बेवारिसे चौपाया : स्थानीय तहको टाउको दुखाई

SITENAME

अविनाश चौधरी, धनगढी ७ जेठ ।  पश्चिम नेपालका दुई मुख्य बजारहरू अहिले कुरुप बन्दै गइरहेका छन् । बजारमा यत्रतत्र हिंडडुल गर्ने छाडा चौपाया र तिनले गर्ने फोहोरका कारण शहरी सौन्दर्य चौपट भएको छ । स्थानीयबासिन्दालाई हिंडडुल गर्न र खेतीपाती जोगाउन हैरान हुन थालेको छ । “पशु–चौपाया पहिले पनि धेरै नै थिए, तर बजार सुन्दर थियो” उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष हीरासिंह पातली भन्छन्, “अहिले मानिसहरूले चौपाया छाडा छोड्न थालेका छन् ।”उनले आजकल धनगढीमा गोठमा भन्दा धेरै छाडा चौपाया भएको अनुमान लगाए । दुई-तीन वर्ष अगाडिबाट ‘छाडा चौपाया’ धनगढीवासीकोसमस्या भएको उनको भनाइ छ ।
२०७४ असार १४ मा भएको स्थानीय तहको निर्वाचनमा छाडा चौपाया व्यवस्थापन मुख्य चुनावी मुद्दा बनेको थियो । निर्वाचनमा उम्मेदवार भएका स्थानीय राजनीतिक दलका अगुवाहरूले छाडा चौपाया नियन्त्रण गर्ने वाचा गरेका थिए । उत्पादन लिन सकिने बेलासम्म पाल्ने त्यसपछि गाईगोरु सडकमा छोडिदिने चलन आएपछि सडकमा चौपाया बढेको बढ्यै छन् । जोत्न नसक्ने गोरु र दूध नदिने बूढीगाईलाई स्थानीयबासिन्दाले कसैले थाहा नपाउने गरी बाटोमा ल्याएर छोडिदिन्छन् । 


कञ्चनपुरको वेदकोट नगरपालिका प्रमुख अशोक चन्दले स्थानीय जनताको लापरबाही र अटेरीपनले छाडा चौपायाको व्यवस्थापन कठिनाइ भइरहेको बताए । “उत्पादन लिनसम्म लिने र लिन नसक्ने अवस्था आएपछि बाटोमा छोडिदिने प्रवृत्तिले समस्या भयो” चन्द भन्छन्, “हरेक व्यक्तिले आफ्नो पशुको व्यवस्थापन आफैं गर्ने भए यस्तो समस्या हुँदैनथ्यो ।”
कैलाली र कञ्चनपुरमा अहिले कति छाडा चौपाया छन् भन्नेतथ्याङ्क कुनै निकायसँग छैन । तर छाडा छोड्नेक्रम नरोकिएकोले संख्या दिनहुँ बढिरहेको बताउँछिन् कैलालीको लम्कीचुहा नगरपालिकाकी उपप्रमुख टीका थापा । “बेलाबेलामा छाडा चौपाया अरू जिल्लाहरूमा पठाउने गरेका छौं” थापा भन्छिन्, “तर छाडा छोड्ने क्रम नरोकिएकोले नियन्त्रण हुन सकेको छैन ।” 
कैलाली र कञ्चनपुरका प्रायः किसानहरूले घरायसी प्रयोजन (दूध खान) का लागि गाई पाल्छन् । जिल्लाका कतिपय किसानले ‘गाई फर्म’ पनि सञ्चालन गरिरहेका छन् । यी किसानहरूले दूध दिने बेलासम्म वा बूढो नहुँदासम्म गाई पाल्छन् । जब गाईले दूध दिन छोड्छ, अनिछाडा छाडिदिन्छन् । “दूध नदिने गाई र जोत्न नसक्ने गोरु किसानले पाल्दैनन्” शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐर भन्छन्, “किसानले छोडेका गाईगोरु साह्रै धेरै बढे, नियन्त्रण गर्न सकिएन ।” 
सामुदायिक र संरक्षित वनको अवधारणा आएसँगै बस्तुभाउको चरन क्षेत्र खुम्चिएको छ । घाँसपात काट्ने पर्याप्त ठाउँ छैन । सामुदायिक वन संरक्षण ऐन (२०४९), सामुदायिक वन संरक्षण नियमावली (२०५१) कार्यान्वयनमा आएपछि स्थानीयलाई वनजंगलमा पशु चराउन अनुमति छैन । आर्थिक वर्ष २०६७/६८ मा कैलालीको बसन्ता कोरिडोरलाई संरक्षित क्षेत्र घोषणा गरेपछि किसानलाई घाँसपात ल्याउने स्रोत पनि खुम्चिएको छ । यसले गर्दा ‘बेकामे’ र ‘उत्पादनहीन’ बनेका गाईगोरु छाडा नछोड्नु ‘खर्च मात्रै हो’ भन्ने बुझाइ स्थानीय बासिन्दामा छ । 


