Close This

प्रदेश नम्बर ७ का लागि संघीय बजेट ईतिहासकै निराशाजनक र लाजमर्दो–पूर्व मन्त्री लेखक

आइतबार असार ३, २०७५/ Sunday 06-17-18
Paschim Today

 

कञ्चनपुर, ३ असार ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व भौतिक पूर्बाधार तथा यातायात मन्त्री रमेश लेखकले प्रदेश नम्बर ७ का लागि संघीय सरकारको बजेट ईतिहासकै सबैभन्दा निराशाजनक र लाजमर्दो भएको बताएका छन् ।
आफू एक वर्ष भौतिक पूर्बाधार तथा यातायात मन्त्री हुदा प्रदेश नम्बर ७ मा भौतिक पूर्बाधार तथा यातायातका क्षेत्रमा कुल बजेटको ३५ प्रतिशत बजेट ल्याएको दावी गरे ।
सुदूरपश्चिमले भौतिक पूर्बाधार तथा यातायातका क्षेत्रमा ८ प्रतिशतभन्दा बढि बजेट कहिल्यै नपाएको अवस्थामा आफूले ३५ प्रतिशत बजेट ल्याएको पूर्व मन्त्री लेखकले बताए ।
पूर्व मन्त्री लेखकले केपी ओलीको नेतृत्वमा रहेको सरकारले प्रदेश नम्बर ७ लाई चरम उपेक्षा गरेको र नेकपाका सांसदहरु सरकारका अगाडि निरिह रहेको समेत आरोप लगाए ।
उनले आफ्नो पालामा कञ्चनपुरमा ४५ वटा पुल, महाकाली नदीमा ४ लेनको पुल, दैजी, बेलौरी हुदै डोकेबजार जोड्ने हुलाकी राजमार्ग, अत्तरीया मोहना ६ लेन सडक, महाकाली लोकमार्ग, खुटिया दीपायल दु्रत मार्ग, सेती लोकमार्ग, गड्डाचौकीदेखि दोधरा चाँदनी जोड्ने ४ लेनको राजमार्ग, महाकाली सिंचाई, महाकाली तटबन्ध, जोगबुढा नदीको पुल, जोगबुढामा तटबन्ध लगायत सयभन्दा बढि योजना प्रदेश नम्बर ७ मा पारेको बताए ।
काम सम्पन्न भएका र सम्पन्न हुनेक्रममा रहेका योजनामा निकासा गर्नुपर्ने रकम पनि सरकारले निकासा गरेको छैन, लेखकले भने, ७ नम्बर प्रदेश यतिबिधि कहिल्यै कुनै सरकारबाट हेपिएको थिएन ।
बहुमतको संघीय सरकार छ । ७ प्रदेशमा पनि उनीहरुकै सांसद छन्, न जितेकाहरुले बजेट ल्याउन दवाव दिन सके, न त सरकारले नै बजेट छुट्याउन उदारता देखायो,नेता लेखकले भने, यो प्रदेश नम्बर ७ का जनतामाथिको ठूलो घात हो ।
आफ्नो पालामा अन्यत्रको बजेट समेत तानेर १० अर्वभन्दा बढिका योजना सञ्चालनमा ल्याएको बताउदै पूर्व मन्त्री लेखकले बर्तमान सरकारले ती योजना मध्ये अधिकांश योजनामा सरकारले बजेट नै नछुट्याएको र कतिपय योजनामा अत्यन्त न्यून बजेट छुट्याएको गुनासो गरे ।
बर्तमान सरकारले नयाँ योजनामा बजेट छुट्याउनु त टाढाको कुरा मेरो पालामा शुरु भएका योजना पुरा गर्नलाई समेत बजेट छुट्याएको छैन, लेखकले भने, प्रदेश नम्बर ७ माथि संघीय सरकारले गरेको यो भन्दा ठूलो बिभेद के हुन सक्छ ?
उनले आफ्नो पालामा सबैभन्दा बढि बजेट प्रदेश नम्बर ७ ले पाएको र बर्तमान सरकारले आफ्नो पालामा शुरु भएका योजनालाई निरन्तरता दिन र ती योजनालाई सम्पन्न गर्न समेत बजेट नछुट्याएको आरोप लगाए ।
पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता  लेखकले संसदमा नेकपाका केही सांसदहरुले बजेट न्यून छुट्याएको र कुनै ठूला योजना नपारेकोमा बिरोध गरेपनि आफ्नै सांसदहरुका मागको सुनुवाई गर्न सरकार उदासिन रहेको बताए ।
लेखक झण्डै एक वर्ष भौतिक पूर्बाधार तथा यातायात मन्त्री भएका थिए । एक वर्षमात्र सरकारमा रहेपनि आफ्नो पहलमा सुदूरपश्चिममा इतिहासमै सबैभन्दा बढि योजना परेका थिए ।