Close This

गठबन्धन पार्टी धेरै दिन नटिक्ने दावी

आइतबार जेठ ६, २०७५/ Sunday 05-20-18
Paschim Today

पश्चिम टुडे, धनगढी ६ जेठ । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी सावदले बाम गठबन्धनको एकीकृत पार्टी धेरै दिनसम्म टिक्न नसक्ने दावी गरेका छन् ।  नेपाल तरुण दलको भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार धनगढीमा सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी राम्रोसंग चल्न सक्ने संकेत नरहेको बताए । ‘स–साना कुरामा पनि मतभेद देखिन्छ’, उनले भने–‘यो पार्टी धेरै दिन टिक्न सक्दैन ।’ उनले एकीकरण भएको दिन दुई वर्षभित्र सहमतिमा नेतृत्व चयन गर्ने कुरा लोकतन्त्र विरोधी रहेको बताउँदै विश्वमा नेतृत्व चयन गर्दा निर्वाचन नै सबैभन्दा राम्रो लोकतान्त्रिक विधि रहेको दावी गरे । नेता सावदले वाम गठबन्धनको सहमतिले देशकै लोकतन्त्रमा असर पार्ने संकेत देखिएको बताए ।  लोकतन्त्रमा सबैले शान्तिपूर्वक अधिकारको माग गर्न पाउने व्यवस्था रहे पनि अहिलेको सरकारले शान्तिपूर्वक अधिकार माग्नेहरुमाथि धडपकड गरिरहेको उनको भनाइ थियो । सरकारले बहुमतको आडमा जनताको भावनाविपरित काम गर्ने प्रयास गरिरहेकाले तरुण दललाई एकजुट हुन उनले आग्रह गरे । 
    कार्यक्रममा केन्द्रीय सदस्य रत्ना शेरचनले चुस्त दुरुस्त भएर काम गर्न कांग्रेसका भातृसंगठनलाई आगं्रह गरिन । तरुण दलका अध्यक्ष दीपेन्द्र बमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह मनु, पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराई, धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट लगायतकाले बोलेका थिए ।