Close This

पैतृक सम्पत्ति बेचेर छोरीलाई एमबीबीएस

यज्ञवती बनिन् समुदायको अग्रणी चिकित्सक

सोमबार जेठ २८, २०७५/ Monday 06-11-18
Paschim Today

अविनाश चौधरी,
धनगढी, २८ जेठ । ‘छोरी मान्छेको जात ! अर्काको घरमा जाने । पढाएर के गर्छौ ?’ छ जना छोरीहरुकी आमा । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँकी मालामती राना थारुले छोरी पढाउँदा यस्ता प्रश्नै प्रश्नको सामना गर्नुप¥यो । 
    गाउँका बुढापाका, छरछिमेकले छोरी पढाउनुहुन्न भन्दै भड्काउन खोजे । सम्पत्ति सकाएर पढाएमा भोलीका दिन अलपत्र हुन्छौ भन्दै उनीहरुले तर्साए पनि । तर, मालामतीले यी कुराहरुको वास्ता गरिनन् । विविध अडचनका बावजुद छोरी पढाउनबाट पछि नहटेको उनको परिवारले अहिले एमबीबीएस महिला डाक्टर उत्पादन गर्न सफल भएको छ । 
    परिवारको काइली छोरी डा. यज्ञवती राना थारुले नेपालको इतिहासमा राना थारु समुदायबाट एमबीबीएस गर्ने पहिलो व्यक्ति बनेर छोरीहरु कमजोर नरहेको सावित गरेकी छिन् । उनले बङ्गलादेश स्थित ढाका युनभर्सिटी (डीयु) बाट सम्बन्धन प्राप्त कुमुदी वुमन्स मेडिकल कलेजबाट सन २०१८ मा एमबीबीएस पास गरेकी हुन । यज्ञवतीले एमबीबीएस पास गरेपछि मालामतीको परिवारका सदस्यहरुको छाती चौडा भएको छ । उनीहरु खुशीले गद्गद् छन् । 
    विभिन्न अडचनका बावजुद छोरीले एमबीबीएस पास गर्दा खुशीको सीमा नै नरहेको मालामतीले बताइन् । ‘जग्गा जमिन बेचेर छोरी नपढाऊ भनेर खुट्टा तान्ने प्रयास धेरैले गरे । छोरी पढाउनकै लागि मैले पनि थुप्रै सङ्घर्ष गर्नु प¥यो’, भावुक हुँदै उनले भनिन्–‘तर, हामीले पैतृक सम्पत्तीको लोभ गरेनौं । बच्चाको भविष्य हे¥यौं । अहिले हाम्रोसामू आएको नतिजाले गद्गद् बनाएको छ ।’
    शिक्षामा अझै पनि निकै तल रहेको राना थारु समुदायमा स्नातकोत्तर गरेका व्यक्ति औंलामा गिन्ती गर्न सकिने छन् । एमबीबीएस कसैले गरेकै थिएनन् । जग्गा जमिन बेचेर भोज भतेरमा रमाउने बढी छन् । तर, बालबच्चा पढाउनु पर्छ भन्ने चेत कमैलाई छ । सकारात्मक भन्दा नकारात्मक पक्षतर्फ बढी ध्यान केन्द्रित गर्ने समुदायको दलदलबाट निस्केर फक्रेको फूल हुन डा. यज्ञवती । 
    यद्यपि, उनलाई एमबीबीएस पढाउन अभिभावकलाई फलामको चिउरा चपाउनु जस्तै थियो । ३३ हजार नौ सय अमेरिकी डलर (नेरु ३६ लाख २७ हजार) कलेज शुःल्कमात्रै थियो । विदेशमा खान, बस्न गरेर झण्डै ५० लाख रुपिया जोहो गर्नु पर्ने थियो । ‘छोरीले एमबीबीएस पढ्ने इच्छा व्यक्त गरेपछि उसलाई पढाउन पैतृक सम्पत्ति बेच्नु बाहेक केहि उपाय थिएन’, यज्ञवतीका बुवा भज्जीले भने–‘मैले मनहेरामा रहेको एक बिघा ५ कट्ठा जग्गा बेचेर उसको पढाई खर्च ब्यहोरे । राम्ररी पढेर हामी सबैलाई गौरवान्वित बनाईन् ।’