छाडा चौपायाले लगाएको बालीनाली खाइदिने गरेको गोदावरीका कृषक डेडे लुहारले गुनासो गरे । लुहार भन्छन्, “गाईगोरुका बथानै आएर अन्नबाली खाइदिन्छन्, आजकल त दिनरात खेतमै बसेर रखवाली गर्ने गरेको छु ।” उनका भनाइमा गोदावरीको चौकीडाँडामा ४०/५० वटा गाईगोरुको बथान आएर अन्नबाली नष्ट गरिदिने गरेका छन् । छाडा चौपायाको बिगबिगी भएपछि चौकीडाँडाका किसान आजकल आफूले मिहिनेत गरेर रोपेको अनाज जोगाउन पालैपालो चौकीदारी गर्छन् । 
धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा व्यावसायिक तरकारी खेती गर्दै आएकी रामदासी चौधरी छाडा चौपायाबाट आजित भएकी छिन् । “तरकारी जोगाउनै मुश्किल भएको छ” उनी भन्छिन्, “दिउँसो आउने छाडा चौपायालाई लखेट्ने गरेकी छु । तर, राति पनि आएर खेतमा लगाएको तरकारी नष्ट गरिदिन्छन् ।” 
कृषि प्रयोजनमा विभिन्न उपकरणहरूको प्रयोग बढेपछि किसानले पालेका गोरु बेकामे जस्तै भएका छन् । खेत जोत्न गोरु, राँगाको सट्टा ट्रयाक्टर, पावर ट्रिलर, हाते ट्रयाक्टरजस्ता आधुनिक उपकरणतर्फ किसानको ध्यान तानिएको छ । हिजोआज धान, गहुँ, काट्न रिपर र कम्पेन र दाइँका लागि थ्रेसर प्रयोग गर्छन् । चाहिएको बेलामा उपकरण उपलब्ध हुनेहुँदा गोरु किन्ने ग्राहक पनि पाइँदैन । “अहिले बस्तुभाउ चराउने ठाउँ पनि छैन”धनगढी उपमहानगरपालिकाका एक किसान भन्छन्,“धेरै गाईगोरु पाल्न सकिंदैन, नजोत्ने गोरु र दूध नदिने गाई गुपचुप छोडिदिन्छौं ।”
शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले नगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि कानून बनाएर जरिवाना गर्ने नियम लागू गरे पनि घरघरबाट गाईगोरु छोड्ने क्रम नरोकिएको बताए । उनी भन्छन्, “यो साझा समस्या हो, सबै मिलेर समाधान गर्नुपर्छ ।”


