Close This

खोड्पे क्षेत्रको पानी पिडा

शुक्रबार असार २९, २०७५/ Friday 07-13-18
Paschim Today

बैतडी जिल्लाको खोड्ने बजारका बासिन्दाहरुले भोग्नुपरेको खानेपानीको समस्या समाधान हुन सकेको छैन । यस बजारका बासिन्दाले सुख्खा याममा खानेपानीको समस्या भोग्नु समान्य जस्तै भएपनि बर्षातमा समेत खानेपानीको दुःख छ ।  पाटन नगरपलिकास्थित खोेड्पे बजारवासीले यी सिजनहरुमा विगतबाटै पानीको संकट भोग्दै आएका छन् । तर, वर्षात्को पानी आइ मुहान भरिने वर्षातको बेला पानीको संकट यथावत रहेको छ । १० वर्ष अगाडि पानीका सबै मूल सुकेपछि मनसुनमा पनि खानेपानी अभाव झेल्दै आएको खोड्पेवासीको भनाइ छ । लिफ्ट खानेपानी योजना सम्पन्न भए पनि विद्युत आपूर्ति नियमित नहुँदा पानीको अभाव झेल्नु परेको पिडा स्थानीयको छ । दुई सय भन्दा बढी परिवार काकाकुल वातावरणमा बाँचिरहेका छन् । 
यहाँ बसोवास गर्ने र आउने जाने करिव  १० हजार परिवारले दैनिक खानेपानीको सास्ती भोग्दै आएको तथांक रहेको छ । खोड्पे बजारका दुई सय परिवार मात्र होइन दैनिक खोडपे बजारमा आउने १० हजार बढी सर्वसाधारण र यात्रीले खानेपानीका लागि निकै सास्ती भोग्नु परेको छ । २०६४ सालमा निर्माण कार्य सुरु भएको लिफ्ट खानेपानी आयोजना सम्पन्न भइसक्दा पनि समस्या उस्तै रहेको छ । खानेपानीको हाहाकार भएपछि १० बर्ष अघि निर्माण सुरु भएको लिफ्ट खानेपानी योजना निर्माण सम्पन्न भइसक्दा पनि विद्युत प्रशारण नियमित नहुँदा नगरवासीले खानेपानीको चरम समस्या भोग्नु परेको बताए । खोड्पे बजार देखि अढाई किलोमिटर टाढाको भट्टीखोलाबाट लिफ्ट मार्फत पानी तानेर वितरण हुने गरेको छ । हप्तामा तीन दिनपनि विद्युत आपूर्ति नियमित हुन नसक्दा लिफ्ट खानेपानी योजनाबाट आउने पानी बन्द हुने गरेको छ । खानेपानी डिभिजन कार्यालय बैतडीको ६० लाख र उपभोक्ताको ४० लाख गरि एक करोडमा सम्पन्न उक्त खानेपानी योजना संचालनपछि पनि पानीका लागि सर्वसाधारणले सास्ती खेप्नु परेको छ  । हिमपात हुने उचाईमा रहेको खोड्पे बजारमा सामान्य हावा चल्दा पनि विद्युत सेवा दिनुहँ अवरुद्ध हुने गरेकाले खानेपानीबाट बंञ्चित हुनु परेको हो ।
सोलार सिष्टमबाट पानी तान्ने योजना अहिलेसम्म बनेको छैन । यस्तो योजना नबन्दासम्म स्थानीयवासीले खानेपानीको संकट भोगिररहने देखिन्छ  । १ सय ३ परिवार बजार क्षेत्रका बासिन्दा र सालभाडी, मल्लो खोड्पे, पनाली लगायतको गाउँका बासिन्दा पनि पानीबाट बंञ्चित भएका छन ।
यहाँ लिफ्ट खानेपानी योजना सुरु भएपछि हरेक परिवारले ६ युनिट पानीका लागि महिनाको ३ सय रुपैंया भुक्तानी गर्दै आएका छन । ६ युनिटभन्दा बढी पानी प्रयोग गरेमा थप प्रति युनिटको एक सय रुपैंया उपभोक्ताले भुक्तानी गरिरहेका छन । एक जर्किन खानेपानी लिनका लागि आउँदा जाँदा ८ किलोमिटर दैनिक पैदल यात्रा गर्नु पर्ने बाध्यता स्थानीयको छ । डडेलधुरा, बैतडी, बझाङ र दार्चुला जाने दर्जनौं यात्रुबाहक सवारी साधनका यात्रुहरु खोड्पे बजारमा खाना खाने गरेका छन् । यसरी यस खोड्पे बजार र आसपासका बस्तीका बासिन्दाको बर्षौ देखिको समस्या समाधान हुन सकेको छैन । यही कारण यहाँबाट अन्यत्र बसाई सार्नेको संख्या पनि उच्च रहेको छ । त्यसैले यहाँ चाँडोभन्दा चाँडो खानेपानीको आपूर्ती गरियोस ।