Close This

विपद् पूर्वको तयारी आवश्यक

आइतबार असार ३, २०७५/ Sunday 06-17-18
Paschim Today


कैलाली जिल्ला विपद्को उच्च जोखिममा छ । वर्षेनी वर्षायाममा बाढी र डुबानबाट कैलाली जिल्ला नराम्ररी प्रभावित हुने गरेको छ । बाढी र डुबानबाट बिगत केही वर्षयता मानवीय क्षति न्यून भएपनि भौतिक तथा बालीनालीमा ठूलो क्षति हुने गरेको छ ।
वाढी र डुबानमा परेर वर्षेनी सयौ परिवार बिस्थापित हुने गरेका छन् । समयमा उद्दार हुन नसक्दा र विस्थापित भएका तथा डुबानमा परेकाहरुले राहत समयमा नपाउने समस्या वर्षेनी उस्तै छ । र कतिपय बाढी प्रभावितले राहत नै नपाउने, कतिपयले पटक पटक पाउने गुनासो पनि बाढी पिडितहरुले गर्दै आएका छन् । राहत भनेको अप्ठ्यारोमा परेकाबेला उपलब्ध गराउने चिज हो । तर वर्षदिन बित्दा पनि कतिपयले राहत पाउदैनन । यो विषयमा पनि जिल्ला दैवी प्रकोप उद्दार समिति गम्भीर हुन जरुरी छ ।
अझ बाढी पिडितहरुको स्वास्थ्य उपचारमा पनि जति ध्यान दिनुपथ्र्यो, दिएको पाईदैन । बाढीबाट प्रभावित भएका गर्भवती महिला, सुत्केरी र नवजात शिशुहरुको स्वास्थ्यमा पनि प्रतिकुल असर पर्ने गरेको छ ।  
वर्षेनी बर्षायाममा डुबानबाट प्रभावित हुदै आएको कैलालीको झण्डै आधा भूभाग बाढीबाट प्रभावित हुने गरेको छ । तर बाढी प्रभावित क्षेत्रमा बिपद् पूर्व अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने आवश्यक तयारी हुन नसकेको पाईएको छ । जिल्ला दैवी प्रकोप उद्दार समिति र उद्दार तथा राहतमा संलग्न संघसंस्थाहरुले बिपद् पूर्वको तयारीमा बिशेष ध्यान दिन आवश्यक छ । विपद् पूर्व सावधानी अपनाउनु जरुरी छ । विपद्बाट हुन सक्ने संभावित क्षतिलाई रोक्न वा हुन नदिन आवश्यक सजगता र त्यसका लागि अपनाउनुपर्ने उपाय अविलम्ब आत्मसात गर्नुपर्छ । 
मानवअधिकारका दृष्टिकोणबाट मात्र नभएर मानवीयता र व्यक्तिको सुरक्षाका लागि स्थानीय प्रहरी, प्रशासन र स्थानीय सरकारले बिपद् पूर्व आवश्यक तयारी गर्नुपर्छ । प्राकृतिक विपत्ति तथा प्रकोपपछि पश्चाताप गर्नु भन्दा पहिले नै त्यसबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि पूर्व साबधानी र तयारी अपनाउन आवश्यक छ । विप्दको समयमा मानवअधिकारको स्थिति दयनीय हुने गरेको औल्याउदै विपद्मा परेका व्यक्तिहरुको उद्दार, राहत र स्वास्थ्यका लागि सचेत र चनाखो रहन जरुरी छ । बिपद् तथा दैवी प्रकोपमा परी कसैले अनाहकमा ज्यान गुमाउनु नपरोस भनेर स्थानीय सरकार, जिल्ला प्रशासन सजग र सचेत हुन जरुरी छ ।