Close This

हट्न सकेन दलितभित्रैको आन्तरिक छुवाछुत

आन्तरिक छुवाछुत घटनामा मिलापत्र

आइतबार जेठ ६, २०७५/ Sunday 05-20-18
Paschim Today

पश्चिम टुडे, धनगढी ६ जेठ ।
जातीय छुवाछुत विरुद्ध आवाज उठाउँदै आएको दलित समुदायभित्र आन्तरिक छुवाछुत कायमै रहेको छ । उच्च जातबाट हुने छुवाछुत अन्त्यका लागि सङ्घर्ष गर्दै आइरहेका दलित समुदायले आफैभित्रको आन्तरिक छुवाछुतलाई भने निरन्तरता दिएका छन् । दलितभित्रै आन्तरिक छुवाछुत हुने तितो घटनाहरु कैलालीमै घटिरहेका छन् । 
 गत वैशाख ३१ गते आफूहरुले प्रयोग गर्दै आएको कुवा छोएको भन्दै विश्वकर्मा जातकाले दमाई जातका व्यक्तिमाथि कुटपिट गरेका थिए । गोदावरी नगरपालिकाको वडा नम्बर १२ स्थित बाँगेसालमा घटेको उक्त घटनालाई मिलापत्रमा टुङ्याइएको छ । गोदावरी गाविसका पूर्व अध्यक्ष भानसिंह विकका परिवारले आफ्नो कुवा छोएको भन्दै स्थानीय १९ वर्षीय सागर नेपालीमाथि कुटपिट गरेका थिए । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गराउन खोजे पनि दुवै पक्षको सहमतिमा मिलापत्र गरिएको छ । पिडक पक्ष भनिएका विश्वकर्मा जातले यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएपछि दुवै पक्षबीच शुक्रवार मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । यहाँको गोदावरी नगरपालिका स्थित ओलानीमा दलितभित्रै छुवाछुतको अवस्था कहाली लाग्दो रहेको छ । सुगम जिल्लाको दुर्गम ठाउँ पर्ने ओलानीमा आफूलाई उच्च भनाउने विश्वकर्माले र तल्लो जात भनिएका दमाई, नेपाली, सार्कीबीच धेरै ठूलो विभेद रहेको छ । यी दुई जातकाले पानी खाने कुवा छुट्टाछुट्टै रहेका छन् । विश्वकर्माले आफ्नो कुवा तल्लो जातका दलितलाई छुन दिदैंनन् । 
    यो पहिलेदेखि चलि आएको चलन रहेकाले तल्लो जातका दमाईहरुलाई कुवा छुन नदिने गरेको ओलानीकी अमृता विक बताउँछिन् । ‘यस्तो चलन यहाँ पहिलेदेखि नै रहि आएको छ’, उनल भनिन्–‘हामीहरु तल्लो जातको कुवामा जाँदैनौं । उनीहरुलाई पनि हाम्रो कुवा छुन दिदैनौं ।’ओलानीमा आफूलाई उच्च ठान्ने सुनार, विश्वकर्मा, चुनारा, सार्की लगायतकाले दमाई जातकालाई तल्लो स्तरमा राखेका छन् । विश्वकर्मा र दमाई जातबीच मागी विवाह समेत हुने गरेको छैन । दमाईका भान्सामा पाक्ने खाना पनि खाँदैनन्, विश्वकर्माले । यसैगरी, दिएको पानी पिउदैनन् । र, आफ्नो कुँवा र भान्छामा पनि दमाईलाई छुन दिदैंनन् । विश्वकर्माहरुका लागि बनाइएको कुवामा नेपालीहरुलाई प्रवेश गर्न र पानी भर्नका लागि रोक लगाइएको अमृताले बताइन् । उनले अगाडि थपिन्–‘विकहरुले पहिले नै दमाई जातकालाई कुवामा आउन नदिने नियम बनाए । त्यसैले उनीहरु आउन पाउँदैनन् ।’
गोदावरीको ओलानीमा दलित र गैरदलित दुवै समुदायको बसोबास रहेको छ । तर, बाहुल्यता दलितहरुकै रहेको छ । सुरुमा पानीका लागि झगडा हुन थालेपछि गैरदलित, दलितका लागि छुट्टाछुट्टै कुवा बनाइयो । तर, विश्वकर्मा र दमाई जातका दलित आफै पनि मिल्न सकेनन् । उनीहरुबीच नै छुवाछुत हुन थालेपछि दमाई जातका दलितको लागि छुट्टै कुवा बनाइएको हो । आफूहरुलाई दमाई भन्दै विश्वकर्मा जातकाले कुवा छुन नदिने गरेको सीता नेपालीले बताइन् । उनले अगाडि थपिन्–‘पहिलेदेखि नै विश्वकर्मा र दमाई जातकाबीच रहेको विभेद अहिलेसम्म पनि कायम छ ।’
ओलानीको छुट्टाछुट्टै ठाउँमा बनाइएको कुवामा विक र नेपालीको कुवा भनेर लेखिएको छन् । विकको कुवामा सार्की, चुनारा, सुनार, कोली, भुल लगायतकाले भने पानी खान पाउने गरेको बताइएको छ । दलितभित्रको आन्तरिक विभेद निर्मूल नगरी उच्च जातिबाट हुने विभेद अन्त्य गर्न नसक्ने कविता विकल बताइन् । ‘हामीले यसबारे समूह मार्फत पटक–पटक छलफल चलाएका छौं’, उनले भनिन्–‘तर, बुढापाकाले मानेका छैनन् ।’ उनले दलितभित्रको आन्तरिक सहित सबै खाले विभेद अन्त्य गर्न आवश्यक रहेको जोड दिइन् । गोदावरी नगरपालिकाको वडा नम्बर ११ र १२ मा जातीय छुवाछुत र दलितभित्रै आन्तरिक छुवाछुत कायम रहेको नगरपालिका स्तरीय न्यायिक समितिका संयोजक एवम् उपप्रमुख रत्ना कडायतले बताइन् । उनले छुवाछुत विरुद्ध सचेतना अभिवृद्धिका लागि योजनाबद्ध रुपमा अगाडि बढ्ने उल्लेख गरिन् । 
‘अस्ती घटेको घटना मैले पनि थाहा पाएँ । वडा नम्बर ११ र १२ मा यस्तो विभेद कायम रहेको छ’, उप्रमुख कडायतले भनिन्–‘यसको विरुद्धमा योजनाबद्ध रुपले अगाडि बढ्ने नगरपालिकाले कार्यक्रम बनाएको छ ।’