    पैतृक सम्पत्ति भन्दा बच्चाहरुको भविष्य ठूलो भएको ठान्दै अचल सम्पत्ति बेचेर छोरी पढाएको उनले बताए । सात कक्षासम्ममात्रै अध्ययन गरेको भज्जीले अगाडि भने–‘म १३ वर्षको हुँदा बुवा बित्नुभयो । परिवारको जिम्मेवारी आएपछि मैले पढ्न पाएन । आफू नपढेकाले जायजेथा बेचेर छोरीहरु पढाएको हुँ ।’
    यज्ञवतीको डाक्टर बन्ने सपना सानैदेखिको थियो । तिम्रो लक्ष्य के हो, भनेर कसैले सोध्ने बित्तिकै उनको जवाफ हुन्थ्यौ, ‘डाक्टर बन्नु’ । त्यहि सपनाले ओतप्रोत उनले पढाईमा मिहिनेत गर्न कुनै कसर बाँकी राखिनन् । ‘मैले देखेको सपना पूरा गर्नको लागि धेरै मिहिनेत गरें’, डा. यज्ञवतीले भनिन्–‘अभिभावले सपोर्ट गर्नुभयो । र, त आज सपना पूरा भएको छ ।’ राना थारु समुदायबाट एमबीबीएस गर्ने पहिलो व्यक्ति हुन पाएकोमा आफूलाई असाध्यै खुशी लागेको उनले बताइन् । 
२०६७ सालमा काठमाण्डौंको बेबिलोन नेशनल स्कुलबाट प्रथम श्रेणीमा एसएसली पास गरेकी यज्ञवतीले विज्ञान विषय (जीवशास्त्र) लिएर पेन्टागन कलेजमा इन्टर पढिन् । ६२ प्रतिशत अङ्क प्राप्त गरेर इन्टर पास गरेपछि परिवारले इञ्जिनीयरिङ पढ्नका लागि काठमाण्डौंकै एक कलेजमा भर्ना गरि दिए । तर, उनले आफ्नो इच्छा एमबीबीएस पढ्ने रहेको सुनाइन् । ‘आमाबुवा राजी भएपछि नेपालमै एमबीबीएस पढ्न खोंजें’, डा. यज्ञवतीले अगाडि थपिन्–‘तर, नाम निकाल्न सकिन । पछि साथीहरुको सल्लाहमा बङ्गलादेश गएँ ।’
यसअघि, उनले धनगढीको फ्रि विल स्कुल, एरिष्टो र एलाइन्स स्कुलमा विभिन्न कक्षा गरी निम्न माध्यमिक तहसम्म अध्ययन गरेकी थिइन् । 
यज्ञवतीले एक वर्षको ‘इन्टर्न’ पछि नेपालमै काम गर्ने बताइन् । उनले भविष्यमा ‘डर्माटोलोजिष्ट’ बन्ने चाहना रहेको उल्लेख गरिन् । उनले आजको आवश्यकता शिक्षा रहेकोले सन्तानको इच्छानुसार पढाउन समेत सबैलाई आग्रह गरेकी छिन् । 
मालमाती र भज्जीका छ छोरी र एक छोरा गरी सात सन्तान छन् । छोरा बाहेक छ जना छोरीको शैक्षिक योग्यता गर्व गर्न लायक छ । जेठी छोरी सञ्जनाले एचए पढेकी छिन् । माइली छोरी सोनिया समाजशास्त्रमा स्नातकोत्तर, साइली छोरी हिरा एमबीए गरेर जागिरे भएकी छिन् । काइली यज्ञवती एमबीबीएस, काइली पछिको रेखा सिभिल इञ्जिनीयरिङ गरेकी छिन् भने कान्छी छोरी आयश्रेया राना इन्टर पास गरेर थेरापी डाक्टरको तयारी गर्दै छिन् ।  
सबैभन्दा कान्छो छोरा प्रज्वल कक्षा सातमा अध्ययन गरिरहेको मालामतीले बताइन् । ‘यी सबैलाई जग्गा बेचेर पढाएका छौं’ उनले भनिन् । छोरी पढाउनमा अब्बल मालामती राना थारु हाल प्रदेश नम्बर ७ मा प्रदेश सांसद छिन् । यसअघि, उनी पहिलो संविधान सभामा पनि सांसद भएकी थिइन् ।