Close This

समृद्धिका लागि औद्योगिकरण

शुक्रबार असार ८, २०७५/ Friday 06-22-18
Paschim Today

कैलाली कञ्चनपुरमा बिगत दुई दशकयता एक दर्जन भन्दा बढि साना खाद्य उद्योग बन्द भएका छन् । कतिपय आर्थिक संकटका कारण त कतिपय व्यववस्थापकीय कमजोरीका कारण बन्द भएका हुन् । यो अबधिमा प्रदेश नम्बर ७ का दुई वटा ठूला उद्योग बन्द भए । नेपाल रोजिन एण्ड टर्पेन्टाईन र बासुलिङ सुगरमिल बन्द भएपछि प्रदेश नम्बर ७ ठूला उद्योग बिहिन बनेको थियो ।
केही वर्ष अघि कञ्चनपुरमा खुलेका महाकाली सुगरमिल र भागेश्वर सुगर मिल पनि कच्चा पदार्थ उखुको आपूर्ती पर्याप्त नभएका कारण क्षमता अनुसार उत्पादन गर्न सकिरहेका छैनन । भागेश्वर सुगर मिलको  लगानी झण्डै सय करोड रुपैया रहेको छ । महाकाली सुगरमिलले पनि आफ्नो क्षमता बृद्धिका लागि लगानी थपेको छ । त्यस बाहेक ठूला उद्योग खुल्न सकेका छैनन । 
उद्योगमैत्री नीति नभएसम्म ठूला उद्योग खुल्न सक्ने अवस्था छैन । अझ निर्यातजन्य उद्योग नखोली बाह्य पूँजि भित्रिदैन । आयातले मात्र अर्थतन्त्रको विकास हुन सक्दैन । अर्थतन्त्रको विकासका लागि निर्यातजन्य उद्योग खुल्न जरुरी छ । 
तर त्यसका लागि औद्यागिक करिडर स्थापना गर्न आवश्यक छ । सरकारले सहुलियत दरमा जग्गा उपलब्ध गराउनुपर्छ । जग्गाको मूल्य चर्को भएका कारण उद्योग स्थापनाका लागि छुट्याईएको बजेट जग्गा खरीद गर्न नै पुग्ने अवस्था छैन । ऋण र बिजुलीमा सहुलियत दिनुपर्छ । उद्योग सञ्चालनपछि स्थानीय स्तरबाट कुनै बाधा व्यवधान नहुने अवस्थाको सुनिश्चितता गर्नुप¥यो । 
ठूला उद्योगमा बाह्य पूँजि भित्र्याउन आवश्यक छ । लगानीको सुरक्षा नभई यहीका व्यवसायीहरुले लगानी गर्ने अवस्था हुदैन । त्यस्तो अवस्थामा बाहिरबाट व्यवसायीहरु यहाँ आएर लगानी गर्न सक्दैनन । प्रदेश सरकारले उद्योगमैत्री नीति ल्याए ल्यानुका साथै लगानीको सुरक्षाको ग्यारेण्टी गरे मात्र बाह्य लगानी भित्रिनेछ । 
हाम्रो बजार सानो छ । सानो बजारमा ठूलो लगानी गरेर उद्योग सञ्चालन गर्न चुनौतीपूर्ण हुन्छ । ठूला उद्योगको स्थापना र विकासका लागि सहुलियत दरमा जग्गा, बिजुलीमा सहुलियत, केही वर्षसम्म व्याजमा छुट दिने नीति हुनुपर्छ । उद्योगहरु प्रतिस्पर्धाका लागि सक्षम नभएसम्म राज्यको सहयोग आवश्यक छ ।
ठूला उद्योगहरुको स्थापना र विकासका लागि गौरीफन्टा नाकाको स्तरोन्नती र  दोधरा चाँदनी सुख्खा बन्दरगाहको स्थापना यथाशिघ्र हुनुपर्छ ।
कच्चा पदार्थ पनि भारतबाट ल्याएर सञ्चालन गर्नुपर्छ । बिरगञ्ज र भैरहवा भएर भारतीय कच्चा पदार्थ भित्र्याएर सञ्चालन भएका उद्योगले अन्य प्रदेशका उद्योगका उत्पादनसंग प्रतिस्पर्धा गर्नै । कच्चा पदार्थ ढुवानी र मूल्यमै बढि लगानी भएपछि अन्यत्रका उद्योगहरुसंग प्रतिस्पर्धा गर्न संभव छैन ।
समृद्धिका लागि औद्योगिकरण आवश्यक छ । औद्योगिकरण भएपछि मात्र रोजगारीको सृजना हुनेछ । तव मात्र युवा र जनशक्ति पलायन रोकिनेछ । प्रदेश सरकारले औद्योगिकरणमा जोड दिन जरुरी छ । करमाथि कर लगाउने भन्दा  पनि केही वर्ष करमा सहुलियत दिएर औद्योगिकरणका लागि उपर्युक्त वातावरण सृजना गर्न आवश्यक छ ।