगारिक हुन्छ । प्रेमरस युक्त गजल गायनमा धेरैले रुचि दिन्छन । तर जगजीतका गजलमा प्रेम मात्र छैन । देशभक्ति पनि छ । छटपटी छ । जीवनका उतारचढाव, आरोह अवरोहहरु उनका गजलमा छचल्किएका छन् । पोखिएका छन् । गजलमा बिरह छ । बिरहले गजल बनेका छन् । र उनका गजलमा कोहीसंग बिछोडिनुको पीडा छ । निराशा छ । र छ, उम्मीद । आशा । त्यही उम्मीद र आशाले उनी बाँचेका छन् । आशाको त्यही त्यान्द्रो उनको गजलमा प्राण बनेको छ । सञ्जिवनी बनेको छ ।
पुतलीहरुलाई मर्नुको डर हुदैन । बत्तीमा जादा मृत्यु निश्चित छ । तर पनि पुतलीहरु बत्तीको उज्यालोमा हाम फाल्छन । यो हो प्रेम । जहाँ मर्नुको डर हुदैन । रित्तिनु अनि खिईनुको परवाह हुदैन । प्रेम, गजल र जिन्दगी उस्तै उस्तै हुन् । प्रेम बिनाको जिन्दगी के जिन्दगी ।  जिन्दगीलाई हेर्ने, बुझ्ने अनि सोच्ने सबैका आआफ्नै दृष्टिकोण हुन्छन । जगजीतको पनि आफ्नै बुझाइ थियो । केही पाएर गुमाउनु । अनि केही गुमाएर पाउनु । जिन्दगीको अर्थ आउनु र जानु हो । दुई दिनको जिन्दगीबाट एक समय चोर्ने कुरा गर्छन, गजलमा जगजित ।  आफू सधैभरी रित्तिईरहे । तर उनले संगीतका पारखीलाई कर्णप्रिय गजलहरु दिईरहे । जसले सधै गुमाए । ......

तुम चले जाओगे तो सोचेंगे
हमने क्या खोया हमने क्या पाया

जिन्दगी तव सुन्दर हुन्छ, जव प्रिय मान्छे आफूसंग । र त्यही प्रिये मान्छेको साथले जिन्दगी पनि प्रिये हुन्छ । र त्यतिबेला लाग्छ, जिन्दगी अरु केही होईन, दुई जनाको कहानी हो । बस, प्रेमिल जोडीको मिठो कहानी । जिन्दगी तिम्रो र मेरो कहानी भन्दा केही होईन । यो त प्रेमको प्रतिक हो । सन्तोष आनन्दले लेखेको त्यो मिठो गीत, जसलाई मुकेश कुमार र लता मंगेशकरले गाएका थिए,
ईक प्यारका नगमा है
मोजो कि रवानी है
जिन्दगी और कुच भी नही
तेरी मेरी कहानी है....

यही गीत झै भईदियो, जगजीत र चित्राको जीवन, भोगाई र प्रेम सम्बन्ध ।
उनी जिन्दगीमा धेरै पटक निराश पनि भए । उनले कही गजलमै जीवन पोखे । जीवन गाए । तर जव उनी निराश भए । उनले गजलमै निराशालाई गाए । प्रिय मान्छे टाढा हुदा कति पीडा हुन्छ । जो बिना बाँच्नुको अर्थ हुदैन । र त,उनले गजलमा गाए ।
तेरे दुनियामे जीने से तो 
बेहतर है मर जाए    

जगजीतले साहित्य अनि संगीतका पारखीहरुलाई ५० भन्दा बढि एलबम दिएका छन् । उनले देश बिदेशमा सयौ कन्सर्टहरु मार्फत पनि गजल गाए । गजल चिनाए । गजललाई एउटा उचाईमा पु¥याए ।

सन १९९९ मा सरफरोशमा होश वालोको खबर क्या बोलको गजल गाएपछि  लता मंगेशकरले जगजीतका बारेमा भनेकी थिईन— जगजीतले गजल गायनमा सबै चिज बदले । बोल, सुर, आवाज, ताल सब चिज...। 
गालिबले भनेका थिए, दुनियामै और भिं है मोहब्बत के सिवा...

हो, जगजीतले पनि गजलमा प्रेम मात्र गायनन, गाए देशभक्तिका गीतहरु । उनका गजलमा पीडा अनि निराशा पनि छ । तर मान्छेलाई आशावादी बनाउने गजललाई पनि उनले महत्व दिए । मान्छेलाई गजलका माध्यमबाट जोड्ने । प्रेम, भाईचारा र भातृत्वलाई बाड्ने कोशिस पनि उत्तिकै गरे, जगजीतले गजल मार्फत । र आफ्नो प्रिय मान्छे टाढा हुदा खटकिने अभाव पनि उनले गजलमा पोखे । 
तुमको देखा तो ए खयाल आया
जिन्दगी धुप, तुम घना छाया
आज फिर दिल ने ईक तमन्ना कि
आज फिर दिलको हमने सम्झाया
जिन्दगी धुप, तुम घना छाया

तुम चले जाओगे तो सोचेंगे
हमने क्या खोया, हमने क्या पाया

बचपनको यादले जगजीतलाई चिमोट्छ चित्रासंगै । त्यही चिमोटाई गजलमा पोखिन्छ । बिगतका यादहरु बाहेक मान्छेसंग केही बाँकी रहदैनन । हो, समयभन्दा बलवान कोही छैन ।

कवि डब्लु बी यिट्सले भनेका छन्,—गुलाब होईन, समय फुल्छ । उनको भनाईले समय नआई गुलाब पनि फुल्दैन । समय र नदी उस्तै हुन् । जो फर्किदैनन । जो दोहरिदैनन । तर मान्छे जे दोहरिदैन । जो फर्किदैन । त्यसकै पछि कुद्छ । अज्ञानी बच्चा झै जिद्दी गर्छ । त्यही चिजको अपेक्षा गर्छ । जगजीत र चित्रा पनि त मान्छे थिए । त्यसैले उनीहरुले पनि गाईदिए ।

ए दौलत भि ले लो,ए शौहरत भि ले लो 
भले छिनलो मुझसे मेरी जवानी......

पाकिस्तानका चर्चित गजल गायक गुलाम अलीसंगै कन्सर्ट गर्ने तय भएकै दिन जगजीतको ७१ वर्षको उमेरमा मस्तिष्कघातबाट मृत्यु भयो । मृत्यु शास्वत सत्य हो । जसले संगीतको भाषा बुझ्दैन । कसैको ईच्छा बुझ्दैन ।  मृत्युले जगजीतको अन्तिम ईच्छा पुरा हुन नदिएपनि उनी संगीतका पारखीहरुमाझ सधै अमर रहनेछन् । उनी प्रतिको श्रद्धा, सम्मान र समर्पणलाई कसैले छिन्नसक्ने छैन । भौतिक शरीर नभएपनि कालजयी गजलहरु मार्फत जगजितलाई गजलका पारखीहरुले गुन्गुनाईरहनेछन् । गुन्गुगाईरहनेछन् । सधैभरी ।