Close This

ब्रिटेन-इयु भावी सम्बन्धका आधारबारे सहमति’

ब्रिटेन-इयु भावी सम्बन्धका आधारबारे सहमति’

शनिबार असार २३, २०७५/ Saturday 07-07-18
Paschim Today

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले मन्त्रीहरूसँग आफूले गरेको एक दिन लामो सघन वार्ताहरूपछि युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनपछिको भावी सम्बन्धबारे आन्तरिक सहमति जुटेको बताएकी छन्।

सहमतिले ब्रिटेन र इयुबीचको मालसामानको स्वतन्त्र व्यापारलाई निरन्तरता दिनुपर्ने प्रस्ताव गरेको छ।

तर अहिलेको जस्तो स्वतन्त्र रूपमा हुँदै आएको मानिसको आवतजावतलाई अन्त्य गरिने त्यसमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री मेले बहिर्गमनबारे कडा धारणा राख्ने आफ्नै कन्जरभेटिभ पार्टीका नेता र इयुका बाँकी २७ सदस्य राष्ट्रहरूलाई मनाउन प्रयत्न गर्नुपर्ने हुन्छ।

प्रधानमन्त्री मेले भनिन्, "यो युरोपेली संघसँगको हाम्रो वार्ताका लागि थप कदम, एउटा महत्त्वपूर्ण थप कदम हो। यसले हाम्रा जनताको सुरक्षा र समृद्धि प्रत्याभूत गर्छ।"

इयुका प्रमुख वार्ताकार माइकल बर्निएरले ब्रिटेनको प्रस्ताव काम लाग्ने र व्यवहारिक भए वा नभएको आफूले मूल्याङ्कन गर्ने धारणा ट्विटरमा लेखेका छन्।

मे महत्वपूर्ण 'ब्रेक्जिट' विधेयकमा विफल

ब्रेक्जिट: संक्रमणकालीन अवधिसम्बन्धी सहमति

प्रस्तावित सहमतिले सेवामूलक क्षेत्रहरूमा भने साँझा नियमबाट अघि नबढ्ने उल्लेख गरेको छ।

तस्वीर कपीराइटPA

त्यसबाहेक इयु आबद्ध देशबाट भएका मानिसका खुल्ला आवतजावतलाई पनि रोक्ने भनिएको छ।

ब्रिटेनले दुई वर्षअघि इयुबाट बाहिरिने निर्णय जनमत संग्रहमार्फत गरेको थियो।

 

अबको लगभग नौ महिनापछि उ औपचारिक रूपमा इयुबाट अलग हुँदैछ।

यस्तोमा भावी मार्गचित्रबाट आफ्नो विभाजित मन्त्रिपरिषद्‌मा सहमति कायम गराएको प्रधानमन्त्री मेले बताएकी हुन्।

प्रस्तावित प्रावधानले उत्पादकहरूलाई खुशी बनाउनेछ र उत्तरी आयरल्याण्ड र आइरिस रिपब्लिकबीच सीमा कायम गर्नुपर्ने आवश्यकतालाई पनि अन्त्य गर्नेछ।

बीबीसीका राजीनितिक संवाददाता रब वाट्सन भन्छन्, यदि साँच्चिकै मन्त्रिपरिषद्‍मा सहमति भएको भएपनि प्रधानमन्त्री मेलाई आफ्नो प्रस्तावको पक्षमा व्यवसायीहरू र इयुसँगको बहिर्गमनबारे कट्टर धारणाहरू राख्ने सत्तारुढ कन्जरभेटिभ पार्टीका नेताहरूलाई सहमत गराउन कठिन हुने देखिन्छ।

त्यसबाहेक इयुका अन्य २७ सदस्य राष्ट्रसँग सहमति जुटाउने काम पनि सजिलो हुनेछैन।