Close This

बडिमालिकाको रोमाञ्चकारी यात्रा

शनिबार असार ३०, २०७५/ Saturday 07-14-18
Paschim Today

दीर्घराज उपाध्याय 

मुटु छुने चिसो हावा, आङ जिरिङ हुने अग्ला भीर, हेर्दै मन डराउने अग्ला डाँडाहरु, श्रृखंलाबद्ध पहाडहरु कसरी छिचोल्ने होला ? कसरी पुग्ने होला बडिमालिका ? भोक, थकान, पीडा, चिसो सिरेटो सबै गौण हुन्छन, जव पाईला १५ हजार फिट उचाईमा रहेको पवित्र शक्तिपीठ बडिमालिकामा पुग्छन । श्रावण शुक्ल त्रयोदशी र चतुदर्शीमा लाग्ने मेलामा यी केही कुराको वास्ता नगरी नेपालको बिभिन्न जिल्ला, भारतको कुमाऊ र गढवालबाट हजारौ भक्तजनहरु बडिमालिका पुग्छन ।

बडिमालिका छ नै त्यस्तो । यहाँ पुग्न कठिन । पुगेपछि झर्न कठिन । र यी सबै कठिनाई  बडिमालिका प्रतिको अगाध आस्था, विश्वास र मनै लोभ्याउने हरीया पाटनका अगाडि गौण हुन्छन । मनले चिताएको पुरा हुने विश्वास छ, बडिमालिकाको दर्शनले । पुत्र नभएकाहरुलाई पुत्र प्राप्त हुने विश्वास छ, बडिमालिकाको पूजा आराधनाले । धन नहुनेलाई धन, दुःखीलाई सुख प्राप्त हुने अगाध विश्वास छ, बडिमालिकाको प्रार्थनाले । बडिमालिकाको प्रार्थनाले रोग निको हुने विश्वास गर्छन, हिन्दु धर्मावलम्बीहरु । यसपटक श्रावण शुक्ल त्रयोदशीमा कैलालीको लम्कीका एक जना युवा आफ्ना बृद्ध र अशक्त पितालाई पिठ्युमा बोकेर बडिमालिकाको दर्शनका लागि मालिकाको चुचुरोमा भेटिए । यसले पनि देखाउछ, बडिमालिका प्रतिको आस्था र विश्वास ।

पीता दक्ष प्रजापतिले आफ्ना पति महादेवको निन्दा गरेको सहन नसकेर अग्नीकुण्डमा हाम फालेर प्राण त्यागेकी सतीदेवीसंग जोडिएको छ, बडिमालिकाको महात्म्य । पत्नी बियोगमा बिक्षिप्त भएका महादेवले सतीदेवीको मृत देह काँधमा राखेर सारा ब्रह्माण्ड चहार्ने क्रममा मालिकामा सतीदेवीको बाया कुम पतन भएको विश्वास गरिन्छ ।

मल्लिका गिरी पर्वतमा बस्ने भएकोले मालिका भनियो । देवीहरुकी पनि महादेवीका रुपमा व्याख्या गरिएकोले बडिमालिका भनिएको पौराणिक किंवदन्ती छ । भगवतीहरुको १०८ शक्तिपीठहरुमा मुख्य मानिन्छ, बडिमालिकालाई ।

साईत नजुरी केही नहुदो रहेछ । धेरै पटक जाने सोच बनाएपनि बडिमालिका जान पाएको थिएन । तर दुई वर्षअघि अचानक साईत जु¥यो । बडिमालिका जाने निधो भएको भोलिपल्ट हामी धनगढीबाट हिड्यौ । किनकी चतुदर्शीमा हामीले जसरी पनि बडिमालिका पुग्नु पर्ने थियो । न कुनै पूर्व तयारी । न साथमा टीम नै । महेन्द्रनगरबाट मोहित टुर्स एण्ड ट्राभल्सका सञ्चालक पर्यटन व्यवसायी परमानन्द भण्डारी आए । एक जना चालक । दुई जना हामी । तीन जनाको हाम्रो समूह जीपमा बडिमालिकाका लागि बिहानै धनगढीबाट हिड्यो । डोटीबाट हाम्रो समूहमा चार जना थपिए । धनगढीबाट हिडेकै राति बाजुरा पुग्यौ । राति बाम्का बजारमा बास भयो । र भोलिपल्टै बिहान बाम्का बजारबाट हिड्यौ । हाम्रो टोलीमा त्यहाँबाट तीन जना थपिए । र कोर्ध बजारमा हामीले जीप छोड्यौ । र शुरु भयो, बडिमालिकाका लागि हाम्रो पैदल यात्रा ।

