Close This

सामसुङले भारतमा बनायो विश्वकै ठूलो मोबाइल कारखाना

शुक्रबार असार २९, २०७५/ Friday 07-13-18
Paschim Today

विश्वको प्रमुख सूचना प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले भारतमा दुनियाकै ठूलो मोबाइल उत्पादन कारखानाको स्थापना गरेको छ । उत्तर प्रदेशको नोएडामा सामसुङले मोबाइल प्लान्ट स्थापना गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण कोरियाली राष्ट्रपति मून जे इनसँगै सामसुङको उक्त कारखाना उद्घाटन गर्नेछन् । सामसुङले ८० अर्ब रुपैयाँ बराबरको लागतमा उक्त उद्योग स्थापना गरेको हो । यस उद्योगबाट वर्षेनी १२ करोड गोटा मोबाइल फोन उत्पादन गर्ने लक्ष्य रहेको छ । अहिले नोएडा र तमिल नाडुमा रहेका कारखानाबाट ६ करोड ७० लाख गोटा फोन उत्पादन हुने गरेका छन् । नोएडामा सन् १९९७ मा उक्त कारखाना स्थापना भएको थियो र सन् २००५ मा त्यसबाट मोबाइल फोनको उत्पादन सुरु भएको यिो । सन् २०१२ मा सामसुङको एस सिरिजको फ्लागसिप स्माटफोन ग्यालेक्सी एस थ्री नोएडाको कारखानामै तयार गरी लञ्च गरिएको थियो 
सामसुङ किन आयो भारतमा ?
चीन र अमेरिका जस्ता सम्पन्न देशहरुलाई छाडेर सामसुङले यति ठूलो मोबाइल कारखाना किन भारतमा स्थापना गर्यो ? भन्ने अहम् प्रश्न छ । जबकी चीन विश्वकै सबैभन्दा ठूलो मोबाइल उत्पादक देश हो । चीनमा सबैभन्दा सस्तो देखि सबैभन्दा उच्च गुणस्तर सम्मका मोबाइल फोन उत्पादन हुने गर्दछन् । जसका कारण चीन विश्वकै सबैभन्दा ठूलो मोबाइल उत्पादन हब बनेको छ । यहाँ विश्वका धेरै कम्पनीका कारखाना रहेका छन् । यता भारतीय मोबाइल फोनको बढ्दो बजारमा आफ्नो पडक बनाइराख्नका लागि सामसुङले पछिल्लो समयमा हरसम्भव प्रयास गरिरहेको छ । सोही रणनीति अनुसार उसले नोएडामा विश्वकै ठूलो मोबाइल उत्पादन गर्ने कारखानाको निर्माण गरेको हो । यो कारखानाबाट वर्षेनी उत्पादन हुने १२ करोड मोबाइल फोनसँगै सामसुङले भारतीय बजारमा आफ्नो स्थिति निकै मजबुत बनाउने अपेक्षा गरिएको छ ।