Close This

वडा अध्यक्षद्वारा निर्णय पुस्तिका कब्जा

शुक्रबार असार २२, २०७५/ Friday 07-06-18
Paschim Today

बाजुरा, २२ असार । बाजुराको बडिमालिका नगरपालिकाको नगर कार्यपालिकाको निर्णय पुस्तिका नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरुले कब्जामा लिएका छन् । 
नगरपालिकाको २२ गते प्रस्तुत हुने योजनाको बजेटको विषयमा छलफलका क्रममा तत्कालिन एमालेबाट जितेका पाँच जना वडाअध्यले नगरपालिकामा बहुमत रहेको दावी निर्णय पुस्तिका कब्जामा लिएका हुन । योजनाहरु एकलौटी रुपमा छनौट गरेकोप्रति आपत्ति जनाउदै नगर कार्यपालिकाको निर्णय पुस्तिका कब्जा गरिएको बडिमालिका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष विनोद कुमार विकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।  
उनले नगर प्रमुख नगरको अभिभावक हुनुपर्नेमा नेपाली काँग्रेसको कार्यकर्ताको जस्तो व्यवहार कार्यपालिकामा देखाएको आरोप लगाए । पाँच जना वडाअध्यक्षहरुले प्रेस विज्ञप्ती जारी गर्दै सुनियोजित रुपमा जनप्रतिनिधि माथि हमला गर्न खोजेका, बजेट बाँडफाँडमा भुगोल, जनसंख्याका आधारमा नभई राजनितिक आधारमा विनियोजन गरेको पत्रमा उल्लेख गरिएको छ । 
यस भन्दा पहिलेका नगर सभामा धर्ना, विरोध, ध्यानाकर्षण गराए पनि कुनै सुनुवाई नभएपछि नगर कार्यपालिकाको निर्णय पुस्तिका कब्जा गरिएको बडिमालिका नगरपालिका वडा नं. २ का वडाअध्यक्ष डम्मर महतले बताए । पाँच जना वडाअध्यक्षले पाँच बुँदामा असहमति जनाउँदै नगर कार्यपालिकाको बैठक समेत बहिस्कार गरिएको अध्यक्ष महतले बताए । 
पत्रमा बस्ती स्तरबाट आएका योजनाहरुमा बजेट विनियोजन नगरेको, एमालेबाट निर्वाचित वडाअध्यक्षको निर्वाचित क्षेत्रमा कम बजेट विनियोजन गरेको र काँग्रेसका जनप्रतिनिधिले जितेको वडामा हचुवाका भरमा बजेट विनियोजन गरेको उल्लेख गरिएको छ ।  
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ मा उल्लेख भए अनुसार वडा समितिको काम,कर्तव्य र अधिकारको क्षेत्राधिकार मिच्दै काम कारबाही गर्दै आएको वडा नं. ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, वडा नं. ४ का वडा अध्यक्ष सुरेन्द्र नाथ र वडा नं. ३ का वडा अध्यक्ष बिर बहादुर रावल सहितका पाँच जनाको हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ । 
नगर कार्यपालिकाको बैठक बहिस्कार गर्ने अन्य प्रावधान हुदाहुदैं पनि गैर कानुनी रुपमा एक वर्ष अघिका निर्णय पुस्तिका समेत कब्जा गर्ने नियतले निर्णय पुस्तिका गलत प्रक्रिया भएको बडिमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्दले बताए । 
नगरका वडाबाट आएका योजनाका विषयमा छलफलका क्रममा उनीहरुले अनैतिक शैलीमा नगरपालिकाको निर्णय पुस्तिका लिनु कानुन विपरित भएको उनले बताए ।  बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले संघ र प्रदेश सरकार नेकपाको बनेको दम्ब देखाउदै पाँच जना वडाअध्यक्षहरुले निर्णय पुस्तिका नियन्त्रणमा लिनुमा आफैमा गैर जिम्मेवारी भएको बताए ।
नगर सरकार आफैमा स्वायत्त सरकार भएकाले प्रदेश र संघको आडमा नगरका विकास कार्यमा अवरोध गर्नु जनप्रतिनिधी नभई लोकतन्त्र माथि बिरोध गरेको बताएका छन् । निर्णय पुस्तिका लिनु गैर कानुनी भएको उनको भनाई रहेको छ । कार्यपालिका अल्पमत बहुमत भएपनि सत्तापक्षले प्रतिपक्षलाई होच्याउन नमिल्नेमा जोड दिएका छन् । 
एकजनाले बोल्ने र अर्का जनाले निर्णय पुस्तिका उठाएर दिनु निन्दनीय कार्य भएको आरोप नगर प्रमुखको रहेको छ । निर्णय पुस्तिका लिएपनि बहुमतबाट टिप्पणी उठाएर २२ गते नै विनियोजन  बजेट प्रस्तुत हुने नगर प्रमुख बडुवालको भनाई रहेको छ ।  
नगरपालिकाले निर्णय पुस्तिकाको खोजी कार्यका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा पत्र पठाएको प्रमुख प्रशासकीय अधिकृत चन्दको भनाई रहेको छ । निर्णय पुस्तिका खोजी कार्य गरी तत्काल नगरपालिकामा उपलव्ध गराउन पत्र सहित जिल्ला प्रशासन कार्यालयमा पठाएको बताए ।
यता प्रमुख जिल्ला अधिकारी चेतराज बरालले निर्णय पुस्तिका खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयमा पत्र पठाएको बताए । सर्बदलिय बैठक गरेर छलफल गरेर निकास निकाल्ने आफुहरु तयार रहेको वडाअध्यक्षहरुको प्रतिक्रिया रहेको प्रहरी नायव उपरिक्षक सागर बोहराले बताए । निर्णय पुस्तिका सकुशल पु¥याउन वडाअध्यक्षहरु सहमत देखिएको उनको भनाई रहेको छ ।