Close This

जनताका असली डाक्टर विएस बोहरा

शनिबार असार ३०, २०७५/ Saturday 07-14-18
Paschim Today

दीर्घराज उपाध्याय ।
देशकै सिमान्त जिल्ला दार्चुला । र दार्चुलाको पनि सिमान्त वस्ती, व्यास । व्यासका पछाडि कहिले गाँउ पञ्चायत जोडियो । कहिले गाँउ विकास समिति । र अहिले जोडिएको छ,गाँउपालिका । व्यासी सौका जातीको थातथलो व्यासको परिचय भने फेरिएको छैन । उस्तै छ, व्यास । अनि उस्तै छ, छाङरु । त्यही व्यासको छाङरुमा २०१६ साल भदौ ११ गते कृष्णजन्माष्टिको दिन सौका जातीमा जन्मिएका हुन्, बिसन सिंह बोहरा ।


बुवा रायमल सिंह बोहरा र आमा बीरमा देवी बोहराका माहिला सन्तानका रुपमा जन्मिएका उनका चार दाजुभाई र दुई दिदी थिए । उनका बुवा व्यापारी थिए । भारतका सामान तिब्बत लगेर बेच्थे । फर्किदा तिब्बतबाट पश्मिना ल्याएर नेपालमा बेच्थे । बुवा व्यापारमा संलग्न भएकोले उनको परिवारको आर्थिक अवस्था राम्रो थियो । पाँच कक्षामा पढाई छाडेर व्यापारमा लागेका उनका बुवालाई छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेत थियो ।

बुवाको त्यही चेतले उनले विद्यालय जाने अवसर पाए । सात वर्षको उमेरमा उनी गाँउकै प्राथमिक भाषा पाठशालामा भर्ना भए । त्यहाँबाट पाँच कक्षा उत्तीर्ण भएपछि उनलाई बुवाले पढाउनकै लागि काठमाण्डौं लगे । उनलाई अहिले पनि त्यो दिन याद छ । उनलाई काठमाण्डौं पु¥याउन उनका बुवासंगै आमा पनि गएकी थिईन । र गाँउबाट ठूलै समूह व्यासबाट काठमाण्डौं लागेको थियो । भारतको बाटो भएर बिरगञ्जबाट नेपाल पसेको उनको बुवाको त्यो समूह छ दिनमा काठमाण्डौं पुगेको थियो ।

काठमाण्डौंको प्रचण्ड मेमोरियल स्कुलमा कक्षा ६ मा भर्ना गरेर बुवा आमा फर्किदा उनी निकै रोएका थिए । ११ वर्षका उनलाई छोडेर फर्किदा आमा पनि निकै रोएकी थिईन । उनी आमाबुवासंगै दार्चुला फर्किन चाहन्थे । उनलाई त्यहाँ पढ्ने पटक्कै मन थिएन । 

उनी दार्चुलाको व्यासबाट काठमाण्डौंको बोर्डिङमा पढ्ने पहिलो विद्यार्थी थिए । उनका लागि काठमाण्डौं नयाँ ठाउ थियो । चिनेजानेका मान्छे थिएनन । न उनले त्यहाँको भाषा बुझ्थे । न उनको भाषा अरुले बुझ्थे । त्यहाँ घुलमिल हुन र भाषा बुझ्न उनलाई छ महिना लाग्यो । भागेर घर जान पनि सक्दैनथे । न उनलाई घरजाने बाटो थाह थियो । न त एक्लै घर जान संभव थियो । उनले ८ कक्षासम्म प्रचण्ड मेमोरियल स्कुल पढे । त्यहीबेला स्कुल बन्द भयो । त्यसपछि उनी फर्पिङको त्रिभुवन आदर्श माविमा नौ कक्षामा भर्ना भए । त्यहीबाट उनी अर्को वर्ष प्रथम श्रेणीमा उत्तीर्ण भए । 

पढाईमा अब्बल उनी विद्यालयका मेधावी छात्र थिए । अतिरिक्त क्रियाकलापमा पनि अब्बल । उनी अनुशासित थिए । अनुशासनमा उत्कृष्ट विद्यार्थीको अवार्ड पाएपछि खुशी हुदै उनले दाई गोपाललाई सुनाए । जवाफमा दाईले भनेको कुरा अहिलेपनि सम्झिन्छन्,यो अवार्ड त धेरै सोझो विद्यार्थीले पाउछ । तिमी धेरै सोझो भयौ ।

