Close This

प्रतिपक्षीको अवरोध हटेसंगै संसद सुचारु

बिहीबार असार १४, २०७५/ Thursday 06-28-18
Paschim Today

धनगढी, १४ असार । दुई दिनदेखि अवरोध भएको प्रदेश नम्बर ७ को संसद बैठक बुधवारदेखि सुचारु भएको छ ।

बजेटको विषयलाई लिएर प्रतिपक्षी दलले गरिरहेको अवरोध हटेपछि संसद सुचारु भएको हो ।

प्रदेश सरकार र प्रतिपक्षी दलबीच बजेट नमिलेको ठाउँमा मिलाएर जाने सहमतिपछि संसदलाई प्रतिपक्षीले चल्न दिएका हुन ।

                ‘बजेट नमिलेका ठाउँमा विधि र प्रक्रिया अनुसार मिलाएर जाने, बजेटमा सांसद्को सम्मानजनक सहभागितासहित जवाफदेही बनाउने, प्रतिपक्षीलाई समेत समेटेर बजेट कार्यान्वयनको कार्यविधि बनाउने विषयमा सरकारसँग सहमति भएको छ’ संसद्को विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्काले भने ।

                सहमतिसँगै आफूहरु संसद्को अवरोध हटाउन तयार भएको उनले उल्लेख गरे ।  सरकारसँग भएको भद्र सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको भन्दै उनले थपे–‘सरकारले जनाएको प्रतिवद्धता व्यवहारमा नदेखाए पुनः विरोध जनाउने छौं ।’

                उनले योजना छनौटमा सांसदको सम्मानजनक सहभागिता नभएको, सरकारले सदनलाई विश्वासमा नसकेकालेसंसद्मा विरोध गर्नु परेको बताए । खड्काले भने, ‘कसैको क्षेत्रमा करोडौंका योजना पर्ने, कसैले भनेको एउटा पनि योजना नराखेर वाइपास गर्न खोजेको देखियो ।’

                विशेष समयमा सरकारका तर्फबाट बोल्दै सामाजिक विकास मन्त्री विकास दीर्घबहादुर सोडारीले संसद्लाई वाइपास गरेर सरकार अगाडि बढ्न नसक्ने बताए । ‘बजेट केही डिसब्यालेन्स भयो भन्ने छ । केही तलमाथि भएको अवस्थामा मिलाउँछौं ।’ मन्त्री सोडारीले भने, ‘सदनको विधि, प्रक्रिया भन्दा बाहिर सरकार जान सक्दैन ।’

                सरकारले सबै सांसदलाई बजेटप्रति उत्तरदायी बनाउन चाहेको मन्त्री सोडारीको भनाइ थियो । सांसद विकास कोषको रकम दुरुपयोग हुनेबारे नागरिक स्तरबाट चिन्ताहरु व्यक्त भएका उल्लेख गर्दै मन्त्री सोडारीले कोषको रकम पारदर्शी बनाउन सरकार सजग रहेको बताए । 

                बुधबारको बैठक विशेष समयमा दुई जना सांसद बोलेपछि समापन भएको थियो । बिहीबारदेखि बजेटमाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ ।

                बजेट संशोधनको माग गर्दै असार ११ गतेको संसद् बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँगे्रस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीका सांसद्ले उभिएर विरोध जनाएपछि बैठक अवरुद्ध भएको थियो । १२ गते बोलाइएको बैठकमा सहभागि नहुने निर्णय प्रतिपक्षी दलले गरेपछि उक्त बैठक पनि स्थगित गरिएको थियो ।