Close This

नवजीवन सहकारीको मुनाफा १२ करोड रुपैया

मंगलबार श्रावण १, २०७५/ Tuesday 07-17-18
Paschim Today


धनगढी, १ साउन ।
नवजीवन सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७४÷०७५ मा १२ करोड रुपैया मुनाफा आर्जन गरेको छ । 
उक्त मुनाफामा बिभिन्न बैंकमा जम्मा रहेको नवजीवनको रकमको व्याज भने जोडिएको छैन । नवजीवनका पाँच वटा शाखाको बिभिन्न बैंकमा रहेका खातामा झण्डै एक अर्ब रुपैया जम्मा छ । धनगढीका बिभिन्न बैंकमा नवजीवन सहकारी संस्थाको धनगढी शाखाको १४ करोड रुपैया जम्मा छ । बैंकहरुमा रहेको रकमबाट नवजीवनले व्याज वाफत करीव एक करोड रुपैया पाउने अनुमान गरिएको छ । बैंकहरुबाट प्राप्त हुने व्याज रकम समेत गरेर यसवर्ष नवजीवनको मुनाफा झण्डै १३ करोड हुने महाप्रबन्धक भट्टले बताए ।
गत आर्थिक वर्ष ८ करोड ८७ लाख मुनाफा आर्जन गरेको नवजीवनको एक वर्षमै ३५ प्रतिशतले मुनाफा बृद्धि भएको महाप्रबन्धक मोहनराज भट्टले बताए ।
दुई वर्ष अघि  नवजीवनको मुनाफा  ६ करोड ७० लाख रुपैया रहेको थियो । दुई वर्ष अघि उसले कमाएको मुनाफाको तुलनामा यसवर्षको मुनाफा झण्डै दोब्बर हो ।
संस्थाका महाप्रबन्धक भट्टका अनुसार २ अर्व ५८ करोड निक्षेप रहेको नवजीवनले व्यापार, कृषि लगायत बिभिन्न शिर्षकमा २ अर्व ३२ करोड रुपैया कर्जा लगानी गरेको छ ।
नवजीवन सहकारी संस्था प्रदेश नम्बर ७ कै सबैभन्दा बढि कर तिर्ने संस्था पनि हो । यसवर्ष सरकारलाई उसले मुनाफाको २० प्रतिशत २ करोड ४० लाख रुपैया कर बुझाएको छ । 
धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारी संस्थाले धनगढी, अत्तरीया, सुख्खड र टीकापुर र बर्दियाको बासगढीमा रहेको शाखा मार्फत सेवा दिईरहेको छ । नवजीवनका पाँच वटै शाखा र केन्द्रीय कार्यालयमा समेत गरी ८६ जना कर्मचारी कार्यरत छन् ।
२०५० साल मंसिर ३० गते ६४ जनाबाट शुरु भएको नवजीवन सहकारी संस्था नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोवारका लागि अनुमती प्राप्त गर्ने नेपालकै पहिलो सहकारी संस्था हो । हाल नवजीवका १८ हजार शेयर सदस्य रहेका छन् । 
१० लाख ४० हजार पूँजीबाट शुरु भएको नवजीवनको हाल १५ करोड ८५ लाख पूँजि रहेको छ ।
संस्थाका अध्यक्ष चक्र बहादुर सिंहले जनताको विश्वास, कर्मचारीहरुको लगनशीलता ईमान्दारिताका कारण नवजीवनले दुई वर्षको अबधिमा मुनाफामा छलाङ मारेको बताए ।