 

आन्तरिक छुवाछुत घटनामा मिलापत्र
रासस
कैलालीको गोदावरी नगरपालिका– १२ वागेसाल गाउँमा स्थानीय दमाईं जातिका मानिसले विश्वकर्मा जातिले प्रयोग गर्दै आएको कुवा (इनार )को पानी छोएको भन्दै भएको कुटपिटको घटनामा मिलापत्र गराइएको छ । 
साविक गोदावरी गाविसका अध्यक्ष भानसिंह विकका परिवारले आफ्नो कुवा छोएको भन्दै १९ वर्षीय सागर नेपालीलाई वैशाख ३१ गते गालिगलौंच र कुटपिट गरिएपछि पीडित पक्ष जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गर्न गएका थिए । विकको परिवारले प्रयोग गर्ने गरेको कुवा छिमेकी गोपाल नेपालीको विवाहका दिन छोइदिएको भन्दै विक पक्षले सागरलाई कुटपिट गरेको स्थानीयवासी शंकर नेपालीले बताए । 
प्रहरी कार्यालयमा शुक्रबार दुबै पक्षको उपस्थितिमा पीडक भनिएका विक पक्षले अबदेखि यस्ता क्रियाकलाप नदोहो¥याउने प्रतिबद्धता जनाएपछि दुबै पक्षबीच मिलापत्र भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक हरि वलीले बताए । 
मानव अधिकारकर्मी तथा दलित अधिकारकर्मीले गाविसका पूर्व अध्यक्षकै कुवामा पानी भरेको विषयलाई लिएर कुटपिट र गालिगलौंच गरिनु गम्भीर घटना भएको भन्दै पीडकमाथि कारबाहीको माग गरेका थिए । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्ने प्रयास गरेकोमा गाविसका पूर्व अध्यक्ष विकले राजनीतिक दवावमा मुद्दा दर्ता गर्न दिनबाट रोकेर माफी मागेको पीडित पक्षले बताएका छन् । 
देशमा थुप्रै पटक राजनीतिक परिवर्तन भए पनि कानूनी रुपमा दण्डनीय मानिएको जातीय छुवाछुत एवं विभेद्को समस्या प्रदेश नं ७ का जिल्लामा अझै पूर्णरुपमा अन्त्य हुनसकेको छैन । जसका कारण बेलाबखत दलित र गैरदलितबीच, दलित दलितबीच छुवाछुत र विभेद्का घटना हुने गरेका छन् । पछिल्लो समय गैर दलित र दलित बीचको छुवाछुत क्रमशःअन्त्य हुँदै गएको अवस्थामा दलित दलितभित्रैको बढ्दो छुवाछुतले थप चुनौती थपिएको धनगढी उपमहानगरपालिका–३ की दलित वडा सदस्य राधा विक बताउँछिन् ।