Close This

विद्यार्थी भर्ना नभएपछि विद्यालय बन्द

सोमबार असार ४, २०७५/ Monday 06-18-18
Paschim Today
विद्यार्थी भर्ना नभएपछि बन्द गरिएको जनता आधारभूत विद्यालय ।         

पश्चिम टुडे, धनगढी ३ असार । 
अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको चाप बढेको बेला कैलालीको एक विद्यालय भने विद्यार्थी नपाएर बन्द भएको छ । 
    कैलारी गाउँपालिका वडा नम्बर ८ लौसामा रहेको जनता आधारभूत विद्यालय चालू शैक्षिक सत्रबाट बन्द भएको हो । उक्त विद्यालयमा एक जना पनि विद्यार्थी भर्ना भएनन् । १ देखि ५ सम्मको कक्षामा एक जना पनि विद्यार्थी भर्ना नभएपछि साढे दुई दशक इतिहास बोकेको विद्यालय बन्द गर्नु परेको व्यवस्थापन समितिका अध्यक्ष जगतराम कठरियाले जानकारी दिए ।  
    ‘चालू शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना भएनन्’, उनले भने–‘विद्यार्थी नै नभएपछि विद्यालय कसरी चल्नू, बन्द गरियो ।’ 
    सामुदायिक विद्यालयमा विद्यार्थी घट्न थालेपछि गतविगतको शैक्षिकसत्रबाटै यहाँका केहि विद्यालयहरुले अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरेका छन् । यस्तो व्यवस्थाले ति सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या बढेको छ । तर, पुरानै ढर्रामामा चलेका सामुदायिक विद्यालयहरुमा भने विद्यार्थी संख्या घट्दै गएको छ । 
    अङ्ग्रेजी सिकाई र शिक्षालाई महत्व दिएका अभिभावहरुले सामुदायिक विद्यालयको सट्टा निजी विद्यालयहरुमा आफ्नो बालबच्चा भर्ना गर्ने गरेको पाइएको छ । उनीहरुले सामुदायिक विद्यालयबाट आफ्ना सन्तानहरुलाई निकालेर निजी विद्यालयमा पठाउने गरेका छन् । 
    गतवर्ष निजी विद्यालय सहित अन्यत्र भर्ना भएका विद्यार्थीहरुलाई अभिभाव भेला गरेर विद्यालयमा ल्याए पनि यो वर्ष कसैलाई रोक्न नसकेको अध्यक्ष कठरियाले बताए । ‘अघिल्लो शैक्षिकसत्रमा विद्यार्थी फर्काएर विद्यालय सञ्चालन गरेका थियौं’, उनले भने–‘यो वर्ष सबै विद्यार्थी अन्तै भर्ना भए । फर्काउन सकिएन । विद्यालय बन्द गर्नुप¥यो ।’
    विद्यालयका शिक्षकहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्दा विद्यार्थी अन्तै गएको अध्यक्ष कठरियाको दावी छ । उनले विद्यालयको विद्यार्थी अन्यत्र जानु र विद्यालय बन्द हुनुको दोष शिक्षकमाथि थोपारे । ‘कम विद्यार्थी हुँदा पनि शिक्षकले गुणस्तरीय शिक्षा प्रदान गर्न सकेनन् । हामीले पटक–पटक शिक्षकहरुको ध्यानाकार्षण गराउँदा पनि कार्यरत शिक्षकहरु गैर जिम्मेवार बनेपछि विद्यालय यो नियतिमा पुगेको हो ।’ अध्यक्ष कठरियाले भने । 
    शैक्षिक सत्र २०६९÷०७० मा जनता आधारभूत विद्यालयमा निम्न माध्यमिक तहसम्मको पढाई भएको थियो । विद्यार्थी घट्दै गएपछि कक्षा ५ सम्ममा खुम्चिएको उक्त विद्यालय चालू शैक्षिकसत्रमा विद्यार्थीबिहीन बन्न पुग्यो । 
