Close This

अस्पतालमा आवश्यक उपकरण अभाव

शुक्रबार असार २९, २०७५/ Friday 07-13-18
Paschim Today

पश्चिम टुडे, कञ्चनपुर २९ असार । 
कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा विशेषज्ञ डाक्टरको अभावसँगै आवश्यक उपकरणको अभाव रहेको छ । 
अस्पताल विकास समिति र जनप्रतिनिधिले अस्पताल प्रति चासो नदेखाउदा सबै कुरोको अभाव भएको हो । वर्षौ पुराना बेडहरू फेर्नका लागि बजेट आएपनि कसैले पनि मतलब नगर्दा बेड खरिदका लागि आएको रकम फ्रिज गएको छ । अस्पताल प्रशासन र विकास समितिको लापरबाहीका कारण चालु आर्थिक वर्षमा उपकरण खरिदका लागि आएको सवा २ करोड बजेट फ्रिज गएको छ । 
माघमा स्वास्थ्य सेवा विभागबाट अस्पताललाई उपकरण खरिदका लागि २ करोड २५ लाखको अख्तियारी आएको थियो । त्यसलगत्तै अस्पताल प्रशासनले बेड र उपकरण खरिदका लागि टेन्डर आब्हान गरेपनि फागुन ८ मा टेन्डर खोल्ने मिति तय भएपनि ५ दिनअगावै उक्त प्रक्रिया रद्द गरिएको बताईएको छ ।  
इन्टरनेट प्रविधिबाट समेत टेन्डर आहवान हुनुपर्नेमा त्यसो नभएको मुद्दा परेपछि प्रक्रिया नपुगेर रद्द गरिएको अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले बताए । अस्पताल प्रशासनले आहवान गरेको टेण्डर अस्पताल विकास समितिकै दबाबमा रद्द गर्नुपरेको स्रोतले बताएको छ । प्रशासनले एकमुष्ट रूपमा टेण्डर खोले पनि समितिले भने आर्थिक ऐन विपरीत बजेट टुक्रयाएर टेन्डर आहवान गर्न खोज्दा विवाद भएको स्वास्थ्यकर्र्मीहरूले  बताएका छन । 
अस्पताल सम्बद्ध स्रोतका अनुसार कमिसनका लागि भएको चलखेलका कारण प्रशासनका कर्मचारी र अस्पताल विकास समितिका पदाधिकारीबीच कुरा नमिल्दा ठूलो रकम फ्रिज गएको हो । रकम फ्रीज जादा अस्पतालको आवश्यकता अनुसारका सामान, औषधि र उपकरण पाउनबाट वञ्चित हुन पुगेको बताईएको छ ।