कोर्धबाट बुढा कोर्ध पुग्न निकै कठिन भयो, ठाँउ ठाँउमा गएको पहिरोले । पहिरोले बाटो पुरै बगाएको थियो । लेदो माटो । भासिदै गएको जमीन । त्यसमाथि वर्षाको निरन्तरता । एकैछिन अघि गएको झै लाग्ने पहिरो फेरि आउने त होईन भन्ने डर उस्तै । पहिरोले बगाएका रुख नै पुल बनेका छन्, बाटोमा । उक्लिन कठिन पहिरो गएको चिप्लो बाटो । समात्नलाई बोट बिरुवा नै छैन ।

टोली अगुवा मोहित टुर्स एण्ड ट्राभल्सका सञ्चालक पर्यटन व्यवसायी परमानन्द भण्डारी सबै भन्दा पछि छन् । उनी थकित छन् । तर हिम्मत हारेका छैनन । काठमाण्डौं छाड्दा जस्तो जोशजागर थियो । त्यो यथावत छ, उनमा । होटल व्यवसायी संघ डोटीका अध्यक्ष दीपक खड्काको अवस्था पनि उस्तै छ । प्रितम राना, भरिया बिक्रमसंगै म, हामी निकै अघि छौ । अरु ७ जना पछाडि । जति कुदेपनि पछाडिका साथीहरुलाई पर्खनु पर्ने । आखिर सबैको गन्तव्य एउटै जो छ ।

बुढाकोर्ध पुग्दा सूर्य अस्ताउदै थियो । भोलिलाई सजिलो हुने आसले उज्यालोमै किन सुस्ताउनु भन्दै बुढाकोर्ध भन्दा अगाडि बढेका थियौ, हामी । तर रातपर्दै जादा पनि बासबस्ने ठाऊ नपुग्दा हामी निकै आत्तिएका थियौ । भरिया सहित चार जना अगाडी थियौ । अरु धेरै पछाडि थिए । खानेकुरा र टेण्ट हामीसंगै थियो । त्यसैले न हामी पछाडिका साथीहरुलाई छोडेर अगाडि बढ्न सकिरहेका थियौ । न त बाटोमा बस्न सक्ने अवस्थामा थियौ । किनकी टेण्ट गाड्ने ठाउ पनि कही भेटिरहेका थिएनौ । रातको झण्डै साढे आठ बज्दा हामी डाडामा पुग्दै गर्दा मान्छेहरु बोलिरहेका सुनिएपछि केही आस लाग्यो । त्यसमाथि सानो चौर फेला परेपछि त हामी निकै हाम्रो खुशीको सीमा नै रहेन । थकानले आफ्नै शरीर आफैलाई भारी लागिरहेका बेला पिठ्युको झोला त झन कति हो कति भारी लागिरहेको थियो ।   चौर फेला पर्दा ठूलो युद्ध जितेजस्तो महशुस भयो ।

माथि डाडामा मान्छेहरु बोलिरहेका सुनिन्थ्यो । त्यही आवाजले हामीमा पनि आस जगाएका थियौ । हाम्रो समूहका सदस्यहरु कति पछाडि छन् भन्ने थाह थिएन । त्यही बास बस्ने निधो गरेर साथीहरुलाई पर्खियौ । मान्छे बोलिरहेको नजिकै जस्तो लागेपछि हामी करायौ । खानेकुरा केही छ भनेर सोध्यौ । केही बेरमै भैसीको दुधको बाल्टी लिएर स्थानीय एक जना आईपुगे । उनलाई हामीले आफ्नो अवस्था सुनाए । उनले परमानन्दजीको झोला ल्याएर आए । र हामीलाई नजिकैको खर्कमा लगेर गए । त्यसकोे लगत्तै रोटी र तरकारी लिएर पुनः आईपुगे । थाकेर हैरान साथीहरु दुध र रोटी पाउदा दंग थिए । राति खर्कमै बास भयो । बिहानै त्यहाँबाट गन्तव्यतिर लाग्यौ । साँझ त्रिवेणी पुग्यौ । र तेस्रो दिन अर्थात चतुदर्शीको बिहान करीव ११ बजे बडिमालिकाको चुचुरोमा पुग्यौ ।

