Close This

सुख्खा याममा कर्णालीको माथिल्लो क्षेत्रमा डल्फिन देखिनुको रहस्य

बुधबार जेठ १६, २०७५/ Wednesday 05-30-18
Paschim Today

अविनाश चौधरी
धनगढी, १६ जेठ । कैलालीको चिसापानी स्थित कर्णाली नदीमा कर्णाली पुलभन्दामाथितिर सुख्खा याममा पहिलो पटक डल्फिन देखिएका छन् । 
    नदीमा पानीको स्तर निकै कम रहेको बेला विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको चार वटा डल्फिन मङ्गलवार देखा परेका हुन । दुई वटा ठूलो र दुई वटा सानो डल्फिन करिब आधा घण्टासम्म देखा परेको प्रत्यक्षदर्शी एवम् डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार दुई वटा डल्फिन कर्णाली पुलभन्दामाथितिरसङ्गै र दुई वटा पुलको आसपासमा फरक–फरक समयमा देखा परेका थिए । 
    ‘दुई वटा सङ्गै र दुई वटा पुल आसपासमा अलग–अलग समयमा करिब आधा घण्टासम्म देखा परे’, उनले भने । कर्णाली नदीमा देखिएका डल्फिनलाई प्रदेश नम्बर ७ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट लगायत पर्यटनकर्मीहरुले पनि अवलोकन गरेका छन् । डल्फिन हेर्नेको भीडभाड रहेको थियो । 


    पर्यटन व्यवसायी सञ्जयकुमार चौधरीले आफूले दुई वटा डल्फिन देख्न पाएको बताए । ‘मैले दुईवटा देखें’, उनले भने–‘जेहोस यो बेला पनि कर्णालीमा डल्फिन देखिन्छन् भन्ने प्रमाणितभयो ।’
    सुख्खा याममा कर्णालीमा डल्फिन देखिंदा संरक्षणकर्मी र पर्यटन व्यवसायी उत्साहित भएका छन् । नदीमा पानी कम भएको बेला पनि डल्फिन देखिनुले निकै उत्साहित बनाएको पर्यटन व्यवसायी चौधरीको भनाइ छ ।
    कर्णाली नदीमा रैथाने डल्फिन रहेको यसअघि नै विभिन्न अध्ययनले पुष्टी गरेको छ । तर, कर्णाली पुलभन्दामाथितिर भने सुख्खा याममा यसअघि देखिएका थिएनन् । बर्खा याममा नदीमा जलस्तर बढेको बेला चिसापानीसम्म डल्फिन पुगेको पुरानो अभिलेख रहे पनि सुख्खा याममा पहिलो पटक देखा परेको संरक्षणकर्मी ढुङ्गानाले दावी गरे । 
    ‘अचेल बर्खा याममा पनि यहाँसम्म डल्फिन देखिदैंनन्’, उनले भने–‘सुख्खा याममा पहिलो पटक यहाँ डल्फिन देखिएका हुन । यसले संरक्षणप्रति थप उत्साह बढेको छ ।’ उनले टाढाबाट देखिएकाले फोटो लिन भने नसकेको उल्लेख गरे ।
    बर्खा याममा जलस्तर बढेको बेला यहाँका विभिन्न नदीहरुमा मज्जाले डल्फिन देख्न सकिन्छ । तर, जलस्तर घटेसंगै नदीको तल्लो क्षेत्रतर्फ जाने गरेका छन् । नदीमा पानी कम भएको बेला चिसो पानी खोज्दै कर्णालीको रैथाने डल्फिन माथिल्लो क्षेत्रमा गएको हुन सक्ने डल्फिनको अध्ययन गरेका प्राणीविद् डा. मुकेशकुमार चालिसेले बताए ।  
    ‘अहिले बाह्य तापक्रम निकै बढेको बेला नदीको तल्लो क्षेत्रमा पानीको तापक्रम पनि बढेको हुन्छ’, उनले भने–‘तर, माथि पहाडबाट आउने पानी चिसो हुने गरेकाले चिसो खोज्दै उनीहरु कर्णाली पुलभन्दा पनि माथितिर पुगेको हुनुपर्छ ।’
    यो बेला ती डल्फिनहरु चिसो तथा सफा पानी र चिसो पानीमा बस्न रुचाउने आहारा प्रजातिका माछा खोज्दै त्यसतर्फ पुगेको हुन सक्ने प्राणीविद् डा. चालिसेको दावी छ । उनले सुख्खा याममा तल्लो क्षेत्रमा पानी धमिलो हुने र तापक्रम पनि बढ्ने गरेको बताए । 
    ‘धेरै चिसो पानीमा डल्फिन बस्न सक्दैन’, उनले भने–‘यो बेलामा पहाडबाट आउने पानी कर्णाली पुलतर्फ ठिक्कको चिसो हुनु पर्दछ ।’    
    सन २०१६ मा बर्खा याममा प्राणीविद् सहितको टोलीले गणना गर्दा कैलालीका विभिन्न नदीहरुमा बच्चा र वयस्क सहित ६२ डल्फिन अभिलेख भएका थिए । हिउँद र सुख्खा याममा भने कर्णाली नदीमामात्र बिरलै डल्फिन देखिन्छन् । 
    सन २०१३ मा हिउँद र सुख्खा दुवै याममा तीन महिनासम्म अध्ययन गर्दा अध्ययनकर्ता गोपाल खनालले कर्णाली नदीको पश्चिमी सहायक नदीमा ६ देखि ८ वटा रैथाने डल्फिन फेला पारेका थिए । यसैगरी, मोहना नदीको खक्रौला घाट र कर्णाली–मोहना नदीको संगम स्थानमा १ देखि २ वटामात्रै र त्यति नै सङ्ख्यामा कर्णाली नदीको चौगुर्दी घाटमा रैथाने डल्फिन देखा परेको खनालले निष्कर्ष निकालेका थिए । 
    नेपालको कर्णाली र मोहना नदीमा स्थायी रुपमा बसोबास गर्ने डल्फिनको सङ्ख्या घट्दै जानुको मुख्यकारण नदीमा पाईने माछाको अनियन्त्रित सिकार, डल्फिनकै सिकार, विषादी प्रयोग र नदीको गहिराई तीव्र रुपमा घट्दै जानू रहेको अध्ययनकर्ता खनालको निष्कर्ष थियो । यसका साथै, कर्णाली नदी बगेर गएको स्थानमा भारतले बनाएको गिरीजापुरी बाँधले पनि डल्फिनको नियमित बसाइसराईमा अवरोध पु¥याएको उनको निष्कर्ष थियो । 
    अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयूसीएन) ले गङ्गेटिक प्रजातिको डल्फिनलाई सङ्कटापन्न सूचीमा राखेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले गङ्गेटिक डल्फिनलाई नेपालमा संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । कैलालीमा विगत दुई दशकदेखि स्थानीय संरक्षणकर्मी भोजराज श्रेष्ठ (गुलेली बाजे) को प्रयासमा डल्फिन संरक्षणको कार्य हुँदै आएको छ ।