उनी त्यहाँ पढ्दै गर्दा उनका दाई गोपाल भारतबाट पढाई सकेर नेपाली सेनाको लेफिट्नेण्ट भईसकेका थिए । त्यसपछि भने काठमाण्डौंमा दाई नै उनका साथी र अभिभावक भए । वर्षदिनमा अढाई महिनाको हिउदे विदा हुन्थ्यो । विदामा उनी दाईसंगै दार्चुला आउथे ।

विदा सकेर काठमाण्डौं फर्किने समय नजिकिदै गर्दा सकभर घर छोड्न नपाए हुन्थ्यो भन्ने लाग्थ्यो । र घर छाड्नुपर्दा उनी रुन्थे । बुवाआमाको निर्णयका अगाडि उनको बालहठको सुनुवाई हुन्थेन । अनि आँशु पुछ्दै उनी काठमाण्डौं लाग्थे ।


एसएलसी दिदासम्म उनको केही योजना थिएन । कुनै सपना थिएन । बुवा चाहन्थे, छोरा पढेर गाँउमै फर्कियोस र व्यापार गरोस । हो, उनलाई गाँउ छेउमा भारतीय सेनाको क्याम्पमा सेनाका डाक्टरहरुको मान,सम्मान र शान देख्दा कता कता डाक्टर हुन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । व्यासमा स्वास्थ्यचौकी र डाक्टर थिएनन । उपचारका लागि सदरमुकाम खंलगा जान संभव हुन्थेन । र कोही बिरामी भए भारतीय डाक्टरको भर पर्नु पथ्र्यो ।

एसएलसीमा राम्रो नतिजा आएपछि उनी भर्ना भए, अमृत साईन्स क्याम्पस । र उनले विषय छाने, बायोलोजी । उनको एउटै उद्देश्य थियो, पढ्नु । पढ्नु । अनि पढ्नु । त्यो बाहेक उनका अन्य कुनै नीजि सपना र ईच्छा थिएनन । एसएलसीमा झै आईएस्सीमा राम्रो अंक ल्याएर उत्तीर्ण भए । बीएस्सीको पढाई शुरु गरे । त्यही बेला उनले कोलम्बो प्लानको छात्रबृतिका लागि परीक्षा दिए । यता पढाईलाई पनि जारी राखे । कोलम्बो प्लान अन्तर्गत नौ जनालाई एमवीवीएस अध्ययनका लागि छात्रबृति दिईन्थ्यो । जसमध्ये दुर्गम क्षेत्रका लागि दुई वटा कोटा छुट्याईएको थियो । उनले दुर्गम कोटा अन्तर्गत परीक्षा दिएका थिए । दुई वटा कोटामा पनि अत्यन्त प्रतिस्पर्धा हुन्थ्यो । छानिन त्यति सजिलो थिए । 

बीएस्सी प्रथम वर्षमा पढ्दै थिए । कोलम्बो प्लानको छात्रबृतिको नतिजा आयो । छनौट हुनेमा उनको नाम पनि थियो । उनको खुशीको सीमा नै रहेन । यतिधेरै खुशी उनी कहिल्यै भएका थिएन । एउटा नतिजाले घर छोड्दाको पीडा सबै बिर्सिए । 
र त्यही छात्रबृतिले उनको जीवनको गन्तव्य क्लियर भयो । अव डाक्टर बन्ने । छात्रबृति पाएको केही दिनपछि उनी एमवीवीएस अध्ययन गर्न भारतको पट्ना पुगे । 

उनी एमवीवीएसको अन्तिम वर्षको पढाई पुरा गर्दै थिए । त्यहीबेला उनले बुवा सिकिस्त बिरामी भएको खवर पाए । विदा लिएर बुवालाई भेट्न घर पुगे । त्यहाँ पुग्दा उनका बुवाको मृत्यु भईसकेको थियो । उनले त्यहाँ पुगेपछि थाह पाए, उनी पट्नामै छदा बुवाको मृत्यु भईसकेको थियो । तर उनी बुवाको मृत्युको खवरले नआत्तिउन भनेर उनलाई परिवारजनले बिरामी भएको खवर गरेर बोलाएका रहेछन् ।

त्यही वर्ष उनले एमवीवीएसको पढाई पुरा गरे । पटना मेडिकल कलेजमा एक वर्षे ईन्टर्नशीप पनि पुरा गरे । उनको नयाँ परिचय बन्यो, डा.बीएस बोहरा । र बने, व्यासी सौका जातीको पहिलो डाक्टर । एमवीवीएस उत्तीर्ण हुदा उनी छात्रबृतिका लागि छानिएको दिनभन्दा पनि अझ बढि खुशी भएका थिए । तर उनी डाक्टर भएको उनका बुवाले भने हेर्न पाएनन । 