    विद्यार्थी नभएपछि पाँच जना शिक्षक सहित एक जना कार्यालय सहयोगी गरी ६ जना कर्मचारी कामबिहीन भएका छन् । तीन जना राहत दरबन्दीका शिक्षकहरु काज सरुवाको प्रक्रियामा जुटेका छन् । 
    राहत कोटाका शिक्षकलाई अन्यत्र काज सरुवा पठाउनका लागि विद्यालय व्यवस्थापन समितिले कैलारी गाउँपालिकालाई पत्र पठाएको छ । काज सरुवाको टुङ्गो भने अझैसम्म नलागेको विद्यालयका प्रधानाध्यापक गोरखबहादुर नेपालीले बताए । 
    उनले विद्यालयमा गुणस्तरीय शिक्षा नरहेको विद्यालय व्यवस्थापनको आरोपमा कुनै सत्यता नहरेको दावी गरे । कक्षा भार अनुसार नै पठनपाठन गराएको बताउँदै प्रअ नेपालीले भने–‘शिक्षा ऐन अनुसार एक शिक्षक बराबर ५० जना विद्यार्थी हुनु पर्दछ । तर, शिक्षक भार अनुसार विद्यार्थी नभएपछि विद्यालय यो अवस्थामा पुगेको हो । विद्यालय बन्द भएको दोष जति शिक्षकको टाउकोमा थुपार्न मिल्दैन । यसमा व्यवस्थापन समिति पनि जिम्मेवार छ ।’
    व्यवस्थापन समिति र राहत दरबन्दीमा कार्यरत शिक्षकबीचको आन्तरिक विवादले विद्यालय बन्द भएको प्रअ नेपालीको दावी छ । उनले भने–‘समिति र शिक्षकबीचको सम्बन्ध राम्रो हुन सकेन । भित्रभित्रै विवाद चुलिएपछि विद्यालयबाट विद्यार्थी अन्यत्र भर्ना भए ।’
    विद्यालय व्यवस्थापन समितिले राहत दरबन्दी शिक्षकको तलब विद्यालयको खातामा जम्मा हुनु पर्ने अडान लिएको थियो । तर, दरबन्दीमा कार्यरत शिक्षकले आफूहरुको तलब विद्यालयको खातामा दिन नमिल्ने जिकिर गरेपछि समिति र दरबन्दी शिक्षकबीचको सम्बन्ध चिसिएको थियो । उक्त विवाद विद्यार्थी, अभिभावक सबै समक्ष पुगेपछि विद्यालयमा विद्यार्थी भर्ना नभएको प्रअ नेपालीले बताए । 
    ‘निजी स्रोतबाट राखिएका शिक्षकलाई तलब खुवाउनका लागि राहत दरबन्दीका शिक्षकको तलब विद्यालयको खातामा आउनु पर्ने जोड व्यवस्थापन समितिको थियो’, उनले भने–‘तर, दरबन्दी शिक्षकहरुले नकारेपछि चुलिएको विवादले विद्यालय समेत बन्द गर्नेसम्मको रुप लियो ।’
    विक्रम सम्वत २०५० सालमा स्थापना भएको विद्यालयमा केहि वर्षसम्म हरेक शैक्षिक सत्रमा दुई सय भन्दा बढी विद्यार्थीले पठनपाठन गरेका थिए । तर, हाल सो विद्यालय विद्यार्थीबिहीन बनेको छ । आधारभूत विद्यालय बन्द भएपछि सोही विद्यालयमा बाल विकास केन्द्र सञ्चालन गरिएको छ । बाल विकास केन्द्रमा १३ जना विद्यार्थी रहेको जनाइएको छ । 
    गाउँका समाजसेवी डम्मन कठरियाले चार कट्ठा जग्गादान गरेपछि विद्यालय स्थापना भएको थियो । विद्यार्थीबिहीन बनेको विद्यालयको दुई कोठे तीन वटा पक्की भवन, एउटा कच्ची भवन लगायतको भौतिक संरचना रहेको छ । नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना नभएपछि यी भौतिक संरचना प्रयोगबिहीन बनेका छन् ।