अहिले किन यतिविघ्न चौपाया सडकमा आइपुगे ? धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरी भन्छन्, “केही वर्ष पहिलेसम्म छाडा चौपाया भारतमा निकासी हुन्थे, आजकल कम भएको छ, त्यसैले समस्या बढेको छ ।” उनका भनाइमापहिले भारतमा मासुका लागि छाडा चौपाया निकासी हुने गरेको थियो । तर, भारतीय जनता पार्टीका स्वामी योगी आदित्यनाथ उत्तर प्रदेश (यूपी)को मुख्यमन्त्री बनेपछि उनले पशुवध बन्द गराए । “यूपीको मुख्यमन्त्रीले कडाइ गरेपछि, यहाँबाट पशु चौपाया निकासी पनि बन्द जस्तै भयो”, मुडभरी भन्छन्, “त्यसैले हाम्रो ठाउँमा यतिविघ्नछाडा चौपाया बढिरहेका छन् ।”
छाडा चौपाया सडक दुर्घटनाको कारक पनि बन्न थालेका छन् । सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका सूचना अधिकारी टेकबहादुर जोरा भन्छन्, “छाडा चौपायाहरू फुत्तफुत्त सडकमा आउँछन् ।तीव्र गतिमा गुडेका गाडी रोक्ने अवस्थै हुँदैन, दुर्घटना भइहाल्छ ।” भिजिविलिटी कम भएको समयमा छाडा चौपाया सडकमा आउँदा त झन् बढी समस्या हुने उनको भनाइ थियो ।
अहिले ट्राफिक प्रहरी कार्यालयले स्थानीय तहहरूसँग समन्वय गरेर छाडा चौपाया नियन्त्रण गर्ने प्रयास गरिरहेको जानकारी जोराले दिए । उनका भनाइमा, अहिले क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमातहतमा ३६ वटा युनिट सञ्चालनमा छन् । हरेक दिन कुनै न कुनै युनिटले छाडा चौपाया नियन्त्रण र ट्राफिक व्यवस्थापनबारे कार्यक्रम गरिरहेका हुन्छन् ।
कैलालीको गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत मोहनप्रसाद मरासिनीले यसमा स्थानीय जनताले सहयोग गर्नुपर्ने बताए ।“यसको रोकथाम जनताकै स्तरबाट गर्नुपर्छ” मरासिनी भन्छन्, “कसले चौपाया छोड्छ भनेर नगरपालिकाले घरघरै गएर हेर्न सक्दैन, कानून नै बनाएपनि यो नियन्त्रण हुनेवाला छैन ।”
कृष्णपुर नगरपालिकाले घरमा पालेका जनावरलाई छाडा छोड्ने व्यक्तिलाई प्रति चौपाया पाँच हजार जरिवाना तिराउने नियम बनाएको छ । तर स्थानीयबासिन्दाहरूले राति चौपाया छोड्ने गरेकोले चौपाया कसका हुन् भन्ने पत्ता लगाउन नसकिएको नगरपालिका प्रमुख कर्ण हमाल बताउँछन् । “पशु चौपाया छाडा छोड्ने व्यक्तिको बारेमा जानकारी दिनेलाई असुल भएको जरिवानाको आधा रकम पुरस्कार दिने व्यवस्था समेत गरेका छौं” हमाल भन्छन्, “यति गर्दा पनि नियन्त्रण गर्न सकिएन ।” 
छाडा चौपाया समस्या टड्कारो बन्दै गएपछि केही स्थानीय तहले गौशाला निर्माण गरेर छाडा चौपायालाई एकत्रित गर्ने प्रयास गरिरहेका छन् । गोदावरी नगरपालिकाले चालू आर्थिक वर्षमा छाडा चौपायाका लागि रु.२५ लाख बजेट खर्च गरिसक्यो । गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत मोहनप्रसाद मरासिनीभन्छन्,“जति बजेट खर्च गरेपनि समस्या अझै ज्यूँका त्यूँ छ ।”
नगरपालिकाहरूले छाडा चौपाया बाँध्ने गौशाला र गोठ बनाउन, पराल लगायतका सामग्री किन्न, चौपायाको रेखदेख गर्ने हेरालुलाई तलबभत्ता दिन आफ्नो स्रोत खर्च गर्नु परिरहेको छ ।जसले बजेट खर्चै गर्नु नपर्ने काममा बजेट खर्च भइरहेको धनगढी उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष सन्तोष मुडभरी बताउँछन् । “चौपाया व्यवस्थापनमा लगाइने पैसा अरू विकासका काममा लगाउन पाइन्थ्यो” उनी भन्छन्, “स्थानीयहरू अटेरी हुँदा व्यर्थमै बजेट खर्च गर्नुपरेको छ ।”

