Close This

‘शहीद परिवारको वितृष्णालाई बुझ्न जरुरी’

बुधबार जेठ ३०, २०७५/ Wednesday 06-13-18
Paschim Today

धनगढी, ३० जेठ । शहीदको बलिदानीबाट प्राप्त गणतन्त्र र सङ्घीयता संस्थागत हुने क्रममा पनि शहीद परिवार खुशी हुन नसकेकोप्रति प्रदेश नम्बर ७ प्रदेश सरकारका सदस्यले चिन्ता व्यक्त गरेका छन् । 
    १० वर्षे जनयुद्धका शहीद कैलालीका जोखन रत्गैया चौधरी (हिम्मत) को १६ औं स्मृति दिवसको अवसरमा मङ्गलवार धनगढीमा आयोजित शहीद जोखन रत्गैया चौधरी स्मृति प्रतिष्ठान घोषणा कार्यक्रममा सहभागी प्रदेश सरकार सदस्यहरुले यस्तो बताएका हुन । शहीदका बलिदानले मुलुकमा ठूला परिवर्तन आएको चर्चा गर्दै उनीहरुले शहीदले देखेको सपना र देखाएको बाटोलाई कसैले पनि भूल्न नहुने उल्लेख गरे । 
    मुख्यमन्त्री त्रिलोचन भट्टले मुलुकमा ठूला परिवर्तन हुँदा पनि शहीद परिवारहरु खुशी हुन नसकेको कुरा यथार्थ रहेको बताए । नेताहरुले शहीद परिवारका समस्या, मर्का बुझ्न नसक्दा वितृष्णा बढेको उल्लेख गर्दै उनले थपे–‘शहीद परिवारलाई सम्मान गर्ने सवालमा, उहाँहरुको समस्या बुझ्ने र सम्बोधन गर्ने सवालमा हामीहरु कहाँनिर चुक्यौं ? के कमी कमजोरी भयो, त्यो यथार्थ केलाउन एवम् बुझ्न जरुरी छ ।’
    सरकार र पार्टी पङ्तीका नेता सबैले शहीद परिवारको समस्यालाई बुझ्नु पर्ने मुख्यमन्त्री भट्टको भनाइ थियो । शहीदको सपना र शहीदले देखाएको बाटोलाई बिर्सेका छैनौ भन्र्दै उनले ती सबै पूरा गर्नका लागि अहिले बाटोमात्रै फरक अङ्गालेको चर्चा गरे । 
    ‘हिजोका दिन हामी सरकारकै विरुद्धमा लडेर सपना पूरा गर्ने अभियानमा थियौं’, मुख्यमन्त्रीले भने–‘आज हामी सरकारमा छौं । बाटोमात्रै फरक भएको छ । तर, शहीदले देखेको सपनालाई कदापि बिर्सिने छैनौं ।’
    मुलुकमा व्यवस्था परिवर्तनका लागि सङ्घर्षको क्रममा शहीद जोखनले शाहदत्त प्राप्त गरेको उल्लेख गर्दै उनले थारु समुदाय, जनजाति, पिछडिएका जातवर्गको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । ‘आगामि आर्थिक वर्षको बजेट मार्फत थारु समुदायको विकास कसरी गर्न सकिन्छ, भन्ने सवालमा हामी थारु अगुवाहरुसंग छलफलमा जुटेका छौं’, मुख्यमन्त्री भट्टले भने–‘थारु समुदाय सहित पिछडिएका सबै जातजातिको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।’
    जनयुद्ध र शहीदको देनले मुलुक सङ्घीयतामा अगाडि बढिरहेको उनको भनाइ थियो । अब गर्नु पर्ने कामको योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको मुख्यमन्त्री भट्टले बताए ।  
उनले राजनीतिक अधिकार प्राप्त भइसकेकाले अब आर्थिक विकास, मुलुकको समृद्धिका लागि अगाडि बढ्न जरुरी रहेको बताए । ‘हामीले पिछडिएका जातजातिको विकासका लागि पनि काम गर्नु पर्दछ’, मुख्यमन्त्री भट्टले भने । उनले शहीद र शहीदको रगत सबैको साझा रहेको उल्लेख गरे । मुख्यमन्त्री भट्टले शहीद जोखन रत्गैया चौधरी स्मृति प्रतिष्ठानको घोषणा समेत गरे । 
