Close This

गोदाममा थन्किए पाठ्यपुस्तक

प्राथमिक तहका पाठ्यपुस्तक बिक्री भएनन्

शनिबार असार ९, २०७५/ Saturday 06-23-18
Paschim Today

पश्चिम टुडे धनगढी, ९ असार ।
    बिक्री नभएपछि साढे तीन लाख थान पाठ्यपुस्तक जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको क्षेत्रीय कार्यालय धनगढीमा थन्किएका छन् । २ करोड २५ लाख मूल्य बराबरका ३ लाख २५ हजार थान पाठ्यपुस्तक कार्यालयको गोदाममा मौजदात रहेका छन् ।
    यीमध्ये २ लाख ५ हजार थान कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक रहेका जनक शिक्षाको क्षेत्रीय कार्यालयका प्रमुख योगेन्द्रप्रसाद भट्टले जानकारी दिए । विद्यार्थी संख्याका आधारमा प्रदेशका ९ वटै जिल्लामा कक्षा ६ देखि १० सम्मका २३ लाख ७५ हजार थान पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान गरेर जनक शिक्षाले पाठ्यपुस्तक पठाएको थियो । 
    अनुमान गरिएको भन्दा २ लाख ५ हजार थान पाठ्यपुस्तक कम बिक्री भएका र परिवर्तन नभए ती पाठ्यपुस्तक अर्को वर्ष बिक्री गरिने क्षेत्रीय प्रमुख भट्टले बताए । छिटपुट रुपमा पाठ्यपुस्तक लिनका लागि अहिले पनि बिक्रेता आइरहेका जनक शिक्षाले जनाएको छ । 
    विद्यालयहरुले पाठ्यपुस्तक किन्ने रकम अहिले स्थानीय तहहरुलाई गएको र कतिपय ठाउँमा स्थानीय तहबाट पाठ्यपुस्तक किन्ने बजेट नपाएकाले विद्यालयहरुले एकमुष्ट रुपमा पाठ्यपुस्तक माग गर्न नसकेका क्षेत्रीय प्रमुख भट्टले बताए ।
    ‘स्थानीय तहबाट समयमा रकम नपाएकोले कतिपय विद्यालयले अहिले पनि छिटपुट रुपमा पाठ्यपुस्तक माग गरेको भन्दै बिक्रेताहरु पाठ्यपुस्तक किन्न आउने गरेका छन् ।’ भट्टले भने, ‘छिटपुट माग आए पनि पाठ्यपुस्तकको अभाव भने कुनै जिल्लामा पनि देखिएको छैन ।’ 
    विगतमा पाठ्यपुस्तकको अभाव हुँदै आएकोमा यस वर्ष यहाँ आवशयक ९९ प्रतिशत पाठ्यपुस्तक चैतमै आएका थिए । जनक शिक्षाले प्रदेश सातमा १ सय ६१ वटा बिक्रेतामार्फत् विद्यालय तहका पाठ्यपुस्तक बिक्री गर्ने गरेको छ ।
प्राथमिक तहका पाठ्यपुस्तक बिक्री भएनन्
    जनक शिक्षाले प्रकाशन गरेको कक्षा १ देखि ६ सम्मका पाठ्यपुस्तक भने बिक्री नै भएनन् । यो तहका पाठ्यपुस्तक छपाइको अधिकार सरकारले निजि क्षेत्रलाई पनि दिएको छ । यो प्रदेशमा १–६ कक्षासम्म १६ लाख २५ हजार थान पाठ्यपुस्तक आवश्यक पर्नेमा जनक शिक्षाका १५ हजार थानमात्र बिक्री भएका छन् ।
    निजि क्षेत्रले बिक्रेतलाई कमिसन बढी दिने भएकाले जनक शिक्षाका पाठ्यपुस्तक बिक्री हुन नसकेका हुन् । यो तहका पाठ्यपुस्तक केही ढिलो गरी बैशाखमा मात्र आएकाले पनि बिक्री हुन नसकेका क्षेत्रीय प्रमुख भट्टको भनाइ छ । जनक शिक्षाले पाठ्यपुस्तकमा बिक्रेतालाई १८ प्रतिशत कमिसन दिने गरेकोमा निजि प्रकाशनले त्योभन्दा बढी दिने गर्छन ।