Close This

मर्दनियालाई तड्पाउने को हुन, त्यो बोबी ?

बुधबार असार २७, २०७५/ Wednesday 07-11-18
Paschim Today

धनगढी, २७ असार । प्रेमशंकर मर्दनिया । उनी धेरै माँझ चिनिएको नवलपरासीका एक संरक्षणकर्मी हुन । तर, यतिमामात्रै उनको परिचय सीमित छैन । किनभने, स्थानीय तहको निर्वाचनमा जनताले बहुमतका साथ जिताए । उनी कावासोती नगरपालिकाको उपप्रमुखको जिम्मेवारीमा पुगेका छन् । 


    कावासोती नगरपालिका–१५ बाघखोरवासी तिनै मर्दनियालाई अचेल भने एउटा बोबी (युवती) को यादले निकै सताउन थालेको छ । उनको मनमा बेचैन छ । उनी तड्पी रहेका छन् । उदास भइ गुनगुनाउन थालेका छन्–‘झिन अउसी बोबी तोई, आबे सपना म, टुटी फुटी गेल मोरे, यी दिलवा म (न आउ प्यारी तिमी, अब सपनामा । टुटे फुटेको यो मेरो दिलमा) ।’ 
    मर्दनियाको वास्तविक जीवनसंग कतै पनि मेल नखाने तर, उनले बजारमा ल्याएको यो नयाँ गीत हो । संरक्षणकर्मी हुँदै जनप्रतिनिधिको परिचय पाएका मर्दनियालाई चिनाउने अब थप एक विधा जोडिएको छ । उनले संगीत क्षेत्रमा पनि पदार्पण गर्दै ‘झिन अउसी बोबी तोई....’ बोलको गीत र म्युजिक भिडियो बजारमा ल्याएका हुन । 
    नगरपालिकाकै वडा नम्बर १५ का वडा अध्यक्ष एवम् संरक्षणकर्मी देवनारायण महतोको शब्दमा मर्दनियाले सुरिलो स्वर दिने र मिठास संगीत भर्नेे काम गरेका छन् । संगीतमा रुपमसिंह गुरुङ को पनि साथ रहेको छ । एनडी स्टुडियो द स्टोरी मेकरले रिलिज गरेको उक्त गीतको म्युजिक भिडियोमा नगेन्द्र महतो, कल्पना मर्दनिया, अंगज महतोले अभिनय गरेका छन् । गीतले प्रियसी बितेपछिको बियोग र अतितका प्रेमिल सम्झनालाई दर्शाएको छ । 

   अंगजको नृत्य रहेको म्युजिक भिडियोमा निर्देशन हिरा चौधरीको रहेको छ । पतिराम थनेतले छायांकन गरेको म्युजिक भिडियोलाई सम्पादन गर्ने काम सुरेश चौधरीले गरेका छन् । यसअघि, वडा नम्बर १५ का अध्यक्ष देवनारायण महतोले ल्याएको ‘बनुवा फुलेलई लालेलाल’ बोलको संरक्षण सम्बन्धी गीत र म्युजिक भिडियोले सफलता पाएको थियो । 
    गायन क्षेत्रमा पदार्पण गरेका मर्दनीया लामो समयदेखि संरक्षण क्षेत्रमा क्रियाशिल छन् ।