Close This

नेकपाको प्रदेश इन्चार्जमा कसको सम्भावना ?

आइतबार जेठ ६, २०७५/ Sunday 05-20-18
Paschim Today

पश्चिम टुडे, धनगढी ६ जेठ । नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नम्बर सातमा ईञ्चार्ज को हुने बहस शुरु भएको छ ।प्रदेश नम्बर सातको ईञ्चार्ज कसलाई बनाउनुपर्छ भन्ने विषयलाई लिएर दुईटै नेताका पक्षधर कार्यकर्ता र शुभेच्छुकहरुको बिबाद सतहमा देखिएको छ । बहसमा दुबै नेताका निकटस्थ नेता, कार्यकर्ता र शुभेच्छुकहरु पनि बाडिएका छन् । खासगरी माओवादी पृष्ठभूमिका नेता, कार्यकर्ता,जिल्लागत भावनात्मक सम्बन्ध भएकाहरु भट्टका पक्षमा उभिएका छन् भने एमाले पृष्ठभूमिका नेता, कार्यकर्ता,जिल्लागत भावनात्मक सम्बन्ध भएकाहरु भने रावलको पक्षमा देखिएका छन् ।पक्ष बिपक्ष उभिनेमा नेता,कार्यकर्ता र शुभेच्छुकहरु मात्र नभएर पत्रकारहरु समेत देखिएका छन् ।
केही पत्रकारहरुले खुलेर भट्टको समर्थन गरेका छन् भने केही पत्रकारले खुलेरै रावललाई ईञ्चार्ज बनाउनुपर्ने भन्दै सामाजिक सञ्जाल मार्फत लविङ गरिरहेका छन् ।यसरी पक्ष विपक्षमा लेख्ने पत्रकारहरुमा बिगतमा एमाले र माओवादीसंग निकट रहेकाहरु मात्र नभएर गैर एमाले र गैर माओवादी पत्रकार समेत रहेका छन् । पत्रकार शिवराज भट्ट, दिल बहादुर छत्यालले सामाजिक सञ्जालमा भट्टलाई ईञ्चार्ज बनाउने कारण सहित लविङ गरेका छन्,भट्ट र छत्याल लेख्छन्,— भीम रावलको प्राथमिकतामा जहिले नि अछामका रावल, कुवँर र साउद परे । उनी क्षेत्रियतामा कट्टर देखिए विगतमा । त्यसैले एकिकृत पार्टीको कमाण्डर लेखराज भट्ट हुनुपर्छ । मेरो ब्यक्तिगत बिचार । रावलले एक पटक कैलालीका ६ निर्वाचन क्षेत्रमा ५ वटामा अछामका अध्यक्ष बनाए । अहिले नि उनको अछामवाद हावी छ ।
सामाजिक जीवनमा लागेका यस्ता मानिसलाई तपाइले जन्मेको जिल्लाको यसरी बिल्ला भिराउनु अशोभनिय मात्रै होइन निन्दनिय छ, रावलमाथि लगाएको आरोपमाथि आक्रोश सहित पत्रकार मातृका तिमिल्सेनाले प्रतिवादमा यस्तो लेखेका छन् । कतिपयले भट्टको खुलेर बिरोध गरेका छन् । भट्टपनि जात र भूगोलका आधारमा राजनीति गर्ने नेताका रुपमा उल्लेख गरेका छन् । पत्रकार डीआर पन्तले लेखराज भट्ट सात नम्बर प्रदेशको ईञ्चार्ज हुन उपर्युक्त रहेको जिकिर गरेका छन् । अनुशासनका नाममा जस्तोसुकै ज्यादती हुदा पनि मौनता साँधेर बस्ने कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुको आफ्नै नेता प्रतिको तिखो टिप्पणी, बिरोध र आलोचना यो पटक सामाजिक सञ्जालमा पोखिएको छ ।
भीम रावल र लेखराज भट्ट दुबै जनालाई भेग, भूगोल र जातका आधारमा राजनीति गर्ने गरेको आरोप पहिलेदेखि नै लाग्दै आएको छ । रावलले नेकपा एमालेलाई अछामवादी बनाएको आरोप त्यही पार्टीभित्रका अन्य नेताहरुले लगाउदै आएका छन् । उनको बिरोधमा बोल्ने वा असहमती जनाउने कोही नेता पनि उठ्न सकेको छैन । 
उनले आफूभन्दा माथि पनि कसैलाई जान दिदैनन । आफ्नो जिल्लाको बाहेक अरुलाई अवसर र पद पनि दिदैनन, एमालेका एक नेता भन्छन्, भानुभक्त जैसी, महेश्वर पाठक, तारा लामा, कृष्ण प्रसाद जैसी, उर्वादत्त पन्त लगायतका नेताहरु रावलका पक्षमा नभएकै कारण पाखा लगाईएका हुन् । उता भट्टले उठ्नै नदिएका नेताहरु पनि माओवादी केन्द्रमा थुपै्र छन् । उनले पनि डोटी, भट्ट, गडेसरीहरुलाई बढि महत्व दिने गरेको आरोप छ । त्यही कारण पनि उनले त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाएका हुन् ।