श्रावण शुक्ल त्रयोदशीका बिहानदेखि चतुदर्शी बिहानसम्म दर्शन गर्ने तिर्थालुको निकै भीड लाग्ने बडिमालिकाका मन्दिर परिसर दिउसो भने रित्तो भईसकेको हुन्छ । एकछिन अघिसम्म प्रहरीलाई नै भीड व्यवस्थापन गर्न हम्मेहम्मे भईरहेको मन्दिर परिसर एकैछिनमा सुनसान हुन्छ । रित्तो डाडाले मेला सकिएको संकेत गर्छ । एकछिन अघिसम्म बडिमालिकाको मन्दिरमा पूजा गर्न ठेलमठेल गर्ने भक्तजनहरु एकछिन पछि आँखाले नदेखिने ठाँउमा पुगिसकेका हुन्छन । कठ्यांग्रिने चिसो । त्यसमाथि एकतमास बेग गतिमा चलिरहने हावाका कारण उभिरहन गाह्रो हुन्छ, बडिमालिकाको चुुचुरोमा । टाढाबाट हेर्दा कसरी चढ्ने होला त्यो अजंगको डाडामा भन्ने लाग्छ, जो कोहीलाई । कमिलाझै लाग्छन, डाडोमा उक्लिदै गरेका तिर्थालुहरु । कतिपय ठाऊमा त संगैको साथी पनि देखिदैन, कुहिरोले ढाकिएर । र मान्छे हराउछ, कुहिरोभित्र । कुहिरो र मान्छेको लुकामारी चलिरहन्छ । यात्राभर । छ्यांङ्गै आकाश बिरलै खुल्छ । एकतमासले कुहिरो जिस्किरहन्छ, यात्रुसंग । कतिपय स्थानमा भीरैभीर यात्रा गर्नुपर्छ । हेर्दा आङ जिरिङ हुने डरलाग्दा भीर कुहिरोले छोपेकाका कारण यात्रा गर्न सजिलो पनि हुन्छ । त्रिवेणी भएर बडिमालिका उक्लिदा जति कठिन डाडाहरु छिचोल्नुपर्छ । बडिमालिकाबाट नाट्येश्वरीका लागि झर्दा ओरालो झन कठिन छ ।

कति दिन लाग्छ ?             

गाडीमा एक दिनमा धनगढीबाट बाजुरा पुगिन्छ । पहिलो रात मार्तडी अथवा बाम्का बजारमा बास बस्न सकिन्छ । र दोस्रो दिन शुरु हुन्छ, पैदल यात्रा । बाम्का बजार भएर गए विस्तारै हिड्ने मान्छे दोस्रो रात लादे पाटन । वा सोता पुग्छ । तेस्रो रात त्रिवेणी । चौथौ रात बडिमालिका । बडिमालिकाबाट विष्णु पानी, चनकेली, फिरफिरेको अग्लो डाँडा हुदै, लिस्ने गौडी, बुढी माईको थान । त्यहाँबाट धर्म घर, बल्ले ढिक्कुरा, ठूला गडा, धौलपुरी दहबाट पाँचौ दिन नाट्येश्वरी । छैठौ दिन नाट्येश्वरी दर्शनपछि दीपायल । सातौ दिन धनगढी । चतुदर्शीमा बडिमालिकाको दर्शनपछि जनैपूर्णिमा नाट्येश्वरीको दर्शन गरिन्छ ।

त्रिवेणी भएर बडिमालिका जानु पर्ने परम्परा भएका कारण कोर्ध भएर जान बेश हुन्छ । कोर्धबाट बुढा कोर्ध, त्यहाँबाट लादे पाटन । अनि आउछ, सोता । मेलाको समयमा सोतामा चिया खाजाको व्यवस्था हुन्छ । र चिया खाएपछि शुरु हुन्छ, उकालो । झण्डै एक घण्टाको उकालोपछि आउछ, घोडा पाटन । आधा घण्टा लामो पाटन क्षेत्र पार गरे पछि झण्डै एक घण्टाको ओरालो । फेरि एक घण्टाको उकालो । त्यसपछि भितो चिर्ना । त्यहाँबाट झण्डै अढाई घण्टामा त्रिवेणी ।

त्रिवेणीबाट बिहानै हिडेपछि विस्तारै हिड्ने मान्छे पनि चार घण्टामा बडिमालिका पुग्छ । बडिमालिकामा त्रैयोदशीको राति बास बसेर चतुदर्शीको बिहानै बडिमालिकाको पूजा गरी तिर्थालुहरु नाट्येश्वरीमा जनै पूर्णिमामा लाग्ने मेला भर्न हिड्छन् ।

साथमा के के लैजाने ?