एमवीवीसको पढाई पुरा गरेपछि उनलाई सर्जरीमा पोष्ट ग्राजयुट गर्ने तिब्र ईच्छा थियो । ईन्टर्नशीप र केही समय मेडिकल अफिसर भएर काम गरे । त्यहीबेला पोष्ट ग्राजुयटको तयारी गरे । र दरभंगा मेडिकल कलेजमा उनले एमएस (मास्टर अफ सर्जरी)को परीक्षा दिए । 

परीक्षा दिएर उनी काठमाण्डौं आए । त्यसको केही महिनापछि उनको ठेगानामा एउटा चिठ्ठी आयो । दरभंगा मेडिकल कलेजले पठाएको त्यो त्यो चिठ्ठीले उनको एमएस गर्ने सपना पुरा ग¥यो । उनी एमएसको छात्रबृतिमा छानिएको जानकारी पत्र थियो,त्योे ।

यो उनको जीवनको तेस्रो अवस्मरणीय क्षण थियो । गीताको सारले भन्छ, कर्म गर । फलको आशा नगर । त्यसको अर्थ के फलको आशा नै नगर्नु भनेको हो त गीताले ? पक्कै होईन । कर्म गरेपछि फल अवस्य पाईन्छ भन्ने त्यसको सार हो । जस्तो कर्म ग¥यो, त्यस्तै फल पाईन्छ । 

डा.वीएस बोहराको जीवनमा पनि यही कुरा लागु भयो । उनले बस, कर्म गरे । र त्यसको फल पनि प्राप्त गरिरहे । 

एमएसको छात्रबृति पाएपछि उनको ठूलो ईच्छा पुरा भयो । र उनी जीवनको सबैभन्दा ठूलो सपना पुरा गर्ने अठोट लिएर दरभंगा मेडिकल कलेज लगे । २०४६ सालमा एमएसको पढाई सकेर उनी फेरि काठमाण्डौं फर्किए । त्यही वर्ष खुलेको लोकसेवाको परीक्षा दिए । पास त भए । तर २०४६ सालको प्रजातान्त्रिक आन्दोलनका कारण उनले नियुक्ति पाउन छ महिना लाग्यो । र नियुक्ति पत्र पाएसंगै उनको जीवनको नयाँ अध्यायको थालनी भयो–चिकित्सा सेवा । 

उनको पहिलो पोष्टिङ कञ्चनपुरको महाकाली अञ्चल अस्पताल भयो । त्यहाँ पाँच वर्ष उनले सेवा गरे । उनी त्यहाँ छदै बर्न एण्ड प्लाष्टिक सर्जरी सम्बन्धि एक वर्षे तालिमका लागि छानिए । त्योसंगै उनको सरुवा भयो, बीर अस्पताल काठमाण्डौं । उनी त्यसपछि तालिमका लागि पुगे, चण्डीगढ । पीजीआईमा आठ महिना तालिम लिए । र थप चार महिना तालिमका लागि उनी चण्डीगढबाट दिल्लीको सफदरगञ्ज अस्पताल पुगे ।

एक वर्षको तालिस सकेर भारतबाट पुनः काठमाण्डौं फर्केर उनले बीर अस्पतालमा सेवा शुरु गरे । बीर अस्पतालमा पाँच वर्ष रहदा उनले बर्न डिपार्टमेण्टमा काम गरे । बढुवासंगै त्यहाँबाट सरुवा भएपछि उनी पुगे, झापाको मेची अञ्चल अस्पताल । उनको दक्षता र ज्ञान काम लाग्ने बर्न युनिट त्यहाँ थिएन । न त सर्जिकल टीम नै । शुरुमा त, उनलाई त्यहाँ गएर के गर्ने भन्ने लागेको थियो । तर पनि उनले आफ्नो दक्षता, ज्ञान र सीपलाई बिरामीहरुको उपचारमा प्रयोग गरे । त्यहाँ रहदा थुप्रै खुँडे र आगोले जलेकाहरुको उपचार गरे । झापा रहदाको एउटा घट्नाले उनलाई अहिले पनि तर्साउछ । उनी आफ्नो कोठामा सुतेका थिए । राती भुकम्प गयो । उनको कोठाको छत खस्यो । उनी मुस्किलले बाँचे । उनलाई चोटपटक त लागेन । तर धेरै दिन उनलाई त्यो घट्नाले लखेटिरह्यो । डराईरह्यो । केही दिन त उनले काम नै गर्न सकेनन ।

