धनगढीमा प्रदेश नम्बर ७ कै सुबिधा सम्पन्न अस्पताल खुल्दै, 

साउनको अन्तिम सातासम्म सञ्चालनमा ल्याउने तयारी

बिहीबार असार ७, २०७५/ Thursday 06-21-18
Paschim Today

धनगढी, ७ असार।
कैलालीको धनगढीमा प्रदेश नम्बर ७ कै सुबिधा सम्पन्न अस्पताल सञ्चालनमा आउने भएको छ ।
एक महिना भित्र सञ्चालनमा ल्याउने गरी धनगढी चटकपुरमा माया मेट्रो हस्पिटल प्रा.लिको तिब्र गतिले निर्माण भईरहेको छ ।
माया मेट्रो हस्पिटल प्रा.लिका अध्यक्ष धिरेन्द्र सावँदले ढिलोमा साउनको अन्तिमसाता अस्पतालले सेवा शुरु गर्ने बताए ।
नौ जना बिशेषज्ञ टीम र व्यापारिक घरानाको करीव १० करोड रुपैयाको संयुक्त लगानीमा शुरु हुन लागेको माया मेट्रो हस्पिटल प्रा.लिले २५ शैयाको अनुमती लिईसकेको छ । अस्पतालका अध्यक्ष सावँदले ५० शैयाको अनुमतीका लागि समेत प्रकृया अगाडि बढाईएको जानकारी दिए ।
बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगायत नेपालका बिभिन्न मेडिकल कलेज र अस्पतालमा लामो समयदेखि काम गर्दै आएका अनुभवी बिशेषज्ञ चिकित्सकहरुले आफ्नै क्षेत्रमा सेवा गर्ने उद्देश्यले यस क्षेत्रका व्यवसायीहरुसंगको सहकार्यमा अस्पताल सञ्चालनमा आएका हुन् । चितवन  मेडिकल कलेजमा कार्यरत रेडियोलोजिष्ट डा. विवेक खड्काको चटकपुरस्थित घरमा सञ्चालनमा ल्याउन लागिएको अस्पतालमा डा. खड्काको समेत लगानी छ । 
माया मेट्रो  हस्पिटलका सञ्चालक रहेका बालरोग बिशेषज्ञ डा.मोहन सावँद लगायत अधिकांश चिकित्सक बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा कार्यरत बिशेषज्ञ चिकित्सकहरु छन् । अस्पातलका अध्यक्ष सावँदले भने, आफ्नै क्षेत्रका जनतालाई गुणस्तरीय सेवा दिने उद्देश्यले अन्यत्रको आकर्षक सुबिधा र जागीर छोडेर उहाँहरु यहाँ आउदै हुनुहुन्छ । 
शुरुवातमा १३ जना बिशेषज्ञ चिकित्सकहरु रहने जानकारी दिदै अध्यक्ष सावदले आवश्यकता र मागका आधारमा बिशेषज्ञ चिकित्सकहरु थप गरिने बताए ।
आईसियु ७ शैया, एनआईसियु ६ शैया र ६ शैयाको वातानुकुलित डिलक्स क्याविन सेवा सहित शुरु गर्न लागिएको माया मेट्रो  हस्पिटल प्रा.लिले प्रदेशमै उत्कृष्ट प्याथोलोजी सेवा दिने दावी गरेको छ ।
हालसम्म प्रदेश नम्बर ७ मा सेती अञ्चल अस्पताल धनगढीमा मात्र ४ शैयाको आईसियु सञ्चालनमा रहेकोमा माया मेट्रो हस्पिटल प्रा.लि आईसियु सुबिधा दिने पहिलो निजी अस्पताल हुने छ । अध्यक्ष सावँदले भने,आईसियुको शैयाको संख्याका हिसावले भने यो प्रदेश नम्बर ७ को पहिलो र सबैभन्दा बढि शैयाको सुबिधा दिने अस्पताल हुनेछ ।
अध्यक्ष सावदले अस्पतालले ईन्डोस्कोपी, कोलोनोस्कोपी, क्यान्सर स्क्रिनिङ र सिटि स्क्यान लगायतमा सेवा पनि दिने बताए ।
उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्यका साथै जटिल रोगको उपचार र अप्रशेनहरु एउटै थलोमा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागिएको माया मेट्रो हस्पिटल प्रा.लि निर्देशक बालरोग बिशेषज्ञ मोहन सावँदले जानकारी दिए ।