Close This

भारतले एक साताभित्रै गौरीफन्टा नाकामा क्वारेन्टाईन चेकपोष्ट स्थापना गर्दै

बिहीबार असार ७, २०७५/ Thursday 06-21-18
Paschim Today


धनगढी, ७ असार ।
भारत सरकारले गौरीफन्टा नाकामा क्वारेन्टाईन चेकपोष्ट राख्ने भएको छ । उसले गौरीफन्टासंगै भित्तामोडमा एक साता भित्र क्वारेन्टाईन चेक पोष्ट स्थापना गर्ने जनाएको छ ।
गौरीफन्टा नाकामा भारत सरकारले क्वारेन्टाईन चेकपोष्ट स्थापना गर्ने खवरले प्रदेश नम्बर ७ का उद्योगीहरु भने निकै उत्साही भएका छन् । उनीहरुले क्वारेन्टाईन चेकपोष्ट स्थापना हुनु अत्यन्त सुखद खवर भएको बताएका छन् ।
गौरीफन्टा नाकामा क्वारेन्टाईन चेकपोष्ट नहुदा प्रदेश नम्बर ७ का उद्योगी तथा यहाँका कृषकहरुले निकै सास्ती भोग्नुपरेको थियो ।
गौरीफन्टा नाकामा क्वारेन्टाईन चेकपोष्ट नहुदा कृषि उत्पादन तथा यहाँबाट भारत निर्यात गर्ने वस्तुहरु  नेपालगञ्ज भएर पठाउनुपर्दा ढुवानी मूल्य चर्को व्यहोर्नु पर्ने झञ्झट थियो ।
बरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवालले भारत सरकारले क्वारेन्टाईन चेकपोष्ट स्थापना गर्नु प्रदेश नम्बर ७ का उद्योगी र कृषकहरुका लागि सुखद खवर भएको बताए ।

गौरीफन्टामा क्वारेन्टाईन चेकपोष्ट स्थापनाले कृषिजन्य उत्पादन निर्यातमा सहज त हुनेछ नै ।  साथै किसानले कृषि उत्पादनको उचित मूल्य पाउनेछन् । र उद्योगीहरुको समय र ढुवानीमा समेत बचत हुनेछ, बरिष्ठ उद्योगपति अग्रवालले भने, क्वारेन्टाईन चेकपोष्ट नहुदा प्रदेश नम्बर ७ अहिलेसम्म प्रदेश नम्बर ५ को नाकामा निर्भर थियो । गौरीफन्टामा क्वारेन्टाईन चेकपोष्टको स्थापनाले प्रदेश नम्बर ७ को अन्य प्रदेशमाथिको निर्भरताको अन्त्य भएको छ ।
यसअघि गौरीफन्टा नाकामा क्वारेन्टाईन चेक पोष्ट नहुदा पहाडबाट आउने अदुवा, जडिबुटी, कृषि जन्य अन्य उत्पादनहरु नेपालगञ्ज नाका भएर भारत निर्यात हुने गरेको थियो ।
यहाँबाट निर्यात हुने कृषिजन्य उत्पादन नेपालगञ्ज भएर भारत  पठाउनुपथ्र्यो,बरिष्ठ उद्योगपति अग्रवालले भने,गौरीफन्टा नाकामा क्वारेन्टाईन चेकपोष्ट स्थापना भएपछि विदेशी मुद्रा आर्जनमा यस प्रदेशका उद्योगी र कृषकहरुलाई सजिलो हुनेछ ।
ठाकुर एग्रो ईण्डष्ट्रिजका सञ्चालक हरीशंकर ठाकुरले भारतले गौरीफन्टा नाकामा क्वारेन्टाईन चेकपोष्ट राख्नु स्वागत योग्य कदम भएको बताए ।
वेष्टर्न फिडका सञ्चालक मनोज अग्रवालले गौरीफन्टा नाकामा क्वारेन्टाईन चेकपोष्ट स्थापना भएपछि यस प्रदेशका उत्पादन भारत निर्यात गर्न अत्यन्त सहज हुने बताए ।