मेची अञ्चल अस्पतालमा सरुवा भएको छ महिनापछि तत्कालिन स्वास्थ्यमन्त्री डा. रामवरण यादवले उनलाई बिराटनगरस्थित कोशी अञ्चल अस्पताल खटाए । डा. नागेन्द्र बस्नेत कुटिएको घट्ना आलै थियो । उनी अस्पताल भित्रै निर्घात कुटिएर गम्भीर घाईते भएका थिए । बिरामीको उपचारका लागि सरुवा गरिएका डा.बोहराले घाइते डाक्टरकै उपचारबाट त्यहाँ सेवा शुरु गरे । बिराटनगर राजनीतिको केन्द्र थियो । र कोशी अञ्चल अस्पताल सबै नेताहरुको चासो । जहाँ उनले पाँच वर्ष बिताए । जति असहज परिस्थिति भएपनि उनले सहजढंगले बिरामीको सेवा गरे ।  

आफ्नो दक्षता, बिज्ञता र सीप अनुसार सेवा दिन नपाएकोमा उनी आफ्नै कामसंग सन्तुष्ट हुन सकेका थिएनन । उनले एक वर्ष विदा लिए । र त्यो अबधिमा बिभिन्न जिल्लामा ४० भन्दा बढि क्याम्प गरे । सयौंको संख्यामा खुँडे, आगोले पोलेका, हात,खुट्टा खुम्चिएकाहरुको उपचार गरे । खुँडे भएकै कारण अपहेलित भएकाहरुको जीवनमा उनले खुशी भरे । बाँच्ने चाहना नभएकाहरुलाई चाहना दिए । र दिए, उनीहरुको अनुहारमा मुस्कान । उनीहरुको त्यही मुस्कानले डा.बोहराले आफूलाई त्यस्ता बिरामीहरुको सेवामा समर्पित गरिरहे ।

२०६१ सालमा डा. बोहराको बिराटनगरबाट सेती अञ्चल अस्पताल धनगढीमा सरुवा भयो । जतिबेला डा. गणेश बहादुर सिंह, डा. बिधाननिधि पौडेल र डा.हेमराज पाण्डेय सहित तीन जना डाक्टर थिए । न सर्जिकल टीम थियो । न त बेहोस गर्ने डाक्टर । न त आवश्यक उपकरण नै । त्यसका बाबजुद पनि उनले आफ्नो बिशेषज्ञतालाई बिरामीको जीवन जोगाउन पुरै प्रयोग गरे । उनी धनगढी सरुवा भएर आएपछि नै सर्जरी हुन थाल्यो । अप्रशेनहरु हुन थाले । सानोभन्दा सानो शल्यक्रियाका लागि बाहिर जानुपर्ने यस क्षेत्रका बिरामीको बाध्यताको धेरैहदसम्म समाधान भयो । उनले अप्रेशन गरी सयौको ज्यान जोगाए ।

बिगत डेढ दशकमा सेती अञ्चल अस्पतालको डाक्टरहरुको दरबन्दी थपिएसंगै सेवा सुबिधा पनि थपिए । सर्जिकल टीम तयार भयो । र थपियो, आईसियु सुबिधा । र केही जटिल अप्रेशन बाहेक थुप्रै अप्रेशन सेवा दिन सकेकोमा डा. बोहरा सन्तुष्टी व्यक्त गर्छन । तर अझै थुप्रै सेवा सञ्चालन गरेर उपचारका लागि सुदूर पश्चिम प्रदेशका बिरामी अन्यत्र जानु नपर्ने अवस्था सृजना भएमात्र पूर्ण रुपमा सन्तुष्ट हुन सकिने बताउछन् । त्यसका लागि डाक्टरहरु आफ्नो पेशा र जिम्मेवारी प्रति ईमान्दार र समर्पित हुन आवश्यक ठान्छन्, उनी । उनी संघिय सरकार र प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्यमा सबैको सहज पहुँच बनाउन बिशेष ध्यान दिनुपर्ने ठान्छन । 

उनले सेती प्रादेशिक अस्पतालमा १५ वर्ष लामो सेवा पछि २०७६ भदौमा उनले ६० वर्षको उमेरमा अवकाश पाए । जागीरे जीवनबाट अवकाश पाएको यो भदौमा दुई वर्ष पुग्दैछ । भयो, अव पुग्यो, कति सेवा गर्नु ? उनको मनमा यो सोच कहिल्यै आएन । त्यसैले त जागीरबाट अवकाश पाएपनि उनले बिरामीको उपचार गर्ने नित्यकर्मबाट भने अवकाश लिएका छैनन । भन्छन्, शरीरले साथ दिएसम्म बिरामीको सेवा गरिरहनेछु ।