कृष्णपुर नगरपालिकाका प्रमुख हमालको अनुभव पनि मरासिनीकै जस्तो छ । “छाडा पशु व्यवस्थापनको लागि पूँजीगत खर्चकै रु.२० लाख बजेट गौशाला निर्माण, पराल खरिद इत्यादिका लागि छुट्याएँ” हमाल भन्छन्, “तर बनेको गौशाला पनि स्थानीयबासिन्दाले भत्काइदिए ।” गौशालामा राखिएका गाईगोरु निस्केर नजिकको खेतीपातीमा नोक्सानगर्ने गरेकाले स्थानीयहरूले आफ्नो घरखेत नजिक गौशाला बनाउन नदिएको र बनाएका गौशाला पनि राति भत्काएको उनी सुनाउँछन् । 
कैलालीका ६ वटा र कञ्चनपुरका ५ गरी ११ वटा स्थानीय तहमा छाडा चौपायाको समस्या धेरै छ । कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा, घोडाघोडी, लम्की–चुहा, टीकापुर नगरपालिका हुन् । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका, कृष्णपुर, वेदकोट र शुक्लाफाँटामा पनि छाडा चौपायाको समस्या धेरै छ । 
कैलाली र कञ्चनपुरमा अहिले ठ्याक्कै कति छाडा चौपाया छन् भन्ने यकिन तथ्यांक कुनै निकायसँग छैन । तरकैलाली र कञ्चनपुरका राजमार्ग, पाटीपौवा, धार्मिक स्थल जस्ता सार्वजनिक ठाउँमा छाडा चौपायाहरू यत्रतत्र देखिन्छन् । अहिले स्थानीय तहहरूले गौशाला निर्माण गरेर तथ्याङ्क राख्ने प्रयास गरिरहेका छन् । क्षेत्रीय पशु सेवा निर्देशनालयको तथ्यांक अनुसार, कैलाली र कञ्चनपुरका किसानको घरमा भने हाल १ लाख ८४ हजार ६६६  भैंसी र ३ लाख ६० हजार २४८ वटा गाई छन् । (खोज पत्रकारिता केन्द्रको सहयोगमा)

प्रतिकृया दिनुहोस
SITENAME

अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिने

पश्चिम टुडे/धनगढी १० असार । धनगढी उपमहानगरपालिकाका प्रमुख नृर्प वहादुर वडले नयाँ आर्थिक वर्षलाई  अतिक्रमण हटाउ अभियानको रुपमा मनाउने बताएका छन्

SITENAME

हलो सीएममा एक सय उजुरी

पश्चिम टुडे/धनगढी १० असार । प्रदेश ७ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सुरु गरेको गरेको ‘हेलो सीएम’ कार्यक्रमको १ महिना पूरा भएको छ । एक

SITENAME

मूर्तिकलाबाटै प्रदेश चिनाउने लामिछानेको धोको 

सिद्धराज भट्ट/रासस धनगढीको हसनपुरका २७ वर्षीय दीपक लामिछाने आफ्नै घरमा मूर्ति बनाउन बेलाबखत माटो पिट्ने र मुछ्ने काम गर्दै गरेको भेटिन्छन्