स्लिपिङ व्याग र रेन कोट छुटाउनै मिल्दैन । बर्षा कतिखेर हुन्छ, भर हुदैन । लेक लाग्ने हुनाले खुर्शानी र अमिलो पनि लैजादा बेश । खानेकुरा र पानी सजिलै सबै ठाऊ मिल्दैन । त्यसैले पानी र खानेकुरा छुटाउन हुदैन ।

बाटोमा थापिएका पसलहरुमा सामानको मूल्य अचाक्ली महंगो हुन्छ । बडिमालिका नगरपालिका– ७ जडाङ्गाबाट शुरु हुन्छ, पैदल यात्रा । त्यहाँबाट कोर्धको उकालो काट्न झण्डै डेढ घण्टा लागेको थियो, हामीलाई । कोर्ध गाँउमा मकै र काक्राले निकै राहत गरेको थियो, हाम्रो भोक र प्यासमाथि । आफ्नो बारीमा भएको चिज दिन कञ्जुस्याई नगर्ने स्थानीयले त्यो चिजको मूल्य तोक्दैन । बरु आफूखुशी जति दिए हुन्छ भनेर टारिदिन्छन । तर सबै ठाऊमा खानेकुरा पाईदैन । किनकी वस्ती सबै ठाऊमा छैन ।

कहिले जाला राज्यको ध्यान ?

प्राकृतिक सुन्दरता र धार्मिक महत्वका दृष्टिकोणले सुदूरपश्चिमको खप्तड, रामारोशन, त्रिपुरासुन्दरी, मालिकार्जुन, उग्रतारा, शैलेश्वरी, बैद्यनाथ, अपी र साईपाल लगायतका क्षेत्र निकै महत्वपूर्ण मानिन्छन् । त्यसमध्ये पनि बडिमालिकाको स्थान बिशिष्ट छ । धार्मिक र पर्यटकीय दुबै हिसावले ।

हिन्दुहरुको आस्थाको धरोहर यति महत्वपूर्ण भगवतीको पीठ ओझेलमा परेको छ । बडिमालिका क्षेत्र संरक्षण, सम्बद्र्धन र बिकासको पर्खाईमा छ । पानी र शौचालयको उचित व्यवस्थापन नहुदा बडिमालिका क्षेत्र दुर्गन्धित भएको छ । साथै बाटोमा र बडिमालिकामा धर्मशाला र बास बस्ने उचित व्यवस्था नहुदा भक्तजनहरुले निकै कष्ट खेप्नु परेको छ । र बडिमालिका जाने बाटोमा कुनै चिन्ह र संकेतहरु नभएका कारण तिर्थालुहरु सास्ती खेप्नु परिरहेको छ । यसतर्फ भने सरकारको ध्यान जान आवश्यक छ ।

बडिमालिकाको संरक्षण सम्बद्र्धन आवश्यक

परमानन्द भण्डारी

प्रबन्ध निर्देशक, मोहित टुर्स एण्ड ट्राभल्स

बडिमालिका धार्मिक र पर्यटकीय दुबै हिसावले अत्यन्त महत्वपूर्ण छ । यो हिन्दुहरुको आस्थाको धरोहर हो । भगवतीको मुख्य शक्तिपीठ हो । देवीहरुकी पनि देवी मानिन्छ, बडिमालिकालाई । मनले चिताएको सबै कुरा पुरा हुने हिन्दु धर्मावलम्बीहरुको विश्वास छ । यही विश्वासका कारण नेपाल र भारतका बिभिन्न ठाऊबाट भक्तजनहरु यहाँ आउने गरेका छन् । धार्मिक हिसावले यति महत्वपूर्ण बडिमालिका प्राकृतिक सुन्दरताका हिसावले पनि अत्यन्त मनमोहक र रमणीय छ । यसको महत्वको प्रचार प्रसारसंगै यहाँ आउने बाटोमा खाने र वस्ने व्यवस्था हुन सके वर्षेनी लाखौ तिर्थालु तथा पर्यटकहरु यहाँ आउने निश्चित छ ।  हामीले यहाँ आउन चाहने पर्यटक तथा तिर्थालुहरुका लागि सस्तोमा टुर प्याकेज शुरु गरेका छौ । यहाँ आउन चाहने चाहनेले महेन्द्रनगरस्थित मोहित टुर्स एण्ड ट्राभल्समा सम्पर्क गर्न सक्नुहुन्छ ।