डा. बोहरा कुशल सर्जन मात्र होईनन । उनी हरपल बिरामीको सेवामा खटिरहने जिम्मेवार डाक्टर पनि हुन् । उनलाई लिएर आलोचना गरेको वा उनले आफ्नो ड्युटी राम्रो संग निर्वाह गरेनन भनेर कहिल्यै सुनिएन । चिकित्सकमाथि अस्पतालका बिरामी आफ्नो निजी क्लिनिक र निजी अस्पतालमा लैजाने गरेको आरोप लाग्दै आएको छ । डा.बोहरा ड्युटी अबधिमा क्लिनिक पसेनन । । कतिसम्म भने, उनले क्लिनिकमा आएका गरीव बिरामीलाई अप्रेशन गर्न जहिल्यै सरकारी अस्पताल पठाए । डा. बोहरा भने अपवाद थिए । क्लिनिकलाई लिएर उनले कहिल्यै चिन्ता गरेनन । उनको जहिल्यै एउटै चिन्ता रह्यो,समाजले सम्मान गर्ने चिकित्सक पेशा कही सेवामुखी भन्दा व्यवसायीमुखी त भईरहेको छैन । 

सन १९९० मा भारतको पिथौरागढको चौदासबाट सौका जातीकी मदाल्सा ह्यांकीसंग मागी बिबाह गरेका उनका एक छोरा उज्ज्वल छन् । छोराले पनि उनकै मार्ग पछ्याएका छन् । उनका छोरा एमवीवीएसको पढाई सकेर बिरामीको सेवा गरिरहेका छन् । । उनकी पत्नी भारतको हल्द्धानीमा युनियन बैंकमा सिनियर अफिसर छन् । कहिलेकाही उनलाई लाग्छ, परिवारलाई समय दिन पाएन । उनी फेरि सोच्छन्, जनताको सेवा गर्न सबैले कहाँ पाउछ ? त्यही सेवाका कारण सम्मानपूर्वक बाँच्न पाएको छु । आर्थिक अभावका कारण सन्तानले पढ्नबाट बञ्चित हुनुपरेको छैन । यही सम्झेर उनी चित्त बुझाउछन् । र आफूभित्र असन्तुष्टिलाई हुर्कन दिदैन ।

व्यासबाट सदरमुकाम खलंगा आउन चार दिन लाग्छ । खंलगा आउन भारत टेक्नैपर्छ । भारत छेउमै जोडिएको । तिब्बत भने डेढ दिनको पैदल दूरीमा छ । यही कारण अहिलेपनि व्यासका अधिकांश वासिन्दाको तिब्बत र भारतसंग सोझो सम्पर्क र सम्बन्ध छ । हिउपर्न थाले पछि छ महिनाका लागि सपरिवार खलंगा सर्छन, व्यासी समुदाय ।

जति दुर्गम भएपनि आफ्नो थाँतथलोको माया कसलाई हुदैन । डा.बोहराका मनमा पनि अथाह माया छ, आफ्नो जन्मथलोप्रति । बाल्यकाल र पुरै जीवन बाहिर अध्ययन र सेवाका सिलसिलामा बाहिर बिताउनु परेपनि उनले अपी हिमालको काखमा रहेको गाँउ, अपी हिमाल, त्यो छांगा, त्यो सुसेलिदै बग्ने महाकाली र तिंकर नदी अझै बिर्सेका छैनन । र त भन्छन्, फर्केर त्यही जाने मन छ । 

डा. बोहरा तीन वर्ष अघि सौका जातीको वार्षिक साधारण सभामा सहभागी हुन हेलिकोप्टरमा व्यास पुगेका थिए । हेलिकोप्टरबाट झरेका के थिए, उनी निकै भावविह्वल भए । वर्षौपछि गाँउमा पाईला टेकेका उनले आँशु थाम्न सकेनन । झण्डै एकघण्टासम्म उनका आँखाबाट आँशु झरिरहयो । गाँउको मायाले त्यसरी रुने उनी एक्ला थिएनन । नेपाल र भारतका बिभिन्न ठाउबाट आएका सौका जातीका महिला पुरुष सबैका आँखाबाट आँशु झरिरहेका थिए । 

शल्यक्रिया गर्ने डाक्टरका आँखामा आशु ? कसैले यस्तो भन्लान भन्ने पीर भएन । आँखिर डाक्टर भित्र पनि त मन हुन्छ । 
सायद कसैले प्रश्न गरेको भए उनले यही जवाफ दिन्थे ।

( प्रश्चिम टुडेमा प्रकाशित कुनैपनि सामग्री अनुमती बिना साभार तथा प्रकाशन गर्न मनाही छ ।)