सोही कार्यक्रममा सामाजिक विकासमन्त्री दीर्घ सोडारीले लोकतन्त्र, गणतन्त्रका लागि बलिदानी दिनु भएका शहिद जोखन रत्गैयालाई सबैले सधैं सम्भी रहने बताए । उनले शहीद रत्गैयाको सम्मानमा स्थापित प्रतिष्ठानलाई सहयोग गर्नका लागि प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गरे । 
यस्तै, भूमि व्यवस्था, कृषि सहकारीमन्त्री विनिता चौधरीले शहीदका परिवारहरु विचल्लीमा रहेको चर्चा गर्दै उनीहरुको उचित व्यवस्थापन गर्न जरुरी रहेको बताइन् । शहीदको नाममा अहिलेसम्म केहि हुन नसकेको चर्चा गर्दै उनले भनिन्–‘शहीदले उठाएको अधुरा मुद्दा छन्, ती सबै पूरा गर्नका लागि अब हामी अगाडि बढ्नु पर्दछ । म प्रंदेश सरकारमा रहेकाले अब व्यक्तिगत रुपमा पनि पहल गर्नेछु ।’
शहीदको बलिदानीबाट आज कोही मन्त्री, कोही सांसद, कोही नगर प्रमुख बन्न पाएकाले शहीदको सपना पूरा गर्न सबै तत्पर हुनु पर्नेमा मन्त्री चौधरीको जोड थियो । यसैगरी, थारु राष्ट्रिय मुक्ति मोर्चाका दुर्गाबहादुर थारुले शहीद जोखन रत्गैया सहित थारु समुदायले उठाएको माग अझै पूरा नभएको बताए । थारु राष्ट्रिय मुक्ति मोर्चाको आयोजनामा कार्यक्रम भएको थियो । 
यसैगरी, राष्ट्रिय सभा सदस्य हरि चौधरी उत्सवले शहीदले देखाएको बाटोलाई नबिर्सिकन सपना पूरा गर्नु पर्ने बताए । 
जोखन : व्यक्ति एक, व्यक्तित्व अनेक
शहीद जोखन रत्गैया चौधरी विक्रम सम्वत २०२५ सालमा तत्कालिन हसुलिया गाविकासको हसुलिया गाउँमा जन्मिएका थिए । 
    कैलाली बहुमुखी क्याम्पसबाट स्नातक पास गरेका उनी अहेबको पनि अध्ययन गरेका थिए । २०४४ सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मोटो मसालमा आबद्ध हुँदै कम्युनिष्ट राजनीतिमा होमिएका थिए । सो क्रममा उनले गरिब, मजदुर, किसान, पीडित वर्ग, समुदायको पक्षमा निरन्तर वकालत गरेका थिए । 
    २०४७ सालमा उनी नेकपा एकता केन्द्रको सदस्य भए । २०५० सालमा उनलाई पार्टीको तर्फबाट कैलाली जिल्ला किसान संघको अध्यक्ष बनाइयो । उनी गरिब, किसान, सुकुम्बासी, श्रमिक, मजदुर, सर्वहारा वर्गको बीचमा लोकप्रिय नेताको रुपमा स्थापित हुँदै गए । तत्कालिन माओवादीले जनयुद्ध थालेपछि उनी त्यसैमा होमिए । २०५४ सालमा उनी नेकपा माओवादीतर्फबाट गठित थारु राष्ट्रिय मुक्ति मोर्चाको संस्थापक पहिलो केन्द्रीय महासचिव भए । 
    माओवादी जनयुद्ध चर्किदै जाँदा २०५५ सालमा उनलाई सो पार्टीको उपब्युरो सदस्य र कैलालीको डीसीएसमा निर्वाचित गरियो । यसरी एकातिर उनी माओवादी पार्टीको विभिन्न तहमा रहेर संगठन निर्माण, विस्तारमा लागे । भने, अर्कोतिर उनी थारु भाषाको ‘गोचाली’ पत्रिकाको सम्पादक भएर गरिब, निमुखा, पीडितको पक्षमा कलम चलाउँदै सचेत पार्ने काम गरे । व्यक्ति एक भए पनि विविध व्यक्तित्व बोकेका रत्गैयालाई माओवादी पार्टीको काममा खटेको बेला २०५९ साल जेठ २९ गते कैलालीको भजनी नगरपालिकास्थित कन्हैयापुरमा नेपाली सेनाले घेरा हालेर कब्जा लियो । त्यहि ठाउँमा सोही दिन गोली हानेर उनको हत्या गरिएको थियो ।