अझ पछिल्लो अत्तरीयाभन्दा माथि उठ्न नसकेको उनीमाथि आरोप छ । उनले अत्तरीयालाई प्रदेश बनाउन खोजे । भौतिक पूर्बाधारका कारण त्यो प्रयास सफल भएन । मुख्यमन्त्रीको आवास अत्तरीया बनाउन खोजे । सुरक्षा चुनौती र चर्को दवावपछि उनी त्यहाँ पनि ब्याक भए । अहिले जंगल फाडेर अत्तरीया छेउछाउमै स्थायी राजधानी बनाउनका लागि कोशिस गरिरहेको उनीमाथि आरोप छ । प्रदेश नम्बर सातका नेता भएपनि घुमिफिरी अत्तरीयामा केन्द्रित हुने गरेको उनीमाथि प्रतिपक्षी र उनकै पार्टीका नेताहरुले आरोप लगाउने गरेका छन् ।
बीरमान चौधरीलाई मुख्यमन्त्री बन्नबाट रोक्न दुबै नेताहरु सहमत भएपनि मुख्यमन्त्री कसलाई बनाउने भन्नेमा दुबै नेताबीच सहमती हुन सकेन । रावलको रोजाईमा अछामबाट जितको माअ‍ोवादी सांसद झपट बोहरा थिए । यद्दपि भट्टले डोटीबाट निर्बाचित त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाए । दुबै जनाको रोजाईमा भने आफ्नै जिल्लाका नेता थिए ।  एउटा नेता अछामभन्दा माथि उठ्न नसक्ने अर्को नेता डोटीभन्दा माथि उठ्न नसक्ने आरोप छ । रावल एमालेभित्र माधव नेपाल पक्षधर नेताका रुपमा चिनिन्छन् । यद्दपि उनले पछिल्लो समय पार्टी अध्यक्ष केपी ओलीसंग पनि सन्तुलित सम्बन्ध कायम राखेका छन् ।
प्रदेश नम्बर सातमा उनले माधव नेपाल पक्षधर नेतालाई मात्र सहयोग गरेका छन्, ओली पक्षधर एक नेताको आरोपछ, हुदाहुदा टिकट वितरणमा पनि उनले पेलेर निर्णय गरे । नेपाल पक्षकालाई टिकट वितरण गरे । भट्ट र रावल एकीकृत पार्टीको हाईकमाण्डमा परेनन । उपमहासचिव बिष्णु पौडेललाई महासचिव बनाईदा एमालेका उपाध्यक्ष रहेका रावल कही कतै गणनामा परेनन ।
माओवादीको चर्को बिरोधी रहेका रावल पार्टी एकीकरणको बिरोधमा थिए । र उनी केपी ओली पक्षधर पनि होईनन । माओवादी केन्द्रका नेता भट्ट भने एकीकृत पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकट छन् । र उनी एकताको पक्षमा थिए । प्रदेश नम्बर सातमा प्रचण्डका अत्यन्त विश्वास पात्र रहेकोले प्रचण्डको प्राथमिकतामा भट्ट पर्ने माओवादीका केन्द्रका नेताहरु बताउँछन् । भट्टलाई ईञ्चार्ज हुन नदिन रोक्न खोज्ने माओवादी केन्द्रको प्रदेश नम्बर सातका केही नेताको क्षमता त्यतिधेरै पनि छैन, कि उनीहरुले रोक्न सकुन । यद्दपि पार्टीभित्र उनको पेलाईमा परेका नेताहरुको फेहरिस्त ठूलो नभएको होईन । नेता रावलको बिरोधमा भने प्रदेश नम्बर सातमै एमालेका थुपै्र नेताहरु छन् ।  रावलद्धारा पाखा लगाईएका, पेलिएकाहरु संगठित हुदै उनलाई ईञ्चार्ज बन्न नदिने कोशिसमा लागिरहेका छन् ।  माओवादी भित्र रहेका भट्टका बिरोधी बलिया छैनन । तर एमालेभित्र रहेका रावलका बिरोधी बलिया छन्, एमालेका एक नेताले भने, यसकारण पनि रावललाई ईञ्चार्ज हुन त्यति सजिलो छैन । जति भट्टलाई सजिलो छ ।
प्रदेशमा जसको जति बिरोध भएपनि, जसको समर्थन जति भएपनि ईञ्चार्ज कसलाई बनाउने त्यसको अधिकार नेतृत्वमा रहेको छ, एक नेता भन्छन्, अध्यक्षद्धय ओली र दाहालको आशिर्वाद जसमाथि भयो, त्यही ईञ्चार्ज हुनेछन् ।