Close This

कर्णाली नदीमा साहसिक जलयात्रा

शनिबार जेठ १९, २०७५/ Saturday 06-02-18
Paschim Today

धनगढी, १९ जेठ । कैलालीको कर्णाली नदीमा शुक्रवार एक हजार जनाले साहसिक जलयात्रा (¥याफ्टिङ्) गरेका छन् । 
    जिल्लामा कैलाली भ्रमण वर्ष सञ्चालन भइरहेको बेला आन्तरिक र भारतीय पर्यटकहरुले जलयात्राको आनन्द लिएका हुन । आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले गोदावरी च्याम्बर अफ कमर्शले साहसिक जलयात्राको आयोजना गरेको थियो । 
    प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले हरियो झण्डा देखाएर साहसिक जलयात्राको शुभारम्भ गरेका थिए । उनले कर्णाली नदीमा साहसिक जलयात्राको राम्रो सम्भावना रहेको बताए । 
    मुख्यमन्त्री भट्टले कर्णाली नदीमा जलयात्राका लागि आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने उल्लेख गरे । साहसिक जलयात्रामार्फत पर्यटन विकासमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । 
    ‘यो नदीमा ¥याफ्टिङमार्फत यहाँको पर्यटन विकास गर्न सकिन्छ’, मुख्यमन्त्रीले भने–‘यसको लागि धेरै राम्रो सम्भावना छ । भारत सहित विभिन्न देशबाट ¥याफ्टिङ्का लागि पर्यटक भित्र्याउन सकिन्छ ।’ 
    मोहन्याल गाउँपालिकाको कुइनेसम्म पुग्नका लागि बाटोघाटोको समस्या रहेकाले बाटो बनाउनका लागि आफूले पहल गर्ने मुख्यमन्त्री भट्टको भनाइ थियो । 
मोहन्याल गाउँपालिका–७ कुइनेबाट सुरु भएको साहसिक जलयात्रा चिसापानीसम्म (करिब २० किलोमिटर) भएको जलयात्रामा सहभागी दीपक उपाध्यायले जानकारी दिए । उनले दुई चरण गरेर एक हजारले साहसिक जलयात्रा गरेको बताए । साहसिक जलयात्रामा नेपाल–भारतबाट सहभागी भएकाहरुले रमाएका थिए । 
कर्णालीमा पहिलो पटक साहसिक जलयात्रा गर्दा निकै रमाइलो लागेको धनगढीका ओम चन्दले बताए । उनले प्रदेशवासी सबैले मिलेर यहाँ रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्न आवश्यक रहेको उल्लेख गरे ।