Close This

फरक क्षमताका अजयलाई पढाई रोकिने चिन्ता

शनिबार असार ३०, २०७५/ Saturday 07-14-18
Paschim Today

पश्चिम टुडे, धनगढी ३० शनिबार ।
‘धेरै पढेर ठूलो मान्छे बन्ने सपना छ, तर खर्च जुटाउन सकिरहेको छैन । बीचैमा पढाई रोकिने चिन्ताले सताई रहन्छ ।’ फरक क्षमताका २२ वर्षीय अजय चौधरी  पढाई रोकिने डरले यसरी नै आफ्नो पिडा पोख्दै आएका छन् । 
ठूलो मान्छे बन्ने सपना ! त्यहि सपना साकार पार्नका लागि आफ्नो शारीरिक अवस्थासंग लर्दै क्याम्पसमा टेकेकाछन्, उनले  । तर, पैसाको कारण सुनौला सपनाबीचैमा भताभुङ्ग हुने चिन्ता मनबाट हट्न सकेको छैन । 
धनगढीको कैलाली बहुमुखी क्याम्पस बीबीएस प्रथम वर्षमा अध्ययन गरिरहेका चौधरीका परिवारले खर्च ब्यहोर्न नसक्दा क्याम्पसमा शुल्क तिर्न सकेका छैनन् । पढ्ने रहर हुँदाहुँदै आर्थिकले अगाडिको बाटो छेक्न सक्ने त्रास उनको मनमा छ । ‘मैले शारीरिक अपाङ्गतालाई जितेर कलेजसम्म पुगेको छु ।’, उनले भने–‘शारीरिक अशक्तताले रोक्न नसकेको मेरो शिक्षार्जनको बाटो आर्थिकले छेक्न सक्ने चिन्ताले सधैं पिरोली रहन्छ । कतैबाट सहयोग माग्न पनि सकेको छैन । किनकी पहुँच छैन ।’
अजयले चार वर्षे बीबीएस पढाई पूरा गर्नका लागि ५८ हजार रुपियाको जोहो गर्नु पर्नेछ । क्याम्पसमा परीक्षा शुल्क बाहेक वार्षिक १८ हजार रुपिया आवश्यक हुन्छ । निम्न आर्थिक स्थिति भएको परिवारले खर्च ब्यहोर्न नसकेपछि क्याम्पसमा एक हजार रुपियामात्रै तिरेको उनले सुनाए । क्याम्पसमा परीक्षा शुल्क पनि तिर्ने बेला आइसकेको छ । पैसा नहुँदा एक हजार १२० रुपिया परीक्षा शुल्क अझै पनि तिर्न नसकेको चौधरीले सुनाए । 
‘दोस्रो श्रेणीमा प्लस टु पास भइसकेपछि बीबीए पढ्न रहर थियो । तर, आर्थिकले भ्याउन नसक्ने भएपछि बीबीएसमा भर्ना भएँ’, उनले अगाडि थपे–‘बीबीएकै खर्च जोहो गर्न पनि समस्या भएको छ ।’
चौधरीले बीबीए पढ्नका लागि आफ्नो भागमा पर्ने दुई कट्ठा जमिन बेच्न आग्रह गरेका थिए । तर, घरपरिवारले मानेन् । ‘म अपाङ्गता भएकाले जग्गा के गर्नु, बरु मेरो भागमा पर्न आउने जमिन बेचेर मलाई पढाउनुहोस भन्दा परिवारले मानेनन् ।’ उनले भने । 
कञ्चनपुरस्थित बेलडाँडी गाउँपालिका–३ बैबाह गाउँका अजय पोलियोको कारण २०५४ सालबाट शारीरिक रुपमा अशक्त भएका हुन । उनको दुवै खुट्टा चल्दैन, तर ट्राइसाइकलको माध्यमले हिडडुल गर्न सक्छन् । उनले ख वर्गको परिचयपत्र पाएका छन् । 
चौधरीलाई दुई वर्षको उमेरमा पोलियोले आक्रमण गरेको थियो । ‘जन्मजात अपाङ नभए पनि समयमा पोलियो विरुद्धको औषधि नपाएका कारण शारीरिक रुपमा अशक्त बन्नु प¥यो’, भावुक हुँदै उनी भन्छन्–‘यद्यपि, अब पछुताएर बसेको छैन । मैले पढेर केहि गर्न सक्ने आत्मविश्वासका साथ अगाडि बढेको छु ।’
चौधरीले क्याम्पसको सिफारिस सहित छात्रवृत्तिका लागि जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएका छन् । तर, छात्रवृत्ति पाउने÷नपाउने कुनै जानकारी नपाएको उनले सुनाए । ‘छात्रवृत्ति पाएमा केहि सहज हुन्थ्यौ’, अगाडि थप्छन्–‘तर, कुनै प्रतिक्रिया पाएको छैन ।’ 
धनगढीको मनेहरामा डेरा गरी बस्दै आएका चौधरीले दुई हजार मासिक कोठा भाडा पनि तिर्नु पर्दछ । पैसा नहुँदा भाडा तिर्न समेत समस्या रहेको उनले बताए । यसैगरी, परीक्षा आउन लाग्दा पनि किताब र कपी किन्न नसकेको सुनाए । 
‘एक ठाउँबाट झोला र १२ वटा कपी मिलेको थियो, त्यसमा लेखेर नोटको भरमा परीक्षा दिने सोंच बनाएको छु’, उनले भने । 
२०७१ सालमा बैबाह स्थित श्री सरस्वती माध्यमिक विद्यालयबाट दोस्रो श्रेणीमा एसएलसी पास भएका चौधरीले महेन्द्रनगर स्थित पब्लिक उच्च माध्यमिक विद्यालयबाट दोस्रो श्रेणीमा नै प्लस टु पास गरेका थिए । 
चौधरीमा सानैदेखि एउटा प्रतिभा रहेको छ, त्यो हो नृत्य । दुवै खुट्टा नचल्ने उनले घुँडा र हातको भरमा मज्जाले नाच्न सक्छन् । ‘नृत्य मेरो ठूलो सोख हो’, उनले भने ।