Close This

डा. विद्या प्रसाद पन्तलाई सार्क एकेडेमी अफ अप्थलामोलोजी एक्सलेन्सी अवार्ड

शनिबार असार ९, २०७५/ Saturday 06-23-18
Paschim Today


काठमाण्डौं, ९ असार  ।
सार्क स्तरीय आँखा चिकित्सकहरुको संस्था सार्क एकेडेमी अफ अप्थलमोलोजीले सन २०१८ को सार्क एकेडेमी अफ अप्थलमोलोजी एक्सलेन्सी अवार्ड डा. विद्या प्रसाद पन्तलाई प्रदान गरेको छ ।
सार्क देशहरुमा आँखा उपचारमा बिशिष्ट योगदान पु¥याए वाफत डा. पन्तलाई काठमाण्डौंमा आयोजित एक समारोहमा सार्क एकेडेमी अफ अप्थलामोलोजीले यो अवार्ड प्रदान गरेको हो ।
प्रत्येक दुई वर्षमा प्रदान गरिने यो अवार्ड यस वर्ष डा. पन्त सहित चार जनालाई प्रदान गरिएको छ ।
सुदूरपश्चिमलाई कर्मथलो बनाई तीन दशकदेखि आँखा उपचारका क्षेत्रमा कार्यरत डा. पन्त प्रदेश नम्बर ७ बाट अन्तर्राष्ट्रिय क्षेत्रमा सबैभन्दा बढि अवार्ड तथा सम्मान प्राप्त पहिलो व्यक्ति हुन् ।
गेटा आँखा अस्पतालको निर्देशक समेत रहीसकेका डा. पन्तकै दिनरातको मिहिनेतका कारण कटेरोमा सञ्चालित गेटा आँखा अस्पताल अत्याधुनिक र सुबिधा सम्पन्न भएको हो । डा. पन्तकै मिहिनेतका कारण गेटा आँखा अस्पतालले नेपालमै छुट्टै पहिचान बनाएको हो ।
डा. पन्तले प्रदेश नम्बर ७ का बिकट भेगहरुमा समेत आँखाको शिविर सञ्चालन गरी हजारौ व्यक्तिहरुको गुमेको आँखाको ज्योती फर्काएर उज्यालो संसार देखाएका छन् ।
एसिया प्यासेफिक एकेडेमी अफ अप्थालमोलोजीले २००७ पाकिस्तानको लाहोरमा ग्रामिण भेग तथा समुदायमा गएर आँखा उपचारका क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै डाक्टर पन्तलाई अवार्ड प्रदान गरेको थियो ।
त्यसैवर्ष बेलायतकै प्रतिष्ठित संस्था ईन्स्टिच्युट अफ कम्युनिटी आई हेल्थले  समुदायमा आँखा उपचारका क्षेत्रमा बिशिष्ट योगदान पु¥याए पाफत सम्मान गरेको थियो ।  
संसारकै प्रतिष्ठित ब्रिटिश मेडिकल जोर्नलले डा. पन्तलाई साउथ एशियाको उत्कृष्ट शल्य चिकित्सक अवार्ड २०१६ मा प्रदान गरेको थियो ।
त्यस्तै विश्व स्वास्थ्य संगठन अन्तर्गत रहेको ईन्टरनेशनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाईन्डनेसले डा. पन्तलाई आइ हेल्थ हिरो २०१७ अवार्ड प्रदान गरेको थियो । यसबाहेक पनि डा. पन्तले दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । 
डा. पन्तले नेपाल बाहेक युगाण्डा, नाईजेरिया, नाईजर, म्यानमार, भारत, चिनका बिभिन्न ग्रामिण तथा शहरी क्षेत्रका जनताको आँखाको शल्यक्रिया गरिसकेका छन् ।
डा. पन्तले अमेरिका, डेनमार्क, नर्वे, चिन, अफ्रिका, हङकङ, सिंगापुर, ईजिप्ट, ईथोपिया, नाईजर, जर्मनी, रुस, पोल्याण्ड, भारत, पाकिस्तान, ईन्डोनेशिया लगायत संसारका बिभिन्न देशमा आयोजित आँखाका चिकित्सकहरुको सेनिमार तथा कार्यक्रममा अतिथि वक्ता र कार्यपत्र प्रस्तुत गरेका छन् । आँखाका शोधहरुमा अन्तर्राष्ट्रिय जर्नलहरुमा उनको आँखाको उपचारको अवस्था सम्बन्धि शोध तथा कार्यपत्रहरु प्रकाशित छन् । 
उनले अर्विस ईन्टरनेशनलद्धारा सञ्चालित फ्लाईटिङ आई हस्पिटलका लागि नाईजर, नाईजेरिया, युगाण्डा र चिनमा समेत आँखाको शल्यक्रिया गरेका छन् ।
हाल म्यानमारको सबैभन्दा ठूलो आँखाको अस्पतालको नेतृत्व गरिरहेका डा. पन्तले चार वर्षअघि आँखाको सेवा शुरु गरेका टिसाङको त्यही अस्पताल म्यानमारको सबैभन्दा बढि शल्यक्रिया गर्ने अस्पताल भएको छ ।
उक्त अस्पतालले वर्षदिनमा २५ हजार भन्दा बढिको शल्यक्रिया गर्ने गरेको छ ।
डा.पन्तकै नेतृत्वमा म्यानमारमा थप दुई वटा आँखाका अस्पताल सञ्चालन हुने क्रममा छन् । उनकै अगुवाईमा धनगढीमा धनगढी आँखा अस्पताल सञ्चालनमा छ ।
उनकै नेतृत्वमा रहेको च्यारिटी हेल्थ फाउण्डेसनले प्रदेश नम्बर ७ का आर्थिक अवस्था कमजोर भएका बिरामीहरुका लागि सहुलियत दरमा एम्बुलेन्स र निशुल्क रुपमा शव बाहन सेवा शुरु गरिसकेको छ ।
सुदूरपश्चिमलाई कार्यथलो बनाएर तीन दशकदेखि सक्रिय डा. पन्तले यो अबधिमा एक लाख ३० हजार भन्दा बढिको आँखाको अप्रेशन गरेका छन् । उनको यो अन्तर्राष्ट्रिय रेकर्ड हो । एक दिन र वर्षभरीमा उनले संसारमा सबैभन्दा बढि आँखाको शल्यक्रिया गरेका छन् । उनले एक दिनमा ३ सय १२ जनाको अप्रशेन गरेको रेकर्ड छ ।
डा. पन्तले पछिल्लो पटक प्राप्त गरेको अवार्डले आफूलाई आँखा उपचारका क्षेत्रमा थप सक्रिय हुन उर्जा थपेको बताए ।
आफ्नो पुरै जीवन आँखा रोगीहरुको उपचारमा समर्पित गरेको डा. पन्